Logo

मौसम विज्ञान विभाग र इप्पानबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ”राष्ट्रिय मनसुन फोरम–२०८२” का अवसरमा विभाग र इप्पानबीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारी पत्रमा विभागका तर्फबाट महानिर्देशक कमलराम जोशी र इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्कीले हस्ताक्षर गरेका हुन् । विभागका महानिर्देशक कमलराम जोशीले इप्पान र विभागबीच तथ्यांक, पूर्वसूचना तथा सूचना आदानप्रदान गर्न समझदारी भएको बताए । उनले उक्त समझदारीले जलविद्युतका भौतिक पूर्वाधार तथा जनधनको क्षति न्युनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

इप्पानका अध्यक्ष कार्कीले उक्त सम्झौताले बाढी पहिरोका कारण जलविद्युत आयोजनामा हुने भौतिक तथा मानवीय क्षतिलाई कम गर्न सकिने विश्वास लिए । उनले प्रत्येक कोरिडोरका प्रोजेक्टहरूले कम्तीमा एक हप्ता अगाडी नै सूचना प्राप्त गर्ने बताए । साथै, उनले प्रत्येक कोरिडोरका प्रत्येक प्रोजेक्टहरूलाई यसमा सहकार्य गरेर जानकारी दिने प्रणालीको विश्वास गर्नु मुख्य उद्देश्य रहेको बताए ।

पाँच वर्षका लागि गरिएको उक्त समझदारी पत्रमा विभागले बाढी आउने सम्भावित समय जेठ १५ देखि असोज १५ गतेसम्म नदी बेसिनका आधारमा वर्षा र जल सतह सम्बन्धी रियल टायम तथ्यांक एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत इप्पान तथा यसका सदस्य आयोजनालाई उपलब्ध गराउने उल्लेख गरिएको छ ।

यस्तै, नदी बेसिन अनुसार वर्गीकरण गरिएको डाटा र सम्बन्धित ठाउँको ३ दिन वा उपलब्ध भए सम्मको मौसम पूर्वानुमानको तथ्यांक फाइल ट्रान्सफर प्रोटोकल (एफटीएफ) लिंकमार्फत विभागले इप्पानलाई उपलब्ध गराउने लगायतका विषय उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्