रोल्पाका स्थानीय तहको बजेट घट्ने

रोल्पा– रोल्पाका स्थानीय तह आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको क्रममा जुटेका छन् । असार १० भित्र स्थानीय सरकारले बजेट ल्याइसक्नुपर्ने प्रावधान बमोजिम यहाँका स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेका हुन् । जिल्लाका स्थानीय तहले राजस्व परामर्श समितिमा आगामी वर्षको बजेट तयारीको लागि छलफल बढाएका छन् । छलफल गरेर वडा तह र विषयगत समितिमा बजेटको सिलिङ पठाउने कार्यलाई अगाडि बढाएका हुन् ।
सुनिल स्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजालले आगामी वर्षको बजेट सिलिङको सन्दर्भमा छलफल भइरहेको बताए । ‘कतिपय पूर्वाधारका कामहरूमा दायित्व सर्ने कार्यक्रमहरू पनि छन्’ उनले भने,‘कतिपय बहुवर्षीय ठेक्काहरू पनि छन् । त्यसमा पनि स्रोत सुनिश्चितता गर्नुपर्ने भएकाले त्यसको डाटा कलेक्सनको काम सकिएपछि वडा तहमा बजेटको सिलिङ पठाउने तयारी छ’ ।
चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेटमा धेरै भिन्नता नहुने उनले बताए । ससर्त, समपूरक र विशेष अनुदानअनुसार बजेट निर्धारण गर्ने उनले बताए । जिल्लाको सुनछहरी गाउँपालिका पनि आगामी आवको बजेट निर्माणको तयारीमा जुटेको छ । सुनछहरी गाउँपालिका बजेट निर्माणको तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले बताए । संघ र प्रदेश सरकारबाट पाउनुपर्ने अनुदान रकमको सीमा ढिलो प्राप्त हुँदा केही ढिलो हुन पुगेको उनले बताए ।
‘बजेट निर्माणको पहिलो बैठक सम्पन्न गरिसकेका छौँ’, उनले भने, ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको बैठक जेठ १२ गते बसेपछि आगामी बजेटको आकार निर्धारण गरिने छ ।’ संघ र प्रदेश सरकारबाट प्राप्त बजेट सिलिङअनुसार सुनछहरी गाउँपालिकामा बजेट बढेर आउने सम्भावना रहेको उनले बताए ।
सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले आव २०८२/८३ मा आर्थिक विकासलाई पहिलो प्राथमिकता राखेर योजना निर्माण थालेको बताए । ‘कृषि सहकारी, उद्यम, पर्यटन पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ’ उनले भने । ‘बजेटको सिलिङ संघ र प्रदेशबाट आउने बजेटको आधारमा हुन्छ’ उनले भने, ‘हाम्रो दायित्व पनि बढ्दै छ । त्यसकारण प्रदेश र संघको बजेटकै आधारमै वडा र विषयगत समितिमा बजेटको सिलिङ वितरण हुन्छ ।’
जिल्लामा १ नगरपालिका र ९ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । जिल्लाका दश वटै स्थानीय सरकार यतिबेला बजेट निर्माणको क्रममा रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र गाउँसभा/नगरसभामा बजेट पेस गर्नुपर्ने हुन्छ । सोही आधारमा स्थानीय तहले बजेट बनाउने गर्छन् ।
चालु आवमा आन्तरिक विवादका कारण केही स्थानीय सरकारले ढिलो बजेट ल्याएका थिए । स्थानीय सरकारमा लक्ष्यअनुसार राजस्व संकलन नहुँदा तथा आन्तरिक आम्दानी कम हुँदा बजेट घट्ने देखिन्छ । जिल्लाका दश वटै स्थानीय सरकारले विषयगत समितिमा छलफल, गाउँसभा/नगरसभामा बजेट पेस गर्न लागेकाले अबको बजेटले पालिकावासीको माग र आवश्यकतालाई सम्बोधन गर्ने नागरिकको अपेक्षा छ ।
सुनिल स्मृति गाउँपालिकाका स्थानीय बलवीर नेपालीले जनताको आवश्यकतालाई प्राथमिकता दिएर पूर्वाधार विकासमा मात्र जोड नदिइ सीप विकास तालिम, रोजगार सिर्जनाका लागि क्षमता अभिवृद्धि तालिमलगायतलाई प्राथमिकता राखेर योजना बनाउन सुझाव दिए । नागरिकको आवश्यकतालाई मुख्य प्राथमिकता दिएर स्थानीय सरकारले बजेट बनाउनुपर्ने उनले बताए ।
‘स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै सरकारले बजेट ल्याउनु पर्छ’, उनले भने, ‘कार्यकर्ता पोस्नका लागि बनाइएका टुक्रे योजनाले विकासमा उपलब्धि देखाउँदैन् ।’ संघ र प्रदेश सरकारसमेत आगामी वर्षको बजेट घटाउने तयारीमा रहेको बेला रोल्पाका स्थानीय सरकारमा पनि यसको प्रभाव देखिएको छ । रोल्पाका स्थानीय सरकारको आन्तरिक आम्दानीको स्रोत बलियो नहुँदा संघ र प्रदेश सरकारबाट आउने अनुदानमा निर्भर रहेर बजेट ल्याउने रहेको छ ।
स्थानीय तहलाई धेरै अधिकार भए पनि त्यसअनुसार कार्यान्वयन गर्न सकेका छैनन् । लक्ष्यअनुसार आन्तरिक आम्दानी गर्न मुस्किल हुने रोल्पाका स्थानीय सरकार केन्द्र र प्रदेशको अनुदानमा निर्भर रहनु पर्दा स्थानीय सरकारको यस वर्षको बजेटको दायरा घट्न सक्ने वा गत वर्षकै सेरोफेरोमा रहने बताइएको छ ।