Logo

खरबुजाबाट वार्षिक १५ लाख आम्दानी

जनकपुरधाम– सिरहाको पटेर्वाका ४५ वर्षीय हेमकुमार मुखिया सात वर्ष पहिला कामको खोजीमा भारतको हरियाणा गए । तर, काम नपाउँदा मुखिया धेरै समय भौंतारिनुपर्‍यो । मुखियाले काम त पाएनन् नै, उल्टै ऋण बोकेर निरास भई काला पहाडबाट घर फर्के । कसरी साहूको ऋण तिर्ने भनेर मुखियालाई निद्रासम्म लाग्न छाड्यो ।

साहूमहाजनको कचकच, घरको आर्थिक अवस्था उकास्नुपर्ने समस्याका बीच छटपटिरहेका मुखियालाई एक दिन उनकै सहपाठीले कमला नदीको बगरमा खाली रहेको बलौटे जग्गामा खरबुजालगायत हरियो तरकारी खेती गर्न सुझाए । सहपाठीको सल्लाह र सहयोगमा मुखियाले ऋण काढेर तीन वर्षदेखि कमला नदीको बगरमा रहेको बलौटे जग्गामा खरबुजा, लौका, करेला, घिरौला, काँक्रोजस्ता हरियो तरकारी खेती गरी आर्थिक लाभ लिँंदै आएका छन् ।

कमला नदी बगरको १५ कठ्ठा जग्गामा खरबुजालगायत मौसमी बेमौसमी तरकारी खेती गरेर वार्षिक १५ लाख नाफा गरेका मुखियाले यस वर्ष २० कठ्ठामा खेती लगाएका छन् । मुखिया मात्र नभएर यस भेगका करिब एक हजार पाँच सय भूमिहीन किसान खेर गएको कमला नदी बगरमा व्यावसायिक रूपमा खरबुजा खेती गरी आर्थिक लाभ लिंदै आएका छन् ।

भूमिहीन किसानका लागि आर्थिक लाभ लिने कमला नदीको बगर भरपर्दो स्रोतको रूपमा रहेको उनीहरू बताउँछन् । दक्षिणमा भारतको जयनगरदेखि उत्तरमा बन्दीपुरसम्म कमला नदीको दायाँबायाँ रहेको बलौटे जग्गामा करिब एक हजार भूमिहीन किसानले दुई हजार बिघामा व्यावसायिक रूपमा खरबुजालगायत मौसमी तरकारी खेती गरी वार्षिक २० करोड बढीको कारोबार गर्दै आएको अर्का किसान राजेन्द्र मुखिया बताउँछन् ।

अहिले त्यहाँ पटेर्वा घाट, मलंगिया, कटाल, फुलबरिया, नरगी टोललगायतका किसान कमला नदीको जग्गामा खरबुजा खेती गरी आर्थिक लाभ लिंँदै आएको बताउँदै अर्का किसान घुरन मुखिया भन्छन्, ‘कहिलेकाहीँ नदीमा बाढी आउने डरले सताउने गर्छ । वर्षा भएपछि कमला नदीमा बाढी आएर बाली बगाउने डर हुँदा यो खेती खर्चिलो नभए पनि जोखिमपूर्ण छ ।’

कमला नदीको बगरमा १० कठ्ठामा खरबुजा खेती गरेका किसान नारायण मुखियाले गत वर्ष सबै खर्च कटाएर सात लाख आम्दानी गरेकामा यस वर्ष १५ कठ्ठामा खरबुजा खेती गरेका छन् । रोपेको तीन वा चार महिनामा खानेयोग्य हुने र व्यापारी खेतमै आएर किन्ने गरेकाले बजारको समस्या नरहेको किसान बताउँछन् ।

‘न संघीय, प्रदेश सरकार, न स्थानीय सरकारले मलखाद, बिउबिजन उपलब्ध गराउँछन्, न त अनुदान नै,’ श्रीचन मुखियाको गुनासो छ, ‘सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने नि:शुल्क बिउबिजन र मलखाद व्यवस्था गरे यसको खेती झन् विस्तार हुने थियो ।’

खरबुजा खेती किसानले धार्मिक आस्थाको ख्याल गरी उत्पादित पहिलो खरबुजा कमला मातालाई चढाएर यसको बिक्री सुरु गर्ने गर्छन् । यहाँ उत्पादित खरबुजा ढल्केबर, सिरहा, जनकपुर, विराटनगर, धरान, नारायणगढ, काठमाडौंसम्मका व्यापारी खरिद गर्न आउने गर्छन् । अहिले तराई–मधेसमा अत्यधिक गर्मी बढेकाले खरबुजा माग बढ्न थालेको किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्