काँकडभिट्टाबाट भित्रने तेस्रो मुलुकका पर्यटक घटे

बिर्तामोड– नेपालको पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या घटेको छ । स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या घटेको अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईले जानकारी दिए । सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म चार हजार ३५१ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका हुन् ।
जनवरीमा एक हजार ५२८, फेब्रुवरीमा एक हजार १५४ जना, मार्चमा ९४५ जना र अप्रिलमा ७४३ जना तेस्रो मुलुकका पर्यटक नेपाल घुम्न आएको उनले बताए । सो नाकाबाट हरेक महिना नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकको संख्यामा गिरावट आएको उनको भनाइ छ । उनले भने, ‘अहिलेको सिजन भनेकै पर्यटक कम आउने सिजन हो । त्यसकारण पनि हरेक महिना पर्यटक आउने क्रम घट्दो अवस्थामा रहेको छ ।’
कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानीट्यांकीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति नदिएपछि भारतीय अवरोधका कारण लामो अवधिदेखि पर्यटक नेपाल आउन नपाएको बताउँदै उनले सन् २०२४ को अगस्त १ बाट मात्र भारतले पानीट्यांकी नाका पर्यटकका लागि खुला गरेपछि मात्र पर्यटक नेपाल प्रवेश गरेको जनाए ।
उनले भने, ‘कोरोना महामारी सकिएपछि नाकामा व्यापारिक कारोबार खुला भएपनि पर्यटकका लागि भारतीय अवरोध कायमै रह्यो । नाका खुला भएपनि अहिले अफ सिजन भएकाले पर्यटकको आगमन कम भएको हो ।’ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) कोशी प्रदेश समितिका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठले नेपाल भित्रने अधिकांश पर्यटक भारतको दार्जिलिङ, सिक्किम हुँदै नेपाल आउने बताए ।
उनले दार्जिलिङ र सिक्किम घुम्न आएका बेला एक पटक नेपाल घुम्ने मनस्थिति पर्यटकमा देखिने गरेको र त्यसलाई उपयोग गर्नुपर्ने जनाए । सन् २०२४ को अगस्त १ बाट मात्र भारतले पानीट्यांकी नाका पर्यटकका लागि खुला गरेपछि सो नाकाबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएपनि अहिले तेस्रो मुलुकका पर्यटकको संख्या घटेको नाटा कोशी प्रदेश समितिका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठ बताउँछन् ।
यस्तै काँकडभिट्टाबाट नेपाल छाड्ने तेस्रो मुलुकका पर्यटकको संख्या भने बढेको अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख भट्टराईले जानकारी दिए । सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म चार हजार ६६१ जनाले काँकडभिट्टा नाका भएर नेपाल छाडेको उनको भनाइ छ । सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म काँकडभिट्टा नाका भएर जनवरीमा एक हजार ९४०, फेब्रुअरीमा एक हजार ३८, मार्चमा एक हजार २२ र अप्रिलमा ६६१ जना गरी कुल चार हजार ६६१ जनाले नेपाल छाडेको उनको भनाइ छ ।
कोशी प्रदेश सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘कोशी पर्यटन वर्ष २०८२’ घोषणा गरेर सुस्ताउँदै गएको कोशी प्रदेशको पर्यटन क्षेत्रलाई चलायमान बनाउन खोजेको नाट्टा कोशी प्रदेश समितिका अध्यक्ष पुण्य भट्टराईले खुशी व्यक्त गरे । पर्यटन वर्ष २०८२ मा भारत, चीन, बंगलादेश र भुटानका पर्यटक कोशी प्रदेशमा भित्र्याउने प्रदेश सरकारले लक्ष्य लिएको भएपनि स्थलमार्ग हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या घटेकोमा उनले चिन्ता व्यक्त गरे ।
नेपालले सार्क मुलुकका पर्यटकलाई हरेक वर्ष ३० दिन नि:शुल्क प्रवेशाज्ञा (भिसा) दिने गरेको र शुल्क नलाग्ने भएकाले धार्मिक पर्यटनका लागि भुटानीहरु बढी संख्यामा नेपाल आउने गरेको नाटा कोशीका अध्यक्ष भट्टराईले बताए । कोशीको पहाडी क्षेत्र र हिमाली क्षेत्र मात्रै नभई तराईका जिल्लालाई पनि कसरी हबका रूपमा विकास गर्ने भन्ने पर्यटन वर्षको उपयोगबाट लिन सक्नुपर्ने उनको भनाइ छ ।
भारतबाट आएका पर्यटकलाई प्रदेश राजधानी विराटनगरमा एक रात र झापा तथा सुनसरीमा थप कसरी बसाउन सकिन्छ भन्ने योजना जरुरी रहेको उनी बताउँछन् । ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा तय गरी कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा १० करोड रुपैयाँ बजेट विनियोजन गरेर पर्यटन वर्ष–२०८२ लाई घोषणा गरेको उनले बताए ।
कोशीमा प्रमुख पर्यटकीय गन्तव्य १४ वटा र नयाँ विकास गरिनुपर्ने गन्तव्य १६ वटा छन् । कोशी प्रदेशमा तारेस्तरका होटेल १२ वटा र पर्यटकीयस्तरका ३६ वटा र निजी तथा सामुदायिक १०५ होमस्टे रहेको उनको भनाइ छ । कोशी पर्यटन वर्ष–२०८२ लाई सफल बनाउन एकजुट हुन सबैलाई उनले आग्रह गरेका छन् ।