Logo

घरजग्गा कारोबारको राजस्व ४ अर्ब ७३ करोड बढ्यो

काठमाडौं– अर्थतन्त्र सुस्त भए पनि चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) मा घरजग्गा कारोबारबाट उठ्ने राजस्व १४ प्रतिशतले बढेको छ ।

गत आवको वैशाखसम्ममा देशभरका मालपोत कार्यालयबाट ३३ अर्ब १ करोड रुपैयाँ राजस्व असुली भएको थियो । चालु आवको वैशाखसम्ममा यस्तो राजस्व ३७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो गत माघसम्मको तुलनामा ४ अर्ब ७३ करोड अर्थात् १४.३२ प्रतिशतले धेरै हो ।

मालपोत कार्यालयहरुले घरजग्गा कारोबारमा रजिष्ट्रेशन शुल्कसहित करिब आधा दर्जन अन्य शीर्षकमा पनि कर उठाउँछन् । वैशाखसम्म उठेको ३७ अर्ब ७४ करोड राजस्व रजिष्ट्रेशनसहित सबै कर हो । जग्गा कारोबारमा गत वर्षको तुलनामा केही कमी आए पनि राजस्व संकलन भने बढेको छ । गत आवमा १२ लाख ९३ हजार जग्गा कारोबार भएकोमा यो वर्ष सामान्य घटेर १२ लाख ६६ हजारमा कायम रहेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चालु आवको वैशाखसम्ममा औषत प्रतिमहिना ३ अर्ब ७७ करोड ४ लाख रुपैयाँका दरले राजस्व असुली भएको छ । गत वर्ष वैशाखसम्मको प्रतिमहिना राजस्व असुली औषतमा ३ अर्ब ३ करोड १ लाख रुपैयाँ थियो । विभागका अनुसार यो वर्ष वैशाखसम्मका १० महिनामध्ये एकबाहेक सबै महिनामा राजस्व बढेको छ । गत वर्ष असोजको भन्दा यो वर्ष असोजमा एक अर्ब रुपैयाँ राजस्व कम उठेको छ । अन्य सबै महिनामा राजस्व बढेको छ । गत असोजमा ४ अर्ब ८ करोड राजस्व असुली भएको थियो भने यो असोजमा ३ अर्ब ८ करोड संकलन भएको छ । यस्तै, सुरु महिना साउनमा यो वर्ष ३ अर्ब ८३ करोड राजस्व असुली भएको छ । गत वर्ष साउनमा राजस्व २ अर्ब ९१ करोड उठेको थियो ।

जग्गाको राजस्व वृद्धि भए पनि कारोबार भने गत आवभन्दा घटेको छ । गत आवको फागुनसम्म १० लाख ६ हजार कारोबार भएकोमा चालु आवमा ९ लाख ७५ हजारमात्र रहेको छ । जग्गा कारोबार कम भए पनि मूल्यवान जग्गाको कारोबार भए राजस्व बढ्ने गर्छ । गत वर्ष भदौमा ३ अर्ब ४ करोड राजस्व संकलन भएकामा यो वर्ष भदौमा ५ करोडले बढेर ३ अर्ब ९ करोड पुगेको छ । यो वर्ष कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व असुली भएको थियो । गत वर्ष कात्तिकको राजस्व २ अर्ब १६ करोड रुपैयाँ थियो ।

विभागका अनुसार गत वर्ष मंसिरमा २ अर्ब ८६ करोड राजस्व उठेकामा यो मंसिरमा ३ अर्ब ८७ करोड पुगेको छ । यो महिनामा पनि राजस्व एक अर्ब एक करोडले बढेको छ । यस्तै, घरजग्गा कारोबारबाट उठ्ने राजस्व पुसमा पनि गत वर्षभन्दा एक अर्ब ५ करोड रुपैयाँले बढेको छ । गत वर्ष पुसमा ३ अर्ब २० करोड राजस्व उठेकामा यो वर्ष पुसको राजस्व ४ अर्ब २५ करोड पुगेको छ । यस्तै, माघमा पनि राजस्व केही बढेको छ । यो वर्ष माघमा ३ अर्ब ८७ करोड राजस्व असुली भएको छ । गत वर्ष माघको राजस्व ३ अर्ब ३७ करोड रुपैयाँ थियो । यसरी नै गत आवको फागुनमा ३ अर्ब ५९ करोड राजस्व संकलन भएकोमा चालु आवमा बढेर ४ अर्ब १२ करोड संकलन भएको छ ।

यसरी नै गत चैतमा ३ अर्ब ९४ करोड राजस्व संकलन भएकोमा चालु आवमा वृद्धि भएर ४ अर्ब ३९ करोड संकलन भएको छ । गत आवको वैशाखमा ३ अर्ब ८६ करोड राजस्व सकलन भएको चालु आवमा भने ४ अर्ब ५४ करोड संकलन भएको छ । विभागका निर्देशक वेदप्रसाद अर्यालले यो वर्ष घरजग्गा कारोबार उच्च दरले नबढे पनि कित्ताकाट र जग्गा वर्गीकरणको काम लगभग सकिएकाले यो वर्षभित्र राजस्व थोरै भए पनि बढ्ने बताए । केही वर्षदेखि घरजग्गा कारोबारमा आएको मन्दीले आर्थिक क्रियाकलापलाई नै सुस्त बनाउन पुगेको बताइन्छ ।

सरकारले जग्गाको कित्ताकाट गर्न रोकेपछि यसको कारोबारमा पनि मन्दी आउन सुरु भएको थियो । अहिले कित्ताकाट खुला भएको छ । तैपनि देशभरका मालपोत कार्यालयमा घरजग्गाको कारोबार कित्ताकाट रोक्नु अगाडिका वर्षहरुको जस्तै बढेको छैन ।

२०७६ सालमा भू—उपयोग ऐन र २०७९ मा भू—उपयोग नियमावली जारी भएपछि सरकारले जग्गा वर्गीकरणका लागि कित्ताकाट रोकेको थियो । यसपछि घरजग्गा कारोबारमा मन्दी आउन सुरु भएको थियो । सरकारले गत साउनबाट जग्गाको कित्ताकाट खुला गरेको थियो । यसपछि कारोबारमा केही सुधार देखिँदै आएको छ ।

अहिलेसम्म घरजग्गा क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी छ । विगतमा घरजग्गामा गरेको लगानीबाट उच्च दरको प्रतिफल आउने गरेको थियो । यही कारण यो क्षेत्रको लगानीमा रियलस्टेट व्यवसायीमात्र नभएर सबैको ध्यान गएको थियो । सर्वसाधारणदेखि उद्योगी–व्यवसायी सबैको यो क्षेत्रमा ठूलो लगानी छ । अहिले यही क्षेत्र चलायमान हुन नसक्दा अधिकांशको लगानी फसेर बसेको छ ।

प्रतिक्रिया दिनुहोस्