Logo

गर्मी छल्न अर्घाखाँचीको पाणिनी

अर्घाखाँची– पहाडसँग तराईका सीमा जोडिएका कपिलवस्तुसहितका स्थानीय र भारतीय पर्यटक अर्घाखाँची पुग्न थालेका छन् । तराईमा गर्मी बढ्दै गएपछि पर्यटक चिसो खोज्दै अर्घाखाँची पुग्न थालेका हुन् । जिल्लाको पाणिनी तपोभूमि क्षेत्रको डाँडा चिसो हावाले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल र तराईको समथर भूभाग देख्न देख्न पाइन्छ ।

मनमोहक दृश्य देख्न पाइने र गर्मीमा आउँदा शितलता हुने भएकाले पर्यटकको रोजाइ पाणिनी तपोभूमि बनेको हो । तराई–पहाड–हिमाल छुने सालझन्डी–ढोरपाटन सडकअन्तर्गत रुपन्देहको सालझन्डीबाट पाणिनीको निगाली हुँदै तिनगीरे करिब ४२ किलोमिटर यात्रापछि दह पुग्न सकिन्छ । अहिले बाटो सजिलै बन्दै गएको पनि छ । पाणिनी आएका पर्यटकका लागि त्यहीँ सुविधासम्पन्न होटल, रिसोर्ट पनि दुर्गाफाँटमा सञ्चालनमा आएका छन् ।

गर्मीबाट यहाँ आएपछि चिसो हावा, चिसो पानीका साथै चिसो वातावरणमा रम्न पाउँदा घुम्न आउने पर्यटक पनि प्रफुल्लित हुने गरेका छन् । पहाडको मनोरम दृश्यले भरिपूर्ण पाणिनी तपोभूमि ऐतिहासिक क्षेत्र भएकाले पनि धार्मिक पर्यटकीय स्थलको रूपमा विकसित हुँदै गएको छ । गत चैत २७ र २८ को पाणिनी तपोभूमि सम्मेलनले पनि यस क्षेत्रको प्रचारप्रसारमा थप टेवा पुगेको छ ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, पाणिनी तपोभूमि संरक्षक समिति संरक्षक श्री १००८ स्वामी ज्ञानान्द सरस्वती जी महाराजलगायतको उपस्थितिले पनि पाणिनी तपोभूमिको पर्यटन विकासमा उल्लेख्य टेवा पुगेको पाणिनी तपोभूमि संरक्षण समितिका अध्यक्ष पुष्कर पोख्रेलले बताए । पहाडको चुचुरोमा रहेको पाणिनी तपोभूमिमा समथर भूभाग र पोखरी छ । २०७६ मा सरकारले छनोट गरेका देशका सय गन्तव्यभित्र परेको स्थान पनि हो, पाणिनि ।

संस्कृत भाषाको व्याकरण उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाणिनी तपोभूमिमा हजारौं वर्षअघि पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरण रचना गरेको किंवदन्ती छ । पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल पनि हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव प्रशन्न भएर डमरु बजाउँदै अइउण्, ऋलृक् आदि चौध सूत्रको स्वर निकालेको र तिनै सूत्रबाट संस्कृत व्याकरणको रचना भएको मान्यता छ ।

त्यसैले यस क्षेत्रको व्यापक प्रचारप्रसार गर्न सके यसलाई विश्वमै नमुना धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने पाणिनी पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने बताउँछन् । विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि प्रचार–प्रसार अभावमा ओझेल छ । त्यसैले यस क्षेत्रको प्रचार–प्रसारका लागि विश्व भाषासँग सम्बन्धित सबै लाग्नुपर्ने पणेनास्थित नेपाल राष्ट्रिय उच्चमाविका प्रध्यानाध्यापक पुष्कर पोख्रेलको धारणा छ ।

अर्घाखाँचीको पूर्वी क्षेत्रमा पर्ने पणेना र पोखराथोकको उच्च भागमा यो तपोभूमि पर्छ । यही तपोभूमिबाट उत्तरतर्फ हिमशृंखला, दक्षिणतर्फ तराईका फाँट र भारतीय भूमि देख्न सकिन्छ । पाणिनी ऋषिले पणेनामा तपस्या गरेर निस्किएका चौध सूत्रलाई ‘माहेश्वराणि सूत्राणि’ भनिएको र तिनैका आधारमा लघुसिद्धान्त, मध्यसिद्धान्त एवं सिद्धान्तकौमुदीको रचना गरिएको संस्कृतका विद्वान्हरू बताउँछन् । यो क्षेत्र पाणिनी ऋषिले तपस्या गरेको र यहीँ बसी व्याकरणको रचना गरेको भन्ने धेरै प्रमाण भेटिएको जिविस पूर्वसभाापति खगेन्द्र पोख्रेलको दाबी छ ।

हाल यो क्षेत्रमा एउटा पोखरी निर्माण गरिएको छ । यहाँका मन्दिर तथा पौवा पुर्निर्माणसँगै निमार्णाधीन सभाहल अलपत्र छ । पाणिनीका चौध सूत्रको प्रचार–प्रसार र संस्कृतका व्याकरण रचना कार्यमा पाणिीिनपछि कात्यायनी र पतञ्जलिसमेत लागिपरेको उनीहरूको भनाइ छ । पाणिनी तपोभूमिमा बनेको डीपीआरअनुसार बजेट विनियोजन गराई थप भौतिक पूर्वाधार निर्माण गर्न गाउँपालिकाले प्रयास गर्दै आएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए ।

पाणिनी आएका पर्यटक स्थानीय रिसोर्ट तथा होटलमा गर्मीका बेला बस्ने गर्छन् । पाणिनीमा आन्तरिकसँगै भारतीय पर्यटक पनि रिसोर्ट आउने गरेको सगुन एग्रो रिसोर्ट सञ्चालक अर्जुन पोख्रेल बताउँछन् । रिसोर्टमा स्थानीय उत्पादित लोकल चामल, कोदो, फापर, गहुँको रोटी, लोकल कुखुराको झोल, लोकल माछा, स्थानीय जातका खसीको मासु, अचारसहितको खाना पर्यटकले मन पराउँछन् ।

पाणिनी तपोभूमिको भ्रमणपछि पर्यटक बास बस्न दुर्गाफाँट पुग्छन्, बिहानै उठेर पाणिनीमा आएका पर्यटक सुपादेउराली मन्दिरमा पनि पुग्छन् । अर्घाखाँचीमा पाणिनी तपोभूमि, दुर्वाशेश्वर गुफा, सिद्धेश्वर गुफा धातिवाङ, सुपादेउराली मन्दिर, अर्घाभगवती मन्दिर, मालारानी मन्दिर, सेङलेङ दह, बल्कोट पौवा, छत्रमहाराजको मन्दिर, कालीकाठी लेक, डमरु दहलगायत धार्मिक पर्यटकीय स्थल पर्यटक रोजाइमा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्