सडक सञ्जालले फेरिँदै बिर्तामोड

झापा– कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित झापाको बिर्तामोडको मुहार फेरिएको छ । सडक यातायातको पहुँच बिस्तारसँगै यहाँको मुहार फेरिन थालेको हो । पछिल्लो समय बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएकी पवित्रा महतारा प्रसाईंले विकास निर्माणको कामलाई तीव्रता दिएसँगै बिर्तामोडको मुहार फेरिँदै गएको हो ।
बिर्तामोडमा अहिले अर्बौका सडक योजनाको काम तीव्र गतिमा भइरहेको छ । संघ, प्रदेश र नगरपालिकाको लगानीमा चार वटा मुख्य सडकको स्तरोन्नति कार्य भइरहेको मेयर महतारा प्रसाईंले बताइन् । हर्कलाल मार्ग, बुट्टाबारी–प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र सहिद चन्द्रमार्गको विभिन्न खण्डमा स्तरोन्नति कार्य भइरहेको उनको भनाइ छ ।
पूर्वपश्चिम राजमार्गस्थित देउराली होटलदेखि धौलापुल आदर्श चोकसम्म पर्ने हर्कलाल मार्गको स्तरोनन्ति कार्य भइरहेको छ । भद्रपुर रोडको वैकल्पिक मार्गको रुपमा रहेको यस सडकमा विभिन्न ३ खण्डमा काम भइरहेको छ । राजमार्गसँगै जोडिएको देउराली पछाडिको भागमा भौतिक पूर्वाधार विकास मन्त्रालयको १ करोड १३ लाख रुपैयाँमा ठेक्का लिएर धनेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्सले काम गर्दै आएको छ । अहिले ड्रेन तथा नाला निर्माणको काम भइरहेको जनाइएको छ ।
यस्तै सडकको मध्य खण्डमा १ हजार ९५ मिटर क्षेत्रमा पनि काम जारी छ । ६ करोडमा ठेक्का लिएर सरोज निर्माण सेवाले काम गरिरहेको छ । सडकको तल्लो ४५० मिटर क्षेत्रमा कौशल्या विल्डर्सले कालोपत्रे सम्पन्न गरेको छ । १ करोड ११ लाखमा ठेक्का पाएको कौशल्याले कालोपत्रेको काम सम्पन्न गरेको सडक डिभिजन दमकका सव–ईन्जिनियर मदन शाहले जानकारी दिए ।
यी दुवै बजेट भौतिक पूर्वाधार र सघन शहरी विकास कार्यालयबाट प्राप्त भएको बताइएको छ । सडकको अन्तिम भागमा भने गएको आर्थिक वर्षमा नै कालोपत्रे भएको छ । वडा–३ को आदर्श चोकदेखि वडा–४ को आनन्द चोकसम्मको एक हजार ५६ मिटर सडक स्तरोन्नति भएको हो । पूर्वाधार विकास कार्यालयको ४ करोड ६१ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको थियो ।
त्यस्तै बिर्तामोड वडा–६ देखि ७ हुँदै वडा–८ प्याकुरेल चोकसम्म ६ हजार २५८ मिटर लामो बुट्टाबारी–प्याकुरेल चोक सडकको निर्माण कार्य जारी छ । अन्तर्राष्ट्रिय स्तरको बन्ने यस सडकको हालसम्मको प्रगति ६० प्रतिशत रहेको छ । हाल कालोपत्रेका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको र जेठको तेस्रो सातासम्ममा काम सुरु हुने ठेकेदार मनोज उप्रेतीले जानकारी दिए । विश्व बैंकको लगानी रहेको यस सडकमा आरपी साप समता जेभीले ५८ करोड रुपैयाँमा ठेक्का लिएर काम गर्दै आएको छ ।
त्यस्तै बिर्तामोड–३ को सिमानादेखि वडा–२ हुँदै कनकाई नगरपालिका जोड्ने गोकुल जोशी मार्गको स्तरोन्नती ३ खण्डमा विभाजन गरेर भइरहेको छ । चारपाने–घैलाडुवा सडक खण्डदेखि पश्चिम घाग्रा पुलसम्मको १ किलोमिटर सडक खण्डमा सडक डिभिजन कार्यालयको ६ करोड रुपैयाँ बजेटबाट शान्ति निर्माण सेवा प्रा.लिले ड्रेन निर्मणको काम गरिरहेको वडा अध्यक्ष किशोर पौडेलले जानकारी दिए ।
यस्तै सडक डिभिजन कार्यालय दमकको १ करोड ४४ लाख रुपैयाँमा कछुवारीदेखि दाहाल गाउँसम्मको ७ सय मिटर सडक खण्ड जय लक्ष्मी निर्माण सेवाले काम गर्दैछ । यहाँ ड्रेन निर्माणसँगै सडकको बीच भागमा डिभाइडर निर्माणको काम भइरहेको छ । यस्तै कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको २ करोड ६० लाख समपुरक बजेटबाट दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म १ किलोमिटर क्षेत्रमा काम भइरहेको छ ।
यहाँ कालो पत्रेका लागि प्राइम लगाउने काम सम्पन्न भएको र केही दिनभित्रमा कालोपत्रे गरिने निर्माण कम्पनीका प्रतिनिधि दिनेश मैनालीले जानकारी दिए । त्यस्तै बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्रमार्ग सडक पनि स्तरोनन्तीको क्रममा छ । वडा–३ देखि वडा–९ नडियाबारी हुँदै जाने यस सडकमा ड्रेन तथा नाला निर्माणको काम जारी छ । यहाँ पनि विभिन्न ३ खण्डमा काम भइरहेको छ ।
५ करोड ६० लाखमा १ हजार ९६० मिटर सडकमा सिद्दीथुम्का एभरग्रिन जेभीले काम गरिरहेको छ । यस खण्डमा हालसम्मको प्रगति ४० प्रतिशत भएको ठेकेदार नविन खरेलले जानकारी दिए । उनले १५ दिनमा कालोपत्रेको काम हुने जानकारी दिए । यस्तै अर्को खण्डमा ट्रस्ना निर्माण सेवा २८५ मिटर क्षेत्रमा काम गर्दै आएको छ । ६८ लाख ९३ हजार ३३५ रुपैयाँमा ठेक्का लिएर ट्रस्नाले काम गर्दै आएको हो । यस्तै अर्को ४७० मिटर खण्डमा १ करोड ५ लाखमा ठेक्का लिएर नाम्लाक निर्माण सेवाले काम गर्दैछ ।
यस खण्डमा दुवैपट्टी डेमोक्रेसन वालसमेत रहेको यस खण्डमा पनि १५ दिनमा कालोपत्रे गरिने ठेकेदार कम्पनीका प्रतिनिधि केशव लिम्बुले जानकारी दिए । बिर्तामोडदेखि गरामनीसम्मको चारलेन सडक ३१ करोड १३ लाखका ठेक्कामा ललितपुरको श्री आशिष र प्रेरा जेभीले निर्माण गरेको डिभिजन सडक कार्यालय दमकका सूचना अधिकारी ई अनुप साउदेनले बताए । ‘विर्तामोड–भद्रपुर सडक’को १७ किलोमिटरमध्ये पहिलो खण्डमा चार किमी सडक खण्ड निर्माण सम्पन्न भइसकेको उनको भनाइ छ ।