सिमरा सेजमा वित्तीय संस्था नहुँदा व्यवसायी समस्यामा

बारा– सिमरा सेजमा वित्तीय संस्था नहुँदा व्यवसायीहरूलाई थप समस्या सिर्जना भएको छ । पाँच वटा पूर्ण रूपमा सञ्चालनमा आइसकेका र २५ बटा उद्योग सञ्चालनको तयारीमा रहेको सेजमा वित्तीय कारोबार, उत्पादनको सुरक्षा तथा निर्यात गर्न बैंक, बीमा र भन्सारका लागि दैनिक २५ किलोमिटर वीरगन्जसम्म आवतजावत गर्नु परेको कारण व्यवसायीहरू थप समस्यामा परेका हुन् ।
दुई अर्ब बढी लगानीमा सञ्चालीत नेपोभिट सेरामिक्सका सञ्चालक शम्भु झाले वित्तीय संस्था सेज भित्र नहुँदा वीरगन्ज गई काम गरिरहेको बताए । यहाँका उद्योगीहरूले सेज भित्र व्यावसायिक वातावरण बनाउन प्रशासनलाई आग्रह गरे पनि आश्वासन बाहेक प्रगति हुन नसकेको झाले बताए । सिमरा सेजको ‘ए’ बल्कमा उद्योग आउनु पूर्व नै बैंक, बीमा, भन्सार, प्रशासनिक भवन, हुलाक, खाजाघर, पोलीक्लिनीक, सुरक्षा पोष्ट, खानेपानी ट्यांकी, सभाहल भवनलगायतका भौतिक पूर्वाधारहरू निमार्ण सम्पन्न भए पनि सञ्चालन हुन सकेका छैनन् ।
वैशाख मसान्तसम्म पशुपति सेरामिक्सले ८४ करोड १५ लाख, लक्ष्मी ग्रेनाईडले १८ करोड ७४ लाख, बालाजी मेनुफ्याक्चरिङले १ करोड ६१ लाखको कारोबार गर्ने गरेका छन् भने बायोकम्प नेपालले गत सातादेखि मात्रै कारोबार थालेकोे सिमरा सेजले जनाएको छ । बालाजीले बाल्ट्रा ब्राण्डका भाँडाकुँडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको छ भने अन्य उद्योगले विदेशी बजारमा निर्यात थाल्न सेज भित्रै बैंक, बीमा र भन्सार सुविधा नहुँदा सहज हुन नसकेको बताउँदै आएका छन् ।
‘औद्योगिक वातावरण सहज बनाउन सरकारको बलियो भूमिका आवश्यक हुन्छ । सेजमा त्यस्तो हुन सकेको छैन’ जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले भने,‘वित्तीय कारोबार, औद्योगिक जोखिम तथा निर्यातमा सहज बनाउने कार्यालयहरू तत्काल सेज भित्र सञ्चालन गर्न सरकारलाई आग्रह गर्दछौं ।’
सिमरा सेज भित्र उपलब्ध भवनहरूमा बैंक, बीमा, भन्सार सञ्चालनको लागी सेज प्राधिकरण बोर्डले निर्णय गरी उद्योग र अर्थ मन्त्रालयमा पत्राचार गरे पनि लामो समयदेखि कार्यान्वयन गर्न अनुमति प्रदान नगरेपछि सिमरा सेज सञ्चालनमा सरकारको उदासीनता देखिएकोे प्राधिकरणकै उच्च अधिकारीहरू बताउँछन् ।
सेजका सूचना प्राविधिक सागर सिलवालले सेजको जग्गा भाडा लगाउन मिल्ने भए पनि भवनहरूको भाडा लगाउने बारे ऐन मै स्पष्ट नभएकोले समस्या बढेको बताए । उनले ऐन अस्पष्ट बन्दा समस्या भएकोले प्राधिकरणले दुई मन्त्रालयलाई बोर्डको निर्णय पत्राचार गरिसकेकोले चाडैं समस्या समाधान हुने विश्वास गर्न सकिनेमा जोड दिए ।
सेजका तत्कालीन कार्यकारी निर्देशक चण्डिका भट्टले दुई वर्षअघि नै सिमरा सेजको आन्तरिक प्रशासन सञ्चालनको लागि १६ जना कर्मचारी आवश्यक रहेको भनी अर्थ मन्त्रालयमा पत्राचार गरेको सार्वजनिक कार्यक्रममा नै बताएका थिए । तीन महिनाअघि हालका कार्यकारी निर्देशक छत्रबहादुर कटुवालले सेजमा बायोकम्प नेपालको उद्घाटन गर्दै सेज भित्रै बैंक, भन्सार, बीमालगायतका प्रशासनिक सेवाका लागि सम्बन्धित मन्त्रालयमा निर्णय गरी पत्राचार भइसकेको जानकारी गराएका थिए ।
तर पनि हालसम्म उक्त कुराको कार्यान्वयन हुन सकेको छैन । सिमरा सेजको ८ सय ३३ बिगाह क्षेत्रफलको ५ वटा बल्कमध्ये सञ्चालनमा आएको ‘ए’ बल्कमा भारतीय, चाइनिज तथा स्वदेशी नागरिकको पाँच अर्ब ५९ करोड लगानीमा खाद्य प्रशोधन, घरायसी उपकरण, भाँडाकुँडा, साना सवारी एसेम्बल, ब्याट्री, जैविक मल, तयारी पोशाक, टायल्स, मार्बल उत्पादन गर्ने उद्योगहरू रहेका छन् ।