राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
पौडेल १८औं गभर्नर बनेका छन् । उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली थियो । गभर्नर नियुक्तिमा ढिला हुने देखिएपछि अर्थ मन्त्रालयले कामु गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिएको थियो ।