३३ करोड खर्चेर मर्मत हुँदै कर्णाली राजमार्ग

जुम्ला– कर्णालीको आर्थिक तथा भौतिक विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग स्तरोन्नतिको काम सुरु भएपनि जोखिम स्थानमा कुनै सुधार भएको छैन । जुम्ला–सुर्खेत २३२ किलोमिटर दुरीको राजमार्ग अन्तर्गतको जुम्ला–कालिकोट खण्डको टिमुरे, भैंसीगौडा, भिग्म, टाकुल्लालगायतका स्थानमा वर्षौदेखि खाल्डाखुल्डी छन् । जहाँ दैनिक सवारी आवतजावतमा समेत सकस हुने गरेको छ ।
त्यस्तै दैलेखको तल्लोडुंगेश्वरदेखि पाल्तडाको बीचमा पर्ने पादुका खोलाको अवस्था उस्तै छ । उक्त खण्डमा हिउँदमा धुलोले अघिपछि सँगै गुडेका गाडीसमेत देखिदैनन् भने वर्षायाममा हिलोमा गाडी फसेर घण्टौं सडक अवरुद्ध हुन्छ । तर सडक डिभिजन जुम्ला र सुर्खेतले जोखिमयुक्त स्थानमा छोडेर सहज ठाउँमा कालोपत्रे, ग्राभेललगायतका काम सुरु गरेपछि स्थानीय आक्रोसित भएका छन् ।
सडक डिभिजन जुम्लाले नयाँ डबल लेन निर्माण गरेको र पुरानै पिच भएको सडकमा फेरि पिच गर्ने गरी करिब ४३ किलोमिटर सडक चालु आवमा कालोपत्रे गर्दैछ । जसमा कालिकोट खण्डमा १७ किलोमिटर र जुम्ला खण्डमा २६ किलोमिटर सडक कालोपत्रे हुँदै छ । कालिकोट र जुम्ला खण्डको अधिकांश स्थानमा पुरानै पिचमाथि टपअप गर्न थालिएको छ ।
हिमा गाउँपालिका–६ का स्थानीय सूर्यबहादुर अधिकारीले जोखिमयुक्त सडक खण्ड छोडेर पिचमाथि पिच गर्ने र खाल्डा खुल्डी भएका स्थानमा त्यतिकै छोड्ने कस्तो विकास हुन लागेको हो भन्दै आक्रोस पोखे । साथै नियमित पानी परिरहेको अवस्थामा भइरहेको पिचको गुणस्तर नहुने भन्दै ध्यान दिनुपर्ने उल्लेख गरे । त्यस्तै तातोपानी–५ का स्थानीय प्रेम चौलागाँईले राजमार्गका विभिन्न स्थानमा जोखिम रहेपनि सहज ठाउँमा पिच गर्नुले आवश्यकतामुखी विकास भएको गुनासो गरे ।
मंगलबार मात्रै सुर्खेत–जुम्ला यात्रा गरेका चौलागाँईले भने, ‘टाकुल्ला, टिमुरे क्षेत्रमा गाडी चड्नै नसक्ने स्थिति छ । मालबाहक सवारी त दुर्घटनाको जोखिममा छन् । तर जुम्ला खण्ड, कालिकोट खण्डको धेरै ठाउँमा पिचमाथि पिच भइरहेको देख्दा अचम्म लाग्यो । कतै पिच माथि पिच,कतै सामान्य खाल्डा समेत नपुर्ने ? कस्तो विकास हो ?’
