ग्वार्को ओभरपासबाट जेठभित्रै सवारीसाधन सरर

काठमाडौं– ललितपुरमा बनिरहेको ग्वार्को ओभरपास यही जेठभित्रै पूरा हुने भएको छ । आयोजनालाई ‘फिनिसिङ टच’ दिन कालोपत्रे गर्न थालिएको र आगामी तीन साताभित्रमा निर्माणको काम सम्पन्न गरिसक्ने आयोजना प्रमुख दीप बाराहीले जानकारी दिए ।
‘हाम्रो योजनाअनुसार असारको कुनै दिन तोकेर सञ्चालनमा ल्याउने तयारी छ,’ उनले भने । त्यसपछि लामो समयदेखि सर्वसाधारणले भोगिरहेको सास्ती हट्नेछ । आयोजना व्यवस्थापकका अनुसार अब कालोपत्रेबाहेक ट्राफिक लाइट जडान, पेन्टिङ लगायतका काम बाँकी छ । अहिले कालोपत्र गर्ने काम भइरहेको छ । आंशिक रुपमा पानी परे पनि जेठभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको प्रमुख बाराहीले बताए । कामै रोक्ने गरी पानी परेको खण्डमा भने ढिला हुन सक्ने उनको भनाइ छ ।
सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । त्यो समयसम्म पनि पूरा नहुने देखिएपछि सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले पुस ९ गतेबाट ‘लिक्युडिटी ड्यामेज’ बापत हर्जाना तिराएर चैतभित्र पूरा गर्ने गरी काम गराइरहेको थियो । ठेक्का रकमको ०.०५ प्रतिशत हर्जाना तिराउने निर्णय भएर निर्माण कम्पनीले काम गरिरहेको थियो । तर, पुस १८ गतेबाट निर्माण व्यवसायीले काम रोकेर सम्पर्कविहीन भएपछि समयमा निर्माण पूरा हुने म्याद ढल्किएको थियो । अहिले भने निर्माण कम्पनी सम्पर्कमा आएर काम गरिरहेको छ ।
कुल १७ करोड ६ लाख रुपैयाँमा बनिरहेको आयोजनाका लागि २०७८ फागुन १२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग भएको सम्झौताको अन्तिम म्याद गएको २०८० फागुन १२ गतेसम्म थियो । गएको आर्थिक वर्षभित्रै ओभरपासमा सवारीसाधन गुडाउने लक्ष्य सरकारको थियो । त्यो समयमा पूरा हुन नसकेपछि पुस ८ सम्मको समय थपियो । त्यो समयमा पनि पूरा नहुने भएपछि चैतको लक्ष्य राखिएको थियो । निर्माण कम्पनीले पटक पटक तोकिएको समयमा पूरा नगरेपछि पछिल्लो समय हर्जना तिराएर काम अगाडि बढाइएको हो ।
ओभरपासको पुनः डिजाइन गरेर निर्माण सुरु गरिएको र र्याम रिइन्स्टल गर्नुपर्ने भएकाले पनि समय लागेको केन्द्रले जनाएको छ । निर्देशक बाराहीका अनुसार सातदोबाटोतर्फको र्याम पुनः इन्स्टल गरेर कालोपत्रेको चरणमा पुर्याइएको छ । सातदोबाटो जानेतर्फ १८५ मिटर लम्बाइको र्याम निर्माण गर्नुपर्नेमा ४० मिटरमा त्रुटि देखिएपछि पुनः इन्स्टल गर्नुपरेको थियो । गत असोज दोस्रो साताको भारी वर्षाका कारण पनि आयोजना प्रभावित भएको थियो ।
ओभरपास बनाउनका लागि अहिले आठ लेन सडकमध्ये भागका चार लेन बन्द गरिएको छ । सबै सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ । । ग्वार्को ओभरपास इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको हो । सरकार र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएपछि यसको डिजाइनमा त्रुटि देखिएको थियो । फेरि डिजाइन गर्दा नै एक वर्ष समय लागेको थियो । त्यसपछि मात्र ओभरपास निर्माणको काम सुरु भएकाले तोकिएको समयअनुसार काम हुन नसकेको केन्द्रले जनाएको छ ।
ग्वार्को चोकमा ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । ग्वार्को ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ । ग्वार्को ओभरपास निर्माणका लागि बिएन्डबि अस्पतालबाट बालकुमारी नजिकसम्म र्याम उठाइएको छ ।
१.५ मिटरको ब्यास र ३४ मिटर लम्बाइ भएका ४–४ वटा पाइल भएको ओभरपास पुलसहितको डिजाइन सडक विभागले २०७९ माघ २३ मा स्वीकृत गरेको थियो । ओभरपास र्यामको लम्बाइ ५ सय ५ मिटर, ३६ मिटर पुल गरी कुल ५ सय ४१ मिटर हुनेछ । उचाइ ६ मिटरको हुनेछ । ३० मिटर स्पानको ४ लेनको पुलसहितको ओभरपास निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ ।