Logo

लुम्बिनीका पहाडी गन्तव्यमा भारतीय पर्यटक न्यून

बुटवल– कपिलवस्तुको गोरुसिंहेबाट अर्घाखाँचीको नरपानीसम्मको सडकमा एक वर्षअघि भारतीय नम्बर प्लेटका गाडीको लस्कर देखिन्थ्यो । गर्मी छल्न भारतीय पर्यटक नेपालका पहाडी जिल्लामा आउने गर्दथे । तर अहिले गोरुसिंगे सन्धीखर्क सडकमा भारतीय पर्यटकको ओहोरदोहोर कम देखिएको छ ।

एक वर्षअघि बैशाख जेठमा अर्घाखाँचीको नरपानी सुपा देउराली रिसोर्टमा पर्यटकको चाप हुन्थ्यो । धार्मिक स्थल सुपादेउरालीबाट दुई किलोमिटरको दुरीमा नरपानी रिसोर्ट रहेको छ । उचाइमा मनोरम हिंमश्रृंखलाको अवलोकन गर्न सकिने आकर्षक रिसोर्टमा आउने पाहुनाको थामी नसक्नु भीड हुन्थ्यो । शुक्रबार र शनिबार दिनमा ५० भन्दा बढी पर्यटक फर्काउनु पर्दथ्यो । फर्काइएका पाहुनालाई अरु होटलमा सिफ्ट गराउन व्यसायीको बाध्यता थियो ।

कतिपयलाई सन्धीखर्कसम्म पठाइने गरिन्थ्यो । तर गत वर्षको तुलनामा यो वर्ष पर्यटकको चाप ह्वात्तै घटेको नरपानी रिसोर्टका प्रबन्ध निर्देशक जिवलाल पौडेलले बताए छ । ‘वैशाखमा गत वर्ष जस्तो पर्यटक आएका छैनन् । यो वर्ष गर्मी कम भएर हो कि खै किन आएनन् । भरखर जेठ सुरु भएको छ । हेरौं यो महिना कति आउँछन्’ उनले भने, ‘आन्तरिक पर्यटक त अलिअलि आइरहेका छन् । तर अपेक्षा गरे अनुसार भारतीय पर्यटक कम छन् ।’

नरपानी रिसोर्टमा गत वर्ष १६ वटा कोठा थिए । गर्मीमा पर्यटकको चाप बढ्ने हुँदा अहिले ६ वटा कोठा थपिएको रिसोर्टका प्रबन्ध निर्देशक पौडेलले बताए । केही दिनअघि भएको भारत पाकिस्तान युद्धको प्रभावका कारण पनि छिमेकी मुलुकबाट पर्यटकको आगमन कम भएको हुन सक्ने उनको भनाइ छ । विगतको गर्मी मौसममा पाल्पाका होटल पनि भारतीय पर्यटकले भरिभराउ हुन्थे । तर अहिले यहाँका होटलमा चहलपहल कम छ ।

गत वर्षको तुलनामा भारतीय पर्यटक धेरै कम भएको होटल श्रीनगरका म्यानेजर अशोक थापाले बताए । ‘भारत पाकिस्तानबीच केही दिनअघिको युद्धको कारणले गर्दा यहाँको पर्यटन क्षेत्रलाई असर गर्‍यो’ उनले भने, ‘अहिले त युद्ध भएको छैन । त्यसबेला धेरैको ध्यान दुई देशको युद्धमा थियो । युद्धको मानसिकताले पनि पर्यटन क्षेत्रमा असर पर्छ । त्यसको असर पाल्पामा पनि परेको हो ।’ गत वर्ष यही समयमा होटल भरिभराउ हुने पाल्पामा अहिले पाहुना नआएको थापाको भनाइ छ ।

होटल संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले छिमेकी मुलुकहरुमा भएको द्वन्द्व र मौसमको कारणले पनि पाल्पामा पर्यटक आगमन कम भएको हुन सक्ने बताए । ‘केही समय यता पानी पनि परिरहेको छ । तीव्र गर्मी पनि सुरु नभएकाले हो कि भारतीय पाहुना कम आएका छन्’ उनले भने, ‘गत वर्ष यतिबेला होटलहरु भरिभराउ थिए ।’ तानसेनमा गतवर्ष चलपहल बढ्न थालेपनि पर्यटन व्यवसायी राजीव शाहले रानीमहल नजिक यसै वर्ष हेरिटेज रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।

तर अपेक्षा गरेअनुसार पाहुना नआएको नाट्टा पाल्पाका अध्यक्षसमेत रहेका शाहले सुनाए सुनाए । ‘अहिले मौसमी र केही कारणले चलहपहल कम छ । विस्तारै पाहुनाहरु बढ्लान् भन्ने आशा छ’ उनले भने । पहाडी जिल्लामा गर्मी छल्न भारतीय पर्यटकहरु बेलहिया नाका भएर आउने गर्दछन् । रुपन्देहीको बेलहिया स्थलमार्ग हुँदै सबै भन्दा बढी पर्यटक आउने नाका हो । बेलहियाबाट सबै भन्दा नजिकको पहाडी जिल्ला पाल्पा हो । पाल्पाको तान्सेन आफैंमा एउटा मौलिक र ऐतिहासिक शहर हो ।

पाल्पामा भगवती मन्दिर, पाल्पा दरबार, अमरनारायण मन्दिरलगायतका सम्पदा छन् । तानसेन बजार माथिको श्रीनगर रमणीय हिल स्टेसन हो । तानसेन आसपास रानीमहल भैरबस्थान, रुरु क्षेत्रलगायतका धार्मिक र ऐतिहासिक गन्तव्य छन् । त्यसैले पनि पाल्पा पछिल्लो समय भारतीय पर्यटकको आकर्षणको गन्तव्य बनेको थियो । छोटो विदामा आउने कतिपय पर्यटक पाल्पासम्म मात्र आउँछन् । केही लामो विदामा हिडेका पर्यटक मुक्तिनाथसम्म पुग्ने गर्दछन् । पोखरा र मुक्तिनाथ हिँडेका भारतीय पर्यटक तानसेन पनि पस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्