Logo

सूर्य नेपाल च्यालेन्ज, शुक्र र भुवन शीर्ष स्थानमा

काठमाडौं– सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको पहिलो दिन पूर्वनम्बर एक गल्फर शुक्रबहादुर राई र भुवनकुमार रोक्का संयुक्त रुपमा शीर्ष स्थानमा रहन सफल भएका छन् ।

पार–६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले मंगलबार ७ अन्डर ६१ को उत्कृष्ट स्कोर बनाए । उनीहरूले दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे । तेस्रो स्थानमा रहेका दिनेशले ४अन्डर ६४ को स्कोर जोडे । नेपाल नम्बर एक भुवन नगरकोटी ३९ अन्डर ६५ सहित चौथो र रामे मगर २ अन्डर ६६ को स्कोरमा पाँचौं स्थानमा रहे ।

१अन्डर ६७ को स्कोरमा प्रदीपकुमार लामा, दीपक मगर, निरज तामाङ, जयराम श्रेष्ठ र साविक विजेता रवि खड्काले संयुक्त रुपमा छैटौं स्थान बाँडे । चोटमुक्त भएर करिब दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले सानदार पुनरागमन गरे । बोगीरहित कार्ड बनाउने क्रममा तेस्रो र चौथो होलको बर्डीले फ्रन्ट नाइन २अन्डर ३२ मा सकाए ।

ब्याक नाइनमा सानदार प्रदर्शनका साथ १०औं र ११औं तथा यसपछि १३औं देखि १५औं होलमा लगातार तीन बर्डी प्रहार गरे । कुल ५ बर्डले ब्याक नाइन ५अन्डर ९ मा पूरा गरे । भुवनकुमार रोक्काले प्रभावशाली प्रदर्शनका साथ फ्रन्ट नाइनमा ५अन्डर २ को नतिजा निकाले । १६औं होलको बोगीले ब्याक नाइन २अन्डर ३२ मा पूरा गरे ।

एमेच्योरतर्फ फुन्सोक नोर्बु लामा र राहुल विश्वकर्मा इभनपार ६८ को स्कोरमा संयुक्त रुपमा शीर्षस्थानमा रहे । उनीहरूले बलराम पौडेल र निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । बलराम र निश्चयले १ ओभर ६९ स्कोर गरे। ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ । विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमश: ७० हजार र ५० हजार हात पार्नेछन् । शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरले पनि नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्