Logo

मधेश प्रदेशको १५ प्रतिशत मात्रै खर्च

जनकपुरधाम– चालु आर्थिक वर्षको वैशाखसम्म १४.९४ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु आवको कुल बजेट ४३ अर्ब ८९ करोड २१ लाख रहेकोमा वैशाखसम्म ६ अर्ब ५७ करोड ३ लाख अर्थात् १४.९८ प्रतिशत रकम खर्च भएको हो ।

मधेश प्रदेशको कोष तथा नियन्त्रण कार्यालयबाट प्राप्त तथ्यांकअनुसार प्रदेश सरकारको कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ९४ करोड ७७ लाख बजेट रहेकोमा १० महिनामा २७.०५ प्रतिशत अर्थात् ४ अर्ब ३१ करोड ४३ लाख र पुँजीगततर्फ २७ अर्ब ९४ करोड ४४ लाख बजेट रहेकोमा वैशाखसम्म ८.१० प्रतिशत अर्थात् २ अर्ब २६ करोड ११ लाख रुपैयाँ मात्र खर्च भएको मधेश प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका लेखा नियन्त्रक मनोज कुमार झाले बताए ।

वैशाखसम्म मधेश प्रदेश सरकारसँग ३७ अर्ब ३१ करोड बजेट बाँकी रहेको सो कार्यालयले जनाएको छ । विकासे कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी बोकेका कार्यालयमध्ये अधिकांश कार्यालय निमित्तको भरमा सञ्चालन हुनु, दरबन्दीअनुसार कर्मचारी नहुनु जस्ता कारणले विकासको कामहरू अगाडि बढ्न सकेको छैन । यस्ता विकासे कार्यालयहरूमा प्रमुख मात्र नभएर फिल्ड र टेबुल वर्क गर्ने कर्मचारीहरूको समेत अभाव रहेको छ ।

विकासे कार्यालयहरूमा कर्मचारी अभावमा प्रदेशको योजना कार्यान्वयनमा समस्या देखिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक कर्मचारीले बताए । अघिल्लो आर्थिक वर्षमा कुल बजेटको ६१ प्रतिशत मात्र बजेट खर्च भएको थियो । सो आर्थिक वर्षमा पूर्ण बजेटमध्ये चालुतर्फ १८ अर्ब ५४ करोड ५८ लाख र पुँजीगततर्फ २५ अर्ब ५७ करोड ७५ लाख रहेको थियो ।

मधेश प्रदेशको आठ जिल्लामा १३६ पालिकाहरू रहेका छन् । जसमध्ये अधिकांश पालिकाहरू असार लाग्ने बित्तिकै धमाधम बजेट खर्च गर्ने प्रवृत्तिका कारण गुणस्तरहीन काम हुने गरेको उपभोक्ताहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्