सुक्खा बन्दरगाह निर्माणस्थलका १०९ रुख चोरी

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण स्थलमा कटान गरिएका रुख चोरी भएका छन् । ४२ हेक्टर क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ चाँदनी गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा कटान गरिएका १०९ रुख चोरी भएका हुन् । गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुई पटक कटान गरेको थियो । उतिबेला कटान गर्दा गणना भएका रुख कटान अघि नै गायब भएको राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतसमेत रहेका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले सुख्खा बन्दरगाह निर्माणका लागि गत वर्ष भदौ र माघ अघि जिपिएस माध्यामबाट कटान गरिएका रुख कटान आदेश अघि नै नभेटिएको बताए । सूचना अधिकारी बाग्लेले कटानका क्रममा १ हजार ७०२ रुख कटान गर्नुपर्ने देखिए पनि अहिले कटान अघि १ हजार ५९३ रुख मात्रै भेटिएको बताए । सूचना अधिकारी बाग्लेका अनुसार ४० रुख र ६९ पोल गायब पारिएका छन् ।
‘कटानका क्रममा भेटिएका रुख कटानी आदेश अघि नभेटिएपछि हामीले सम्बन्धीत वनलाई स्पष्टीकरण सोधेका थियौं, ‘उनले भने, ‘वनबाट सीमा क्षेत्र भएकाले चोरी तस्करी, नजिकै मसानघाट भएकाले अन्त्येष्टिका लागि सुकेका रुख लगेको हुन सक्ने र वन्यजन्तुको समेत मुभमेन्ट हुँदा रातीका बेला गस्ती गर्न नसकिएको अवस्थामा चोरीतस्करी भएको हुनसक्ने जवाफ दिएको थियो ।’
उक्त सामुदायिक वनकै दुई पटक गरेर ९२ क्यूफिट काठसहित तीन जनामाथि निकुञ्जले कारवाही अघि बढाएको बताउँदै सूचना अधिकारी वाग्लेले अन्य काठ तस्करमाथि पनि छानविन हुने बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सामुदायिक वनमा यसरी कटान गरिएका काठ चोरी भएपछि जनतासमेत हैरान भएका छन् । स्थानीय नरेन्द्र लुहारले देशकै ठूलो सञ्चालित हुने योजनामा सयौं रुख चोरी हुनुमा मिलोमतोमा भएको आशंका व्यक्त गरे ।
काठ तस्करीका दौरानमा पक्राउ परेका भरियालाई मात्रै पक्राउ गरेर केही नहुने भन्दै उनले वास्तविक योजनाकारलाई कारवाही गर्नुपर्ने बताए । गौरीशंकर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दामोदर भट्टले गत वर्ष निकुञ्जले नै जिपिए विधिबाट कटान गरेको र अहिले निकुञ्जले नै कटानका बेला भेटिएका रुख कम भएको भन्नुमा आशंका रहेको बताए । ‘निकुञ्जले एक वर्षअघि आफैले कटान गर्यो । अहिले आएर आफैंले रुख हराए भन्दैछन् । नजिकै सशस्त्र प्रहरीको बिओपी छ, हामीले पनि नियमित गस्ती गरिहेका थियौं ।’
देशकै गौरवको योजना सञ्चालन अघि रुख नै गायब भएको भन्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बुले असन्तुष्ट व्यक्त गरे । योजना सुरुवात हुनु अघि नै रुख चोरी भएको विषयमा वास्तविक छानबिन गर्नुपर्ने नगरप्रमुख लिम्बुको माग छ । स्थानीयले एक सय भन्दा बढी रुख चोरी तस्करीको छानविन भएपछि मात्र बाँकी रुख कटानी गर्नुपर्ने माग गरेका छन् ।
नेपाल इन्टरमोडेल यातायात विकास समितिले क्षेत्र खाली गराउन गत वैशाखदेखि रुख कटानी सुरु गरेको थियो । सुक्खा बन्दरगाह निर्माणका लागि २०८० जेठ १८ गतेमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग समझदारी भएको थियो । भारतले नै एकीकृत चेकजाँच चौकीसमेत निर्माण गरिदिने समझदारी रहेको छ ।
भारतले आफ्नोतर्फ आइसिपीको संरचना निर्माण गरिसकेको छ भने २०६४ सालमा तत्कालीन् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पालामा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव अघि सारिएको थियो । त्यसपछि सरकारले २०६६ सालमा बन्दरगाह बनाउने निर्णय गरेको थियो । सुरुवातमा दोधारा चाँदनी–७ कञ्चनभोजमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह त्यहाँका स्थानीयबीच विवाद भएपछि दोधारा चाँदनी–१ मा सारिएको हो ।