बन्दरगाह प्राधिकरण गठनको तयारीमा सरकार «

बन्दरगाह प्राधिकरण गठनको तयारीमा सरकार

मुुलुकको वैदेशिक व्यापारलाई सहजीकरण र प्रवद्र्धन गर्न बन्दरगाह प्राधिकरण गठन हुने भएको छ । प्राधिकरण गठनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विधेयक तयार गरिसकेको छ ।
बन्दरगाहमात्रै हेर्ने गरी उद्योग, मन्त्रालयले प्राधिकरण गठनको मस्यौदा तयार गरेको हो । बन्दरगाहको विकास, व्यवस्थापन, सञ्चालन तथा नियमन गर्नका लागि नेपाल बन्दरगाह प्राधिकरणको स्थापना गरिएको मन्त्रालयले जानकारी दिए ।
प्राधिकरणले बन्दरगाहको व्यवस्थापन सञ्चालन सम्बन्धी मापदण्ड तथा कार्यविधि तर्जुमा गर्ने छ । यस्तै बन्दरगाह सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक व्यवस्था मिलाउने, अनुगमन, सुपरिवेक्षण तथा नियमन गर्ने, बन्दरगाह निर्माण, व्यवस्थापन तथा सञ्चालनको इजाजत दिने र अन्तराष्ट्रिय संस्थाहरूसँग समन्वय र सहकार्य गर्ने गर्ने काम गर्छ । प्राधिकरणलाई नेपालको जुनसुसकै स्थानमा बन्दरगाह स्थापना र विकास र सञ्चालन तथा व्यवस्थापन गर्ने अधिकार रहने छ । यस्तै निजी क्षेत्रबाट व्यवस्थापन तथा सञ्चालन गर्न गराउन आवश्यक व्यवस्था प्राधिकरणले गर्ने छ । यस्तै मुलुकभित्र बन्दरगाह स्थापना, सञ्चालन एंव व्यवस्थापन गर्न चाहने कम्पनीले प्राधिकरणबाट इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ ।
प्राधिकरण स्वशासित र संगठित संस्था रहने छ । प्राधिकरणमा वाणिज्य सचिव अध्यक्ष, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सदस्य, भन्सार विभागका महानिर्देशक सदस्य र नेपाल बन्दरगाह प्राधिकरणको कार्यकारी निर्देशक सदस्यसचिव रहनेगरी सञ्चालक समिति बन्नेछ । सञ्चालक समितिले बन्दरगाहको विकास, व्यवस्थापन तथा सञ्चालन र बहुप्राविधिक ढुवानीसँग सम्बन्धित नीति तर्जुमा गर्ने, बन्दरगाह व्यवस्थापन तथा सञ्चालनमा आवश्यक समन्वय गर्ने छ । यस्तै, बन्दरगाहको व्यवस्थापन तथा सञ्चालनसम्बन्धी मापदण्ड तथा कार्यविधि स्वीकृतिको काम पनि यसले गर्नेछ । नेपालले भारतका कोलकाता र विशखापट्टनम गरी दुईवटा सामुद्रिक बन्दरगाह प्रयोग गर्दै आएको छ । चीनतर्फ नेपालले सबै खुला सामुद्रिक बन्दरगाह प्रयोग गर्न सक्ने गरी सम्झौता समेत गरिसकेको छ । तत्कालका लागि भने तियान्जेन, सेन्जेन, लियानयुंगाङ र झाङजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह प्रयोग गर्न सक्नेछ । यस्तै, नेपालले चीनका सबै सुख्खा बन्दरगाह पनि प्रयोग गर्न सक्ने छ । हाललाई भने लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह प्रयोग गर्न सक्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।
सम्झौताले रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङ्चुङगोला गरी छ वटा नाकामार्फत ढुवानी गर्नसक्ने अवस्था पनि सिर्जना गरेको छ । त्यस्तै थप दुईवटा माग समेत गरिसकेको छ । यो माध्यमबाट हुने आयात निर्यात सुक्खा बन्दरगाह हुँदै गरिने भएकोले त्यसलाई सञ्चालन तथा नियमन गर्ने गरी प्रधिकरण गठनको तयारी गरिएको हो । त्यसको गठन तथा सञ्चालनको प्रक्रियासहितको मस्यौदा मन्त्रालयले तयार गरेको जनाएको छ ।
कोलकातामा नेपालले आफ्नै कन्टेनर फ्रेट स्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ । लार्चाको सुख्खा बन्दरगाह सञ्चालनमा आई तातोपानी नाकाबाट व्यापारिक वस्तुको आयात निर्यात हुन थालेको मन्त्रालयले जानकारी दिएको छ । रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्