विकल्प नभएको विदेशको यात्रा

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या प्रत्येक वर्षजसो बढ्दै आएको छ । विश्वव्यापीकरणको अहिलेको युगमा विदेशमा जानु हुँदैन भन्नुलाई मुर्खता भनिएला । अहिले दक्षता भएको व्यक्तिका लागि विश्वमा कुनै सीमा छैन । भौगोलिक रूपमा सबै मुलुकका आआफ्ना सीमा छन् नै । गैरनागरिकलाई प्रवेश दिने/नदिनेमा पनि प्रत्येक देशका आआफ्नै नियम–कानुन छन् । तर, दक्ष व्यक्ति संसारको कुनै पनि कुनामा जान रोकिँदैन ।
त्यसैले अहिलेको विश्वलाई ‘नलेज र सीप’ का आधारमा सीमाविहीन विश्व भनिएको हो । तर, नेपालीहरू कुन किसिमले विदेश गइरहेका छन् भन्ने सवाल भने आफैँमा अहम् प्रश्न हो । अहिले विदेश जाने अधिकांश नेपाली आन्तरिक बजारमा गुजारा गर्न पुग्नेसम्मको रोजगारी नपाएर गएका हुन् । ठूलो अवसर छोप्न विदेश जानेहरू यसमध्ये एक प्रतिशत पनि छैनन् । त्यसैले रोजगारीका लागि विदेश जाने अधिकांश नेपालीलाई त्यस नजरले हेर्न सकिँदैन ।
वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको वैशाखसम्ममा विदेश काम गर्न जान श्रम स्वीकृति लिएकाको संख्या हालै प्रकाशित गरेको छ । त्यसअनुसार यो १० महिनामा ६ लाख ८० हजारले यस्तो अनुमति पाएका छन् । अनुमति लिएपछि विदेश नजानेको संख्या खासै हुँदैन । यही आधारमा हेर्दा यो वर्ष प्रतिमहिना औसतमा ६८ हजार र प्रतिदिन औसतमा २ हजार २ सय ६७ जना विदेश गएको देखिन्छ । अर्कातिर आगामी दुई महिनामा पनि अहिलेको आँकडाजस्तै विदेश जानेको संख्या देखिए यो वर्षमात्र ८ लाखभन्दा बढी विदेश पुग्ने देखिन्छ ।
यो संख्या भने पहिलो पटक श्रम स्वीकृति लिएका र पुन: श्रमस्वीकृति लिएका दुवैको हो । खासगरी पहिलो पटक विदेश जानका लागि १८ वर्ष उमेर पुगेको र ४० वर्ष ननाघेको हुनुपर्छ । कुनै मुलुक र काम गर्ने प्रकृतिअनुसार यसमा सामान्य फरक पर्ला । पुन: श्रमस्वीकृति लिएर जानेको हकमा पनि उमेर त्यति बाधक देखिँदैन । नभए विदेश जाने उमेर १८–४० लाई मान्न सकिन्छ । हाम्रो कुल जनसंख्या करिब ३ करोड पुग्दै छ । यसमध्ये विदेश जान उमेर भएको जनसंख्या कति छ ? त्यसमध्ये एकै वर्ष ५ लाख बढी (नयाँ–पुराना गरी ८ लाख) नेपाली विदेश जान थाले आन्तरिक श्रम बजारलगायतमा कस्तो असर पर्ला ? विषय सोचनीय छ ।
अर्कातिर विदेश जानेको लर्को प्रत्येक वर्ष बढ्दै आएको छ । आव २०७८/७९ मा विदेश जानेको संख्या ६ लाख ३० हजार थियो । गत वर्षभरमा ७ लाख ४१ हजारले श्रम स्वीकृति लिएका थिए । गत वर्ष वैशाखसम्म विदेश जानेको संख्या ६ लाख २५ हजार थियो । अहिले वैशाखसम्म ५५ हजार बढेको छ । दस महिनामा ५५ हजार थपिनु धेरै ठूलो तथ्यांक होइन । तर, प्रत्येक वर्ष धेरथोर गरी विदेश जानेको संख्या बढ्दै आएको छ । यो ठूलो विषय हो । कोभिड महामारीका समयमा संसारभर मानवीय आवागमन शून्यजस्तै भएकाले ती वर्षमा विदेश जानेहरू कम भएका थिए । नभए त्यसअघि र पछि क्रमश: विदेश जाने बढी नै रहेका छन् ।
दक्षताअनुसार अवसर छोप्नेका लागि सीमाविहीन संसार भनिए पनि नेपालीका हकमा स्वदेशमा रोजगारीका अवसर नपाएर वैदेशिक रोजगारीतर्फ लाग्नु नियति नै बनेको छ । प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएबाट स्वदेशभित्र कुनै अवसर नभएको प्रस्ट हुन्छ । पहिलो, सरकारले पूर्वाधार निर्माणमा काम गर्न सकेको छैन । त्यसमा पनि वर्षैभर पूर्वाधार क्षेत्रमा काम पनि हुँदैन । अर्को, कामै दिए पनि गर्जो टर्ने गरी ज्याला दिने परिपाटी छैन ।
अहिले सरकारी र गैरसरकारी क्षेत्रमा मजदुरको तलब महिनाको १५–१७ हजार मात्र हो । यो रकमले एक जनाको पनि खर्च धान्न सक्दैन । आफ्नो परिवारको जिम्मेवारी परको विषय हो । यही कारण सामान्य लेखपढ भएका नेपालीहरू सामान्यत: वर्षभरि ३० देखि ६० हजार रुपैयाँ कमाउन पनि विदेश पुग्नुपरेको छ । विदेशमा हुने यस्तो कमाइले न त भविष्य सुरक्षित हुन्छ, न त धेरै रकम बचत नै हुन सक्छ । तर पनि सामान्य घरखर्च चलाउन पनि विदेश जानुको विकल्प छैन ।