Logo

गौरवको योजना अलपत्र परेपछि वैकल्पिक सडक बनाइँदै

पर्वत– गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजना अन्तर्गत पर्वतको जलजलामा निर्माणाधिन सडक आयोजना विगत छ वर्षदेखि अलपत्र बनेपछि वैकिल्पक सडक बनाउन थालिएको छ । जलजला गाउँपालिका अन्तर्गत–७ मिलनचोकदेखि–सल्यान–घायखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजना छ वर्षदेखि अलपत्र बनेको हो ।

ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक अलपत्र बनेपछि स्थानीयले वैकिल्पक मार्ग खोल्न थालेका हुन् । सडक खण्डअन्तर्गत मिलनचोकदेखि सल्यानसम्मको तीन किलोमिटर पाँच सय मिटर गत वर्ष कालोपत्र भएपनि त्यहाँभन्दा माथिको ७.५ किलोमिटर सडक अलपत्र बनेको हो । धाईरिङस्थित किराखोरमा वर्षेनी झर्ने भीषण पहिरोका कारण वर्षायाममा सडकमा क्षति पुगेपछि वैकिल्पक सडक निर्माण गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।

पहिरो नझर्ने र बस्तीसमेत सुरक्षित हुने दिशातर्फबाट वैकिल्पक मार्ग खोलिएको हो । उनका अनुसार वैकल्पिक सडकको रुपमा सल्यानदेखि घायखेतसम्मको ट्रयाक परिवर्तन गर्न थालिएको हो । ठेकेदारले समयमै काम नगर्दा किराखोर पहिरोमा वर्षेनी समस्या बढेपछि वैकल्पिक सडक खोलिएको र अहिले स्तरोन्नतीको काम भइरहेको उनले बताए । दुई किलोमिटर लामो सडकको नयाँ मार्ग जलजला गाउँपालिकाले आफ्नै लगानीमा खोलेको थियो ।

सोही सडकमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटले स्तरोन्नती सुरु गरिएको छ । टेवा पर्खाल लगाउने, ग्यावियन जाली भर्ने, घुम्ती सुधार जस्ता काम भइरहेको अध्यक्ष आचार्यको भनाइ छ । उक्त सडक स्तरोन्नती पछि बाह्रै महिना यातायातको सुविधा पुग्ने उनको भनाइ छ । कठिन रहेको उक्त सडकको भौगोलिक अवस्था सुधार र स्तरोन्नतीका लागि १० करोडको विस्तृत योजना प्रतिवेदन तयार गरी प्रदेश सरकार र संघीय सरकारसँग बजेटसमेत माग गरिएको उनले बताए ।

यो दुई किलोमिटर सडकले सल्यानदेखि घायखेत जोड्ने छ भने किराखोरको पहिरोतर्फको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीय हेमनाथ आचार्यले बताए । सडक अलपत्र पर्दा धाइरीङका एक हजार भन्दा बढी घरधुरीले समस्या भोग्दै आएका छन् । त्यसैगरी तरकारीको पकेट क्षेत्र मानिने धाइरीङमा उत्पादन भएको तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई समस्या पर्दै आएको छ ।

२०७८ मंसिर ५ मा निर्माण सम्पन्न गर्नेगरी वि.सं. २०७६ मंसिर ६ मा २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो । सडक निर्माणको जिम्मा पाएको हिमदुङ एन्ड थोकर निर्माण सेवाले विभिन्न बहाना बनाउँदै समयमा काम नगर्दा योजना अलपत्र बनेको पूर्वाधार विकास कार्यालय पर्वतका कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए । सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ ।

सडक सम्पन्न गर्न पटक पटक निर्माण व्यावसायीलाई म्याद थप गरेको भएपनि विभिन्न बहाना बनाउँदै ढिलासुस्ती गरिरहेको कार्यालय प्रमुख अर्यालले बताए । कार्यालयले पटक पटक कालोसूचीमा राखेर काम सम्पन्न गर्न ताकेता गरेपनि अटेर गर्ने गरेको छ । उक्त निर्माण कम्पनीका सञ्चालक बहादुरसिंह लामा हाल बागमती प्रदेश सरकारको मुख्यमन्त्री रहेका छन् । सडक निर्माण पूरा नगर्दा बस्तीमा पहिरोको जोखिम बढेको स्थानीय पूर्ण परियारले बताए ।

निर्माणको कामले निरन्तरता नपाउँदा बनाइएका संरचना भत्किएर झनै जीर्ण बनेका छन् । यसैबीच गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले उक्त सडकको अनुगमन गर्दै गौरवको योजना समयमै सम्पन्न हुन नसकेपछि स्थानीय पालिकाले खोलेको वैकल्पिक मार्गलाई अघि बढाउन आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाए । आगामी आर्थिक वर्षको बजेटमा उक्त मार्गलाई पूर्णता दिनेगरी बजेट व्यवस्थापन गरिने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्