Logo

बुद्धिष्ट ट्राभल मार्टको तयारी पूरा

भैरहवा– तेस्रो संस्करणको बुद्धिष्ट ट्राभल मार्ट (बीआईटीएम) को सबै तयारी पूरा भएको छ । भैरहवामा बिहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिइएको हो । काठमाडौंमा शुक्रबार र शनिबार तथा लुम्बिनीमा आइतबार ट्राभलमार्ट हुनेछ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को संयोजन एवं नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा तेस्रो पटक ट्राभल मार्ट हुन लागेको हो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपाली पर्यटन उद्योगका विरासतपूर्ण अस्मिता भएको नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले बताए । ट्राभल मार्टमा नेपाली पर्यटन उद्यमको वर्तमान अवस्था, चुनौती तथा अन्तर्राष्ट्रिय बजारको सम्भाव्यता, क्रस बोर्डर टुरिजमका चुनौती, विदेशीहरूको आँखाबाट नेपालका पर्यटनमा गर्नुपर्ने समीक्षात्मक सुधारलगायतका विषयहरूमा केन्द्रित रहेर बहस हुने बताइएको छ ।

थापाका अनुसार मार्टमा थाइल्याण्ड, म्यानमार, कम्बोडिया, भियतनाम, श्रीलंकालगायतका करिब २० राष्ट्रहरूबाट १२५ जना विदेशी ट्राभल एण्ड टुर अपरेटर कम्पनी, डेलिगेट्स, अन्तर्राष्ट्रिय मिडिया, ब्लगरहरू सहभागी हुनेछन् । ‘नेपालका तर्फबाट पनि त्यत्तिकै मात्रामा नेपाली पर्यटन उद्यमीहरूको सेल्स डेस्क रहने छ’ उनले भने । मार्टमा लुम्बिनी र नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार र बजार प्रवर्द्धन गर्ने, बीटुबी सेल्स मार्केटिङ आयोजना गर्ने, बौद्ध सम्पदा भ्रमण र स्मारकहरूबारे प्रस्तुतीकरण र नयाँ पर्यटकीय गन्तव्यबारे अन्तर्राष्ट्रिय ट्राभलरहरूलाई जानकारी दिने कार्यक्रम तय गरिएको छ ।

‘मार्टमा नेपाल र विदेशी व्यवसायीहरूबीच टुर प्याकेजहरूको खरिद बिकी हुनेछ । यसबाट प्रत्यक्ष व्यावसायिक फाइदा लिन सकिनेछ’, उनले भने । मार्टमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लुम्बिनी आगमन र प्रस्थानको सीधा गन्तब्यका रूपमा प्रचारप्रसार गरी यसको दिगो व्यावसायिक सञ्चालनमा समेत जोड दिइनेछ । नाट्टा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले मार्टले मुलुकको पर्यटन र व्यावसायिक प्रवर्द्धन गर्ने बताए ।

उनले भने, ‘यसले पक्कै पनि भोलिका दिनमा मुलुकमा पर्यटक भित्र्याउन थप टेवा पुर्‍याउने छ’ । सिद्धार्थ होटल संघ नेपालका लुम्बिनी प्रदेश संयोजक एवं सानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले मार्ट प्रभावकारी हुँदा मुलुकको पर्यटकीय विकासमा सकारात्मक टेवा पुग्ने बताए । उनले आफूहरूले श्रीलंकामा गरेको कार्यक्रमपछि अहिले श्रीलंकनहरू नेपाल आउने क्रम दोब्बर बढेकोे जनाउँदै यस्ता मार्टले मुलुकभर पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस्