न्यून बजेट हुँदा खानेपानी आयोजनामा समस्या

दाङ– पर्याप्त बजेट नहुँदा जिल्लामा खानेपानीका आयोजनाको काम हुन सकेका छैनन् । एक लाख रुपैयाँ बजेट परेको शिवमन्दिर चिसापानी खानेपानी आयोजना बबई गाउँपालिका–१ एक लाख बजेट परेको केराघारी खानेपानी योजना शान्तिनगर–३ मा यस वर्ष कामै भएन ।
काम नहुने यी मात्रै खानेपानी आयोजना होइनन्, धानखोला खानेपानी योजना गढवा गाउँपालिका–१ मा पनि काम भएन । जम्मा एक हजार बजेट आयोजनामा छुट्याइएपछि सुनपथ्री नाका भित्री खोला खानेपानी आयोजना राजपुर–७, अम्बापुर एकीकरण खानेपानी आयोजना घोराही–१८ जस्ता धेरै आयोजनामा पनि काम भएन ।
यतिमात्र नभइ सिरिखर्क खानेपानी आयोजना बंगलाचुली–७, मसुरे खानेपानी आयोजना बंगलाचुली–५, कल्लेरिया मुर्कुटी लिफ्ट खानेपानी आयोजना बंगलाचुली–५, पुत्लीघाट बेसाही झेलखोला लिफ्ट खानेपानी योजना बंगलाचुली–५, खारखोला गुरासेनी फलिदे गहुबाँरी लिफ्ट खानेपानी आयोजना बंगलाचुली–५ जस्ता आयोजनालाई संयुक्तरुपमा एक हजार बजेट छुट्याइँदा त्यस्ता आयोजनामा पनि काम भएन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खानेपानी योजना घोराही–४, अदुवाबारी खानेपानी आयोजना घोराही–२, खोलीगाउँ गोर्खा टोल खानेपानी योजना घोराही–१४, नापीडाँडा खानेपानी आयोजना घोराही– ७, बाहुनटारी खानेपानी आयोजना घोराही–१, दीपज्योति खानेपानी आयोजना घोराही–१८ मसिना, सुविधानगर खानेपानी आयोजना घोराही–१३, काभ्रेखोला खानेपानी योजना घोराही–१८, भवानी खानेपानी आयोजना बगिया जस्ता आयोजनालाई एउटै शीर्षकमा राखेर एक हजार मात्रै बजेट विनियोजन गरिएको छ ।
यस वर्ष जिल्लामा सघन खानेपानी विकास कार्यक्रमअन्तर्गतका १९५ आयोजनामध्ये न्यून बजेटका कारण ८३ आयोजना कार्यान्वयन हुन सकेनन् । यस्तै संघ सशर्त अनुदानअन्तर्गत तराई–मधेश खानेपानी सुधार कार्यक्रमका ५० वटा आयोजनामध्ये कार्यान्वयन हुन नसकेका छ । यी आयोजनामा पनि बजेट अभाव भयो । यस आर्थिक वर्षका छुट भएका आयोजना पनि कम छैनन् ।
जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाअन्तर्गत लालमटिया वृहत खानेपानी आयोजना, पुरन्धारा–८ खानेपानी आयोजना, घोराही नयाँ बसपार्क खानेपानी आयोजना, गहतेरा दाङबाङ खानेपानी आयोजना, पुरन्धारा खानेपानी आयोजना, स्यूजा बोझपोखरी लिफ्ट खानेपानी आयोजना, राप्ती अटो इन्जिनियरिङ एसोसिएसन खानेपानी आयोजना घोराही–१६, सुन्दरखाल पुरन्धारा–१ खानेपानी आयोजना, गोबरडिहा बृहत् खानेपानी आयोजना र चिसापानी खानेपानी आयोजनाका बजेटमै छुट भएका आयोजना हुन् ।
