कांग्रेस संसदीय दलमा देउवालाई दुईतिहाई «

कांग्रेस संसदीय दलमा देउवालाई दुईतिहाई

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । सोमबार सिंहदरबारस्थित कांग्रेस दलको कार्यालयमा सम्पन्न निर्वाचनमा देउवा ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत ल्याएका थिए । प्रतिनिधिसभातर्फ ६३ जना सांसद रहेकामा शतप्रतिशत मतदान भएको थियो ।
“कांग्रेस संसदीय दलको विधानको धारा ५(४) बमोजिम दलका सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी सदस्यको मत देउवाले प्राप्त गर्नुभएकाले दलको नेतामा निर्वाचित भएको घोषणा गरिन्छ,” संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले मतपरिणाम घोषणा गर्दै भनेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको नेता निर्वाचित भएलगत्तै देउवाले अब सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए । उनले सामान्यतया नयाँ सरकारलाई १ सय दिन ‘हनिमुन पिरियड’ का रुपमा हेरिए पनि अहिलेको सरकारले त्यसका लागि ठाउँ नदिएको बताए । उनले भने, “केपी ओलीजीको सरकारले १ सय दिन हेरौं भन्ने पनि ठाउँ नै दिएको छैन । सुरुमा धेरै ठूलो हस्तक्षेप गरेकाले प्रतिपक्षको भूमिकामा कडासँगै निर्वाह गछौं ।”
उपनेतामा गच्छदार
कांग्रेस संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार मनोनयन भएका छन् । संसदीय दलको निर्वाचनलगत्तै दलका नेता देउवाले उपनेतामा गच्छेदारलाई मनोनित गरेका हुन् । उनी संसदीय दलको नेतामा देउवाका प्रस्तावक थिए । कांग्रेसका पुराना नेता गच्छदार स्थानीय निर्वाचनको केही अघि कांग्रेसमै फर्किएका थिए । फोरम लोकतान्त्रिक पार्टी गठन गरेका उनी कांग्रेसमा फर्कंदा उपसभापति बनाउने चर्चा चलेपनि देउवाले सोमबार उनलाई दलको उपनेता बनाएका हुन् । उनी निर्वाचित सांसद हुन् । कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा व्यवस्था छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्