कोशी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

विराटनगर– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक सुशासन, पूर्वाधार विकास, संघीयता कार्यान्वयन, सामाजिक न्याय र डिजिटल प्रशासनलाई प्राथमिकतामा राखिएको बताए । नीति तथा कार्यक्रममा आन्तरिक राजस्व वृद्धि गर्न नीतिगत, कानुनी तथा संस्थागत सुधार गरिने उल्लेख छ ।
दिगो विकासमा जोड दिँदै प्रदेश सरकारले आगामी वर्ष जलवायु सम्मेलन आयोजना गर्ने घोषणा पनि गरेको छ । लगानी सम्मेलनको उपलब्धिलाई संस्थागत गर्दै निजी क्षेत्रसँग सहकार्य गर्ने लक्ष्य लिएको छ । प्रदेश सरकारले मुख्यमन्त्री ‘ड्यास बोर्ड’लाई प्रभावकारी बनाउँदै बजेट कार्यान्वयन प्रक्रिया विद्युतीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था कार्यालयमा सुरु भएको विद्युतीय भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘प्रदेश निजामती सेवाको सम्मानमा कोशी प्रदेश निजामती दिवस मनाइनेछ भने निजामती तथा प्रदेश कर्मचारीका लागि निवृत्तिभरण कोष सञ्चालन गरिनेछ । साथै, ‘कोशी अत्यावश्यक सेवा केन्द्र’ को अवधारणा अघि सार्दै वर्तमान ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’लाई रूपान्तरण गरिनेछ,’ प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । प्रस्तुत नीति कार्यक्रअनुसार संघीयता कार्यान्वयनका लागि भएका अध्ययन प्रतिवेदनअनुसार नीति निर्माण गरिनेछ । प्रदेश र स्थानीय तहबीचको समन्वय मजबुत बनाउन विषयगत समिति बनाइनेछ ।
डाटा सेन्टर पूर्वाधार सञ्चालन तथा प्रदेश अनुसन्धान प्रतिष्ठान स्थापना गरिने पनि कार्यक्रममा उल्लेख छ । त्यस्तै विकास आयोजना प्रभावकारी बनाउन ‘एकल विन्दु प्रणाली’ निर्माण, विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरमा विस्तार गर्न संघ सरकारसँग सहकार्य गरिने, रेलमार्ग विकास, भूमि बैंकको प्रयोग, निर्माण सम्पन्न परियोजनामा सहयोगजस्ता पूर्वाधार सुधारका कार्य प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा जनाइएको छ ।
प्रदेश प्रमुख खापुङले भने, ‘कोशीमा प्रादेशिक संग्रहालय स्थापना गरिनेछ भने मैथिली र लिम्बू भाषालाई प्रदेशको कामकाजको भाषा बनाइनेछ । हिमाली र पहाडी क्षेत्रका विद्यालयको भौतिक संरचना सुधार गरिनेछ । युवा नीति कार्यान्वयन गरेर युवाको क्षमता अभिवृद्धि गरिने नीति पनि समावेश छ ।’ ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियानमार्फत स्वास्थ्य साक्षरतामा जोड दिइने, अगुवा कृषकलाई सम्मान गरिँदै ‘कृषक सबैभन्दा अगाडि’ अभियान पनि सञ्चालन गरिने भएको छ ।
प्रदेश सरकारले सबै प्रकारका विभेद र हिंसामुक्त समाज निर्माण गर्ने, सडक मानवमुक्त प्रदेश बनाउने स्पष्ट नीति लिएको छ । कोशीसँग सम्बद्ध राष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू र राष्ट्रिय विभूतिहरूको जन्मस्थल तथा घरको संरक्षण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसका लागि परिवारसँग सहकार्य गरिनेछ । सरकारले चालु वर्षमा पहिलोपटक लगानी सम्मेलन र पर्यटन वर्षको घोषणा गरिसकेको छ । आगामी वर्ष जलवायु सम्मेलनमार्फत वातावरणीय विषयमा पनि नेतृत्व लिने तयारी प्रदेश सरकारले गरेको छ ।