हावाहुरीले आठ सय बिगाको केरा नष्ट

बारा– केरा जोनअन्तर्गत बाराको निजगढ र टागीया बस्तीमा लगाइएको करिब आठ सय बिगा केराखेती हावाहुरीले नष्ट गरेको छ । गत शुक्रबार साँझ आएको हावाहुरीले निजगढ नगरपालिकाको ४, ५, ७, ८, ९ र जितपुर सिमराको १६ नम्बर वडाको केराखेती नष्ट भएको हो । यसबाट पाँच सय बढी कृषक प्रभावित भएका छन् भने करोडौंको आर्थिक क्षति भएको छ ।
प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन कलैयाका सूचना अधिकारी आर्या जोशीले केरा जोनअन्तर्गत लगाइएको केरामध्ये ४० प्रतिशत खेती नष्ट भएको प्रारम्भिक रिपोर्टले देखाएको बताइन् । जोनमा दुई हजार बिगा क्षेत्रफलमा केराखेती हुँदै आएको थियो । हावाहुरीले ढलेका केराको बोट, लागतको अंक र प्रभावित किसानको संख्यासहितको वास्तविक तथ्यांक आउन अझै केही समय लाग्ने जोशीले बताइन् ।
करोडौं मूल्यको खेती नष्ट भएपछि कर्जा लिएर केराखेती गरेका पाँच सय कृषक प्रत्यक्ष प्रभावित बनेको केरा जोन समन्वय समितिले जनाएको छ । नेपालका प्रमुख शहरमा लोपोन्मुख रैथाने मालभोग केरा उत्पादन गरी पठाउँदै आएको निजगढ नगरपालिका कृषिको प्रमुख उत्पादन क्षेत्र हो । निजगढका धेरैजसो वडा तथा जितपुर सिमरा–१६ को टागीया बस्तीमा लगाइएको १ सय ६० सहित करिब तीन सय पचास बिगा क्षेत्रफलको ऐलानी जग्गामा कृषि बीमा नगरी केरा लगाइएको केरा जोन समन्वय समितिका संयोजक हिरा थापा मगरले बताए । ‘एक बिगा क्षेत्रफलमा जग्गा भाडा, बिउ, विषादी, मल, श्रमिकको ज्यालासहित वार्षिक एक लाख पचास हजारसम्म खर्च हुन्छ । एक बिगाको उत्पादन पाँच लाखसम्मको बिक्री हुने गरेको छ,’ उनले भने ।
हाल केरा बजारमा ५ देखि ६ रुपैयाँ प्रतिकोसा बिक्री हुँदै आएको छ । भर्खर पसाएको र पाक्ने बेला भएको केराका बोट हुरीले बढी ढालेको किसानहरूको भनाइ छ । पूरै एक वर्ष परिवारसहितको मेहनत र लगानी एकैछिनको हुरीले सर्वनाश गरेको बताउँदै निजगढ–९ का पीडित कृषक दीपक सिटौलाले अब ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको बताए ।
नम्बरी खेतमा हुने केराखेतीको बीमा कम्पनीले २ सय ४५ रुपैयाँ प्रतिबोट क्षति तिर्छ । टागीया बस्तीमा दोस्रो विमानस्थल बन्ने भएकोले १ सय ६० बिगामा तथा निजगढ नगरपालिकाको धेरैजसो वडाका ऐलानी खेतमा लगाइएको केराखेतीको भने बीमा हुन सकेको छैन । व्यापारीहरूले खेतबारीमै आएर उत्पादन उठाइदिने र हाताहाती नगद पाइने हुँदा फस्टाउँदै आएको केराखेतीका लागि निजगढ र जितपुर सिमरा पकेट क्षेत्र हुन् । यो क्षेत्र केरा ब्लकबाट विकसित हुँदै अहिले केरा जोनको रूपमा स्थापित बनेको छ ।