निक्कीद्वारा भारतबाट लगानी भित्र्याउन संयुक्त पहलको प्रस्ताव

काठमाडौं– नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) ले नेपालमा भारतबाट लगानी आकर्षित गर्न लगानी बोर्ड नेपाल (आईबीएन)सँग संयुक्त पहलको प्रस्ताव गरेको छ ।
यसअन्तर्गत जलविद्युत् तथा नवीकरणीय ऊर्जा, उत्पादन तथा औद्योगिक उद्यम, सूचना प्रविधि तथा डिजिटल सेवा, पर्यटन तथा आतिथ्य, शिक्षा तथा सीप विकास र स्वास्थ्य सेवा तथा चिकित्सा पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउने प्रयास हुने निक्कीले जानकारी दिएको हो ।
आईबीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीसँगको भेटमा निक्कीका अध्यक्ष सुनील केसीले नेपालमा लगानी भित्र्याउन आईबीएनसँग सहकार्यको प्रस्ताव राखेका हुन् । ‘नेपालले १९९० दशकको लगानीको जादू दोहोर्याउनु आवश्यक छ र भारतबाट थप लगानी ल्याउनुपर्छ’, केसीले भने ।
केसीले रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको नेटवर्क १८ मिडिया एन्ड इन्भेस्टमेन्ट्स लिमिटेडसँगको सहकार्यमा काठमाडौंमा नेपाल–भारत संवाद आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । कार्यक्रम नेपालका परियोजना तथा उत्पादन प्रवर्द्धन गर्न उपयुक्त मञ्च हुने उनको भनाइ छ । निक्कीले रणनीतिक तहमा द्विपक्षीय लगानी तथा सहकार्य प्रवर्द्धन गर्न नयाँ दिल्लीमा ‘नेपाल–भारत साझेदारी सम्मेलन’ आयोजना गर्न लागेको उनले बताए ।
केसीका अनुसार एनआईसीसीआईले भारतका प्रमुख व्यापारिक सहर मुम्बई, कोलकाता, हैदरावाद, बेंगलुरु, अहमदावाद, गुजरात, पञ्जाब र लखनउमा जलविद्युत्जस्ता उच्च सम्भावना भएका क्षेत्रमा लक्षित लगानी गोलमेच सम्मेलन आयोजना गर्दैछ । यस्तै, भारत–नेपाल संयुक्त उद्यम कम्पनीका सफलताका कथा समेटेर डकुमेन्ट्री निर्माण गरी भारतको व्यापार समुदायमा नेपालमा लगानी अवसर र फाइदाबारे प्रदर्शन गरिनेछ ।
आईबीएनको सहयोगका लागि धन्यवाद दिंदै निक्कीका उपाध्यक्ष तथा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले नेपालमा विदेशी लगानीका लागि अवरोध सिर्जना गर्ने केही मुख्य समस्या उल्लेख गरेका थिए । उनले जग्गामा सीमा भएका कारण उद्योग विस्तार गर्न प्रमुख बाधा बनेको बताए । निक्कीको टोलीमा अध्यक्ष सुनिल केसी, उपाध्यक्ष रवि रायवरम, महासचिव राजन शर्मा र कार्यकारिणी सदस्य कुणाल केयाल सहभागी थिए ।