त्यसैगरी तातोपानी ५ कै युवा भीमप्रसाद उपाध्यायले पिच भएको ठाउँमा पिच थप्नु भन्दा जोखिमयुक्त स्थानमा स्तरोन्नति गर्नुपर्ने बताए । राजमार्ग सञ्चालन भएको करिब दुई दशक भइसक्दा पनि ढुक्कले यात्रा गर्ने वातावरण नबनेको उनको गुनासो छ । कर्णाली समृद्धिको मार्ग भनिए पनि सरकारले उपेक्षा गरेको उनको भनाइ छ ।
३३ करोड लगानीमा ४३ किलोमिटर पिच
सडक डिभिजन जुम्लाले साढे ३४ करोड भन्दा बढी लगानीमा कर्णाली राजमार्गको विभिन्न खण्ड कालोपत्रे गर्ने काम सुरु गरेको छ । राजमार्गअन्तरर्गत कालिकोट र जुम्ला खण्डको विभिन्न प्याकेजमा गरी ४३ किलोमिटर सडक कालोपत्रे गरिने सडक डिभिजन जुम्लाका सूचना अधिकारी दिपेन्द्र चौधरीले बताए ।
उनका अनुसार कालिकोटमा १७ किमी कालोपत्रे गर्न चार वटा ठेक्कामार्फत काम भइरहेको छ । चालु आव भित्रै ४३ किमी पिच हुने गरी साढे ३३ करोडको ठेक्का सम्झौता भएको छ । जसमा खुलालुदेखी घोडेनासम्म दुई प्याकेजमा कालोपत्रे सुरु भएको छ । डिएलएलसी केवी जेभी कालिकोटले पहिलो प्याकेज चार करोड १८ लाख ६५ हजारमा र दोस्रो प्याकेज ६ किमी कालोपत्रे गर्न भैरव मष्ट निर्माण सेवाले १ करोड २८ लाख १८ हजारमा काम गरिरहेको छ ।
कालिकोट खण्डकै घोडेनादेखि नाग्मसम्म तीन प्याकेजमा काम भइरहेको छ । जसमा १६ किमी कालोपत्रेको ठेक्का खड्का निर्माण सेवाले पाएको छ । उक्त कम्पन्नीले ४ करोड ४० लाखमा कालोपत्रे गर्ने छ भने दोस्रो प्याकेजमा ४ करोड २१ लख ७२ हजार लागतमा कालोपत्रे हुनेछ । त्यसैगरी भैरव मष्ट निर्माण सेवाले १ करोड १२ लाख ४० हजार लागतमा तेस्रो प्याकेजको कालोपत्रे काम गर्ने छ ।
कालिकोट खण्डमा खुलालुदेखि नाग्मसम्मका पाँच वटा ठेक्कामार्फत १७.७ किमी कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जानकारी दिएको छ । यता नाग्मदेखी जुम्लासम्मको ३२ किमीमध्ये २६ किलोमिटर कालोपत्रे गरिने छ । केही स्थानमा डलब लेन निर्माणमा भएको ठाउँमा पिच गरिने छ । जुम्ला खण्डको २६ किमी कालोपत्रे गर्न उज्वल सानदार जेभी निर्माण कम्पनीसँग १० करोड ३७ लाख ८८ हजार लागतमा सम्झौता भएको छ ।
चालु आवको असार मसान्नभित्र सक्ने गरी साढे ३३ करोड लागतमा ४३ किमी कालोपत्रे हुने छ । तर धेरै स्थानमा पिच माथिपिच थपिने छ । तर जोखिमयुक्त स्थानको अवस्था उस्तै छ । पानी परिरहेकाले सडक कालोपत्रे गुणस्तहीन हुन सक्ने भन्दै प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले निर्माण व्यवसायी र सडक डिभिजनलाई सजक रहन सुझाव दिए । यता सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरी गुणस्तर कायमै रहने बताए ।
सबै निर्माण सामग्रीको परीक्षण गरिएको र नियमित फिल्डमै खटिएकाले गुणस्तरीय पिच हुने उनको दावी छ । स्टमेटमै पिचमाथि पिच गर्नु पर्ने (ओभरले) उल्लेख रहेकाले खाल्डा पुर्ने र पिच गर्ने गरिएको प्रमुख चौधरीले उल्लेख गरे । साथै जोखिमयुक्त स्थानमा पनि विस्तारै सुधार हुने जनाइएको छ । स्थानीयले पिच माथि पिच भन्नु स्वभाविक भएपनि स्टमेट अनुसार नै काम भएको कार्यालयको भनाइ छ ।