ठेक्का सम्झौताको ७ महिना अघि नै पुल सम्पन्न

दोलखा– सरकारी ठेक्का लिएर समयमा काम नभएर अलपत्र परेका योजनाका बारेमा आउने समाचार आजभोली सामान्य लाग्छ । समयमा सरकारी पुँजीगत खर्च नहुँदा देशको अर्थतन्त्रमा समेत असर पर्ने गरेको छ । तर दोलखाको गौरीशंकर गाउँपालिका वडा–१ र ३ मा रहेको झ्याँकु खोलामा ठेक्का सम्झौताको एक वर्ष नपुग्दै पक्की पुल तयार भएको छ ।
पूर्वाधार विकास कार्यालय चरिकोटसँग १८ महिनामा पूरा गर्ने गरी २०८१ जेठ १६ गते श्री एम.एम/प्रशान्त जेभी काभ्रेले सम्झौता गरी काम सुरु गरेको थियो । ठेक्का सम्झौता अनुसार २०८२ मंसिर १५ मा काम पूरा गर्नुपर्ने भएपनि त्यसको ७ महिना अघि नै गत वैशाख २३ गते निर्माण व्यवसायीले काम पूरा गरी कार्यालयलाई बुझाएको पूर्वाधार विकास कार्यालय चरिकोटका प्रमुख हरिप्रसाद ओझाले जानकारी दिए ।
जुँगू–झ्याँकू–तिनेखू सडक खण्डमा पर्ने झ्याँकु खोलामा बनेको पुल ३० मिटर लम्बाइको छ । पुल निर्माणका लागि ७ करोड ४२ लाख ४८ हजार ३३६ रुपैयाँमा सम्झौता भएको थियो । पुल स्टिल प्लेट गार्डर प्रकृतिको भएको प्रमुख ओझाले बताए । पुल निर्माणपछि सो सडक १२ महिना आवतजावत गर्न सकिने भएको छ । यसअघि वर्षा याममा समस्या हुँदै आएको थियो । पुल निर्माणपछि जुँगू र झ्याँकूका नागरिकलाई यात्रा सहज भएको गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बताए ।
पुलको ठेक्का सम्झौता भएपछि वर्षात् सुरु भएको थियो । वर्षात् सकिँदा ४ महिना बितेको थियो । वर्षात् सकिएर पुलको काम सुरु गर्दा दसैंपछि झण्डै असोज सकिन लागेको थियो । वास्तरिक रुपमा काम सुरु गरेको ७ महिनामा नै ठेकेदारले पुल तयार पारेको स्थानीयले बताएका छन् । तोकिएभन्दा छिटो काम पूरा भएपनि निर्माण व्यवसायीले भने कामको भुक्तानी पाउन सकेका छैनन् ।
पूर्वाधार कार्यालयका प्रमुख हरिप्रसाद ओझाले पुलको पूरै बजेट नआएकाले भुक्तानी गर्न नसकिएको बताए । ‘अर्को आर्थिक वर्ष मात्रै पुल पूरा होला भनेर बजेट पूरा आएन, तर पुल अहिले नै पूरा भयो’ उनले भने, ‘काम गर्नेले भुक्तानी पाउनुपर्छ, अन्य काम नभएका योजनाबाट रकामान्तर गरेर भएपनि भुक्तानी गर्ने गरी मन्त्रालयमा सहमतिका लागि माग गरेका छौं ।’
रकामान्तरको सहमति आउन साथ निर्माण व्यवसायीले भुक्तानी पाउने उनले बताए । पूर्वाधार कार्यालय दोलखाले नै ठेक्का लगाएको विगू गाउँपालिकामा रहेको पेगू खोलामा निर्माणाधिन २ वटा पुलको काम पनि तीव्र गतिमा भइरहेको छ । दुवै पुल २०८१ असारमा सम्झौता भएर काम अन्तिम चरण्मा पुगेका छन् । तर दुवै पुलको म्याद २०८२ पुससम्म रहेको छ ।