Logo

सबस्टेशनका लागि खनिएको जग भग्नावशेषमा परीणत

बाजुरा– बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्का बजार नजिकै निर्माण हुन लागेको सबस्टेशन भग्नावशेषमा परिणत भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ३३ केभिए लाइनको सबस्टेशन निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि कामले निरन्तरता पाउन नसक्दा भग्नावशेषमा परिणत भएको हो । सबस्टेशनका लागि खनिएको जग पुरीएर रुख बिरुवा उम्रिएका छन् ।

प्राधिकरणको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा वितरण आयोजनाअन्तर्गत बाम्कामा सबस्टेशन निर्माण हुन लागेको थियो । सो परियोजना सन् २०२३ बाट सुरु भएपनि फाउन्डेसन समेत निर्माण हुन सकेको छैन । विद्युत प्राधिकरणको आयोजना र निर्माण कम्पनीको लापरबाहीले काम अस्तव्यस्त रहेको स्थानीय प्रेम रौलेले बताए । विद्युत वितरण प्रणाली स्तरोन्नति तथा वितरण आयोजनाको नामाकरण गरिएको आयोजनालाई युरोपियन इन्भेष्टमेन्ट बैंकले ऋण सहयोग गरेको छ ।

उक्त ऋण सहयोगको रकमले बाजुरा र बझाङ्ग जिल्लाभरी विद्युतीकरण गर्नका लागि अर्बौं लगानीमा विभिन्न काम भइरहेको छ । सबस्टेशन बाम्काकोे निर्माण भारतीय कम्पनी रहेको छ । निर्माण कम्पनी अब्सोलुट प्रोजेक्टस इन्डिया लिमिटेड रहेको छ । परार्मशदाता कम्पनीका रुपमा पावर ग्रिड कर्पोरिशन अफ इन्डिया लिमिटेड–जेट कन्सल्ट प्राइभेट लिमिटेड रहेको छ ।

पहिलो चरणमा ५३ लाख २४ हजार ६६१ खर्च गरेर फाउन्डेसनसहित केही पर्खाल बनाइएको थियो । फेरि प्राधिकरणले पर्खाल र फाउन्डेसन आफैं काम गर्ने गरी लिएको थियो । प्राधिकरणले करिब १ करोड रकमको आफैं टेन्डर गरेको थियो । प्राधिकरणले बाम्कासहित ४ ठाउँका लागि ४ करोड टेन्डर गरेर काम गरेको प्राधिकरणका विजय सेन खड्काले बताए । फेरि प्राधिकरणले सबस्टेशन निर्माणका लागि परियोजनालाई हस्तान्तरण गर्ने तयारीमा रहेको छ ।

बाजुराको कोल्टीमा १६ करोडमा लगानी निर्माण हुन लागेको सबस्टेशन काम गर्ने मिति सकिँदासम्म ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ । भारतबाट सामान आउन ढिलाइ र भन्सारमा समस्या हुँदा समयमै काम सम्पन्न हुन नसकेको परियोजनाका सन्तोष पन्तले बताए । जतिसक्दो चाँडो काम सम्पन्न गर्ने योजनामा रहेको उनले बताए ।

बाजुराका पूर्वोत्तर क्षेत्रका ४ पालिका, मुगु र हुम्लाका केही पालिकालाई लक्षित गरेर सबस्टेशन निर्माण हुन लागेको छ । सबस्टेशन निर्माण हुने बित्तिकै मार्तडीबाट कोल्टीसम्म विद्युत लाइन बिस्तार गर्ने लक्ष्य रहेको प्राधिकरणको वितरण केन्द्र बाजुराले जनाएको छ । बाजुराको दोस्रो ठूलो बजार कोल्टीलगायत चारवटा पालिकामा विद्युत नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्