Logo

टेलिकमको नाफामा ४९ प्रतिशतले गिरावट

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को आम्दानी कमी आएसँगै नाफामा भारी गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानीमा ८.८९ प्रतिशतले गिरावट आउँदा खुद नाफा ४८.६७ प्रतिशतले घटेको हो ।

चैत मसान्तसम्म टेलिकमले २८ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ भने यस अवधिमा कम्पनीले २ अर्ब ८४ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा टेलिकमले ३१ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा ५ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यसरी एक वर्षको अवधिमा टेलिकमको आम्दानी २ अर्ब ७७ करोड रुपैयाँले घटेको छ ।

टेलिकमको चालु आवको तेस्रो त्रैमाससम्म करअघिको मुनाफा ८ अर्ब ६२ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिमा करअघिको मुनाफा ७ अर्ब ३८ करोड रुपैयाँ थियो । यस्तै, टेलिकमको कुल सञ्चालन आय पनि १६ करोड ३६ लाख रुपैयाँले घटेको छ । चालु वर्षको तेस्रो त्रैमाससम्म कुल सञ्चालन आय २५ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा गत वर्षको सोही अवधिमा २५ अर्ब ४८ करोड रुपैयाँ थियो ।

ओटिटी र ब्याज आम्दानी मुख्य कारण
टेलिकमको आम्दानी घट्नुको मुख्य कारण ओटीटी (ओभर दि टप) सेवाको बढ्दो प्रयोगलाई लिने गरिएको छ । नेपाल टेलिकमले पनि ह्वाट्सएप, भाइबर, स्काइप, इमो जस्ता ओटीटी सेवाहरूको प्रचलन बढेसँगै टेलिकम कम्पनीहरूको भ्वाइस र एसएमएस सेवाबाट हुने आम्दानीमा गिरावट आएको दावी गरेको छ । जसका कारण टेलिकमको अन्तर्राष्ट्रिय सेवाबाट हुने आम्दानीमा भारी गिरावट आइरहेको छ ।

ओटीटी सेवाको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआबद्धता आम्दानीमा गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा ५३ करोड ५५ लाख रुपैयाँ कमी आएको छ । साथै, ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस/एसएमएसबाट हुने आम्दानीमा धक्का पुगेको टेलिकमको भनाइ छ । कम्पनीले जीएसएम अनुमतिपत्र नवीकरणका लागि गत वर्ष २० अर्ब रुपैयाँ एकमुष्ठ भुक्तानी गरेको थियो ।

यस्तै, कर्मचारीहरूको निवृत्तिभरणलाई गत वर्ष ४ अर्ब ९७ करोड रुपैयाँ र चालु वर्षको तेस्रो त्रैमाससम्म १३ अर्ब १५ करोड रुपैयाँ छुट्याइएकाले ब्याज आम्दानी घटेको र यसबाट नाफामा कमी देखिएको टेलिकमको दावी छ । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा चालु वर्षको सोही अवधिमा टेलिकमले ब्याजबाट गर्ने आम्दानी २ अर्ब ३८ करोड रुपैयाँले घटेको छ ।

टेलिकमका अनुसार इन्टरनेट सेवा प्रदायकहरुले मोबिलिटी वाइफाइ सेवा निरन्तर दिइरहेकाले टेलिकमको मोबाइल डेटा प्रयोग उल्लेख्य मात्रामा घटेको छ । सरकारी स्वामित्वको कम्पनी भएकाले बढी लागत तथा कम प्रतिफल पाइने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको काम गरिरहेकाले लागत बढिरहेको कम्पनीको दावी छ । यसबाहेक सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियम परिवर्तन भएकाले पनि दररेटमा कटौती भएर आम्दानीमा प्रतिकूल असर परेको टेलिकमले जनाएको छ ।

कम्पनीले गत वर्षसम्मका दायित्वमा देखाएका केही मुद्दाको चालु वर्षमा छिनोफानो भएर कम्पनीलