तिब्बत सीमा नजिक सिधै पुग्यो गाडी

दोलखा दोलखाको सबैभन्दा अन्तिम गाउँ लप्ची नजिक लामाबगरबाट सिधै गाडी पुगेको छ । लामाबगरबाट कठिन भीर छिचोल्दै निजी क्षेत्रले सडक निर्माण गरेपछि पहिलो पटक लामाबगरबाट हिडेको गाडी लप्ची नजिक पुगेको हो । लामाबगरदेखि ५ किमी माथि रहेको हुरहुरे भीर छिचोलेर तामाकोसीमा बेलिब्रिज सञ्चालनमा आएपछि गाडी सोझै थाम्चेम्बु पुगेको हो ।
लप्ची खोला र जुम खोलाको दोभानभन्दा २ किमी तल रहेको तामाकोसीमा हालेको बेलिब्रिज विगू गाउँपालिका सञ्जिव ओलीले उद्घाटन गरेपछि सिधै थाम्चेम्बूसम्म आफैंले मोटरसाइकल लिएर पुगेका थिए । चर्चामा रहेको लामाबगर सुरुङमार्ग सरकारले बनाउन चासो नदेखाएपछि निजी क्षेत्रको दुगड ग्रुप प्रबद्र्धक रहेको १६० मेगावाटको लप्ची खोला जलविद्युत आयोजनाले ४ वर्षअघि सुरुङसहितको सडक निर्माण थालनी गरेको थियो ।
लामाबगरदेखि थाम्चेम्बूसम्म २० किलोमिटर सडक निर्माण भएको छ । यो बीचमा ११ सय मिटरको सुरुङमार्ग, २ वटा पुलसहित लामाबगरदेखि तामाकोसीसम्म र हुरहुरेमा ६ किलोमिटर कठिन भीर छिचोलेर सडक तयार गरेको हो । पुल सञ्चालनमा आएसँगै लामाबगरबाट २ दिनमा पुगिन दोलखाको अन्तिम गाउँ लप्चीसम्म अब सदरमुकामबाटै एकैदिन पुग्न सकिने भएको छ । खोलामा ३९ मिटर लामो आधुनिक प्रविधिको बेली ब्रिज बनाइएको छ ।
उक्त पुलबाट अधिकतम क्षमताका सामग्री ढुवानी गर्न मिल्ने आयोजनाले जनाएको छ । पुल निर्माण भएपछि हिमाल पारिको गाउँ लप्चीका बासिन्दालाई समेत यातायातको पहुँच पुग्ने छ । लप्चे खोला जलविद्युतको प्रवद्र्धक कम्पनि नासा हाइड्रोले तामाकोसीमा पुल निर्माण हुनु अघि नै हेलिकोप्टरको प्रयोग डोजर, तेल, ट्याक्टर गाडी ढुवानी गरी ४ वर्षदेखि सडक निर्माण गरेको हो ।
अब लामाबगरबाट २० किलोमिटर लाप्चीतर्फको थाङ्चेम्बुसम्म सडकमार्गको पहुँच पूरा भएको विगु गाउँपालिकाका स्थानीयसमेत रहेका नासा लप्चेखोला जलविद्युत आयोजनाका प्रशासन अधिकृत हेमराज तामाङले जानकारी दिए । अब थाम्चेम्बूबाट ५ घण्टा पैदल यात्रामा नेपाल चीन सीमानाको ५६ नं. पिलरसम्म पुग्न सकिने बताए । थाम्चेम्बू लप्ची र लुम्नाङ गाउँको बीचमा पर्ने परम्परागत चौरी खर्क हो । स्थानीयहरु हिउँदमा लुम्नाङ र वर्षात्मा लप्चीमा बसोबास गर्छन् ।
लप्ची हजारौं पहिलादेखिको बौद्धमार्गीहरुको ध्यान केन्द्र हो । अहिले पनि लप्चीका भीरमा ५० भन्दा बढी ध्यान गर्ने गुफाहरु रहेका छन् । यातायात सहज भएपछि लप्ची ध्यान गर्न आउनेहरुको लर्को नै लाग्ने विगू गाउँपालिकाका अध्यक्ष सञ्जिव ओलीले विश्वास गरे । खोलामा पुल बनेसँगै उक्त क्षेत्रमा दुई वटा जलविद्युत आयोजना निर्माणको काम सुरु हुनेछ । नासा हाइड्रोले लप्चीमा १६० मेगावार्ट क्षमताको लप्चे खोला जलविद्युत आयोजना निर्माण गर्दै छ ।
लामाबगरबाट ८ किलोलिमिटर अगाडी नादिङबाट छुटिनेगरी जुमखोलाको पानी प्रयोग गरेर सानिमा हाइड्रले ५६ मेगावार्टको सानिमा जुम खोला जलविद्युत आयोजना निर्माण गर्दैछ । सानिमाले समेत आफ्नो आयोजनाको हेडवक्ससम्म स्थल पुग्न सडकको ट्रयाक खोलेको छ । सानिमाले निर्माण गर्ने हेडवक्सबाट डेढ किलोमिटरमा नेपाल चीन सीमानाको ६० र ६१ नं को पीलरमा पुगिन्छ । यस अघि खराने खोलामा सानिमा हाइड्रोले बेलिब्रिज निर्माण गरेको थियो ।