खानेपानी तथा सरसफाइ सह–लगानी कार्यक्रम (संघ सशर्त अनुदान) तर्फ सर्रा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना पनि यस आर्थिक वर्षको कार्यक्रमबाट छुट भएको आयोजनामा परेको छ । सबै आयोजना कार्यान्वयन गर्न प्राविधिक जनशक्तिको कमी, सडक, बाटो निर्माण गर्दा पाइप लाइनमा क्षति, बजेटको कमी, आयोजना संख्या दोहोरोपना धेरै हुनु, प्राकृतिक प्रकोपहरु बाढी, आगलागीबाट खानेपानी संरचना नोक्सान हुने जस्ता समस्या रहेको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले आयोजनाहरूको संख्या अनुसार दरबन्दी सिर्जना गर्नुपर्ने, बाटोको मापदण्डको पालना गर्नुपर्ने बताए । आयोजनाको संख्या तथा लागत अनुसार बजेट विनियोजनको सुनिश्चतता हुनुपर्ने, आयोजना सम्पन्नको आधारमा आयोजना थप गर्ने विधिको पालना गर्नुपर्ने, प्राकृतिक प्रकोपका लागि बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्राविधिक गजेन्द्र बहकरीले पुराना आयोजना नै सम्पन्न नभएको अवस्थामा नयाँ आयोजना थपिदा पुरानामा बजेट अभाव हुने र अलपत्र बन्ने अवस्था आएको बताए । ‘२०७०/०७१ कै आयोजना सम्पन्न भएका छैनन् । आयोजना धेरै भइसकेका छन् तर पूरा भएका भने कम मात्रै छन्’ उनले भने, ‘पानी नचल्ने भएपछि उपभोक्ताबाट पनि रेखदेख कम हुँदा संरक्षण नहुने रहेछ । बनेका संरचना नै बेवारिसे जस्तो नबनाउन त्यसमा ध्यान दिनुपर्छ ।’
उपभोक्तामा निराशा
दुबेडाँडा कलेडाँडा खनेपानी आयोजना घोराही–४ लक्ष्मीपुरमा संरचना तयार भएर पानी पनि वितरण भएको छ । तर सामान्य तारजाली पर्खाल जस्ता कामले आयोजना पूरा भएको छैन । चालु आर्थिक वर्षमा एक हजार बजेट विनियोजन हुँदा उपभोक्ता निराश छन् । दुबेडाँडा कलेडाँडा खानेपानी आयोजना घोराही–४ लक्ष्मीपुरका सचिव दीपक विकले सामान्य कामका लागि पनि बजेट विनियोजन नगरी यस आर्थिक वर्षमा एक हजार बजेट विनियोजन गर्दा उपभोक्ता निराश भएको बताए ।
तुलसीपुर उपमहानगरपालिका–१७ को मज्गैं, मजगाउँ र उच्च डाँडा, त्यसैगरी घोराही उपमहानगरपालिका–११ को टारी र पेरनी गरी पाँच गाउँलाई धान्ने टारीमझगैं पेरनी खानेपानी आयोजनाको अवस्था पनि उस्तै–उस्तै छ । आर्थिक वर्ष २०६४/०६५ देखि सुरु भएका आयोजनामा हालसम्म ओभरहेड ट्यांकी बन्न सकेको छैन ।
साना टुक्रे आयोजनाबाट काम भइरहे पनि पानीको स्रोत सुक्दै जाँदा ओभरहेट ट्यांकीको आवश्यकता त्यहाँका २७३ घरधुरीलाई छ । ‘तीन चार वर्षदेखि बजेट माग गरिरहेका छौं बजेट नै छैन, पुराना काम पनि केही अधुरा छन्’ टारीमझगैं पेरनी खानेपानी आयोजनाका अध्यक्ष कमलबहादुर रावतले भने, ‘हाम्रा साना आयोजनामा कार्यालयको साथ छ तर, अब कुवाका पानी सुक्दै गएका छन् । पानीकै हाहाकार हुने अवस्था आउन नदिन ओभरहेड ट्यांकी चाहियो ।’