Logo

पोखरामा प्याराग्लाइडिङ

मापसे र लापसे गर्ने पाइलट प्रहरी नियन्त्रणमा

फाइल तस्बिर ।

पोखरा– पोखराको पर्यटन आकर्षणको रुपमा रहेको साहसिक खेल प्याराग्लाइडिङ पाइलट नै मादक पदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) गरेको अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको नेतृत्वमा पोखरा–२४ मान्द्रढुंगामा पुगेर सोमबार उक्त परिक्षण गर्दा एक जनामा मापसे र लापसे गरेर उडान गर्ने तयारी गरिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको हो । प्याराग्लाइडिङ पाइलट पोखरा–२४ (कास्कीकोट)का विशालबहादुर क्षेत्रीलाई मापसे र लापसे गरेको अवस्थामा अनुगमन टोलीले फेला पारेसँगै प्रहरीले नियन्त्रणमा लिएको एसपी ओलियाले बताए ।

पोखराको पर्यटन आकर्षणको रुपमा रहेको प्याराग्लाइडिङ पाइलटले मापसे तथा लापसे गरेको भन्ने गोप्य सूचनाको आधारमा सोमबार छड्के रुपमा अनुगमन गरिएको थियो । कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलिया, वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी सन्तोष निरौला, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसी, नाका महासचिव बलराम आर्चायलगायतको टोलीले उनीहरूको मान्द्रेढुंगा पुगेर मापसे र लापसे परीक्षणका गरेको थियो ।

मान्द्रेढुंगामा उडानका लागि गएका ३९ पाइलटमध्ये १४ जनाको लागूपदार्थ सेवन गरे/नगरेको परीक्षण गरिएको प्रहरी प्रमुख ओलियाले जनाए । १४ मध्ये एक जनाले मादकपदार्थसँगै लागूपदार्थ सेवन गरेको भेटिएको एसपी ओलियाको भनाइ छ । अन्य ३८ जना केही सेवन नगरेको भेटिएको ओलियाले जानकारी दिए । आफूहरूलाई प्याराग्लाईडिङ पाइलटले मापसे र लापसे सेवन गरी उडान गरेको सूचना एंव जानकारी विभिन्न माध्यमबाट आएपछि वास्तविकता बुझ्न फिल्डमै पुगेको उनले बताए ।

नागरिक उड्डयन प्राधिकरणले समेत बेलाबेलामा मापसे र लापसे परीक्षण गरे पनि प्रहरी आएर पहिलो पटक परीक्षणसँगै सुरक्षाका लागि अपनाउनुपर्ने विषयमा पाइलटलाई जानकारी दिएकाले यसले आफनो पेसाप्रति पाइलटलाई अझ जिम्मेबार र सुरक्षीत बन्न सहयोग पुग्ने नाका अध्यक्ष केसीले बताए । केही हदसम्म आफूहरूले पनि नियमन गर्ने गरेको उनले जनाए । पोखरामा लाइसेन्स लिएका चार सय बढी पाइलट रहे पनि हाल दुई सय ७० जनाले उडान गर्ने गरेको नाले जनाएको छ ।

पोखरामा प्याराग्लाइडिङ उडान गरेको आठ हजार पाँच सय रुपैयाँ शुल्क छ । पोखरामा विगत तीन वर्षदेखि प्याराग्लाइडिङको सोलो(एकल) उडान स्थगित भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा निसिम थापाको निधन भएसँगै सुरक्षा कारण देखाएर बन्द सोलो प्लाइट खुला नहुँदा धेरै सोलो प्याराग्लाइडिङ पाइलटको पोखराको बसाइँ पातलिएको व्यवसायीको गुनासो छ ।

पोखरामा केही प्याराग्लाइडिङ पाइलटले फेवातालमा एक्रोव्याट हान्दा, केहीले फुट टिप्दा, केही अन्जानमा त केही तालमा डुलेर प्याराग्लाइडिङ उडानको क्रममा मृत्यु भएको छ । पोखरामा करिब ५८ वटा प्याराग्लाइडिङ कम्पनी छन् । तीन वर्षदेखि हुँदै आएको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपसमेत स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्