बुटवल उपमहानगर र घरपझोङ पालिकाबीच पर्यटन सहकार्य

बुटवल– रुपन्देहीको बुटवल उपमहानगर र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य सहमति भएको छ ।
कालीगण्डकी करिडोरलाई धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्ने गरी अघि बढ्ने दुई पालिकाबीच सहमति भएको हो । मुस्ताङ भ्रमणमा रहेको उपमहानगरको टोलीले घरपझोङ पालिकाका पदाधिकारीसँग भेटघाट गरेको छ । सो अवसरमा धार्मिक पर्यटन प्रवर्द्धनसँगै विकास निर्माण, सेवा प्रवाह र सुशासन सम्बन्धमा कार्यान्वयनमा रहेका असल अभ्यास दुई पालिकाबीच आदान–प्रदान भएको थियो ।
दुई पालिकाबीच भगिनी सम्बन्ध कार्यम गर्नेसमेत समझदारी भएको छ । भगिनी सम्बन्धलाई औपचारिकता दिन गर्न निकट भविष्यमै आपसी सल्लाहमा कार्यक्रम तय गरिनेछ । बुटवल मुक्तिनाथ पर्यटकीयमार्गको क्षेत्रमा अवस्थित सबै स्थानीय सरकारको भेला आयोजना तथा अन्तरक्रिया आयोजना गर्न पहल गर्ने सहमति भएको पनि बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले जानकारी दिए ।
‘बुटवलबाट कालीगण्डकी करिडोर हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय विकास गर्ने कुरामा दुवै पालिकाबीच समझदारी भएको छ,’ उनले भने ‘यसका लागि दुबै पालिकाले संयुक्त रुपमा काम गर्ने र अरु पालिकालाई पनि समेटेर यहाँ भएका समस्यालाई समाधान गर्दै लैजाने, बुटवलदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय क्षेत्रलाई व्यापक रुपमा विस्तार गरी प्रचार–प्रसार गर्ने निर्णय भएको छ ।’
मुस्ताङको कोरोला नाकाबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म बुद्ध धर्मसम्बन्धी पर्यटनलाई विकास गर्दै लैजाने सहमति भएको पाण्डेले बताए । भारतका तीर्थस्थल, लुम्बिनी र मुक्तिनाथलाई जोड्न सकिए भारतीय र तिब्बती पर्यटक आगमन बढाउन सकिने सम्भावना रहेको उनको भनाइ छ ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बुटवल–मुक्तिनाथ पर्यटकीय प्रवर्द्धनले समग्र देशको अर्थतन्त्रलाई चलायमान गराउने आशा व्यक्त गरे । ‘कालीगण्डकी आसपासका तीर्थस्थलको प्रवर्द्धन गर्न भारतदेखि मुक्तिनाथसम्मलाई पर्यटनले जोड्दा देशको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्छ,’ उनले भने, ‘ठूलो संख्यामा पर्यटक आए भने चलायमान हुन्छ । त्यसका लागि हामी भगिनी सम्बन्ध पनि कायम गर्दै छौं । यसलाई ऐतिहासिक रुपमा सफल बनाउँछौं ।’
मुस्ताङमा उत्पादित स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजार व्यवस्थापनमा बुटवल उपमहानगरले पहल गर्नेछ । यहाँ उत्पादित कृषि उत्पादन तरकारी, फलफूल र जडीबुटीको निकासी बुटवलमा गरिने सहमति भएको छ । कालीगण्डकी करिडोरले चीन जोडिएको मुस्ताङको कोरोला नाका र भारत जोडिएको रुपन्देहीको बेलाहियालाई जोड्न सहज बनाएको छ । नवलपरासीको गैंडाकोटबाट पाल्पाको रामपुर, राम्दी, रिडी हुँदै कालीगण्डकी तीरैतीर म्याग्दी र मुस्ताङ पुगिन्छ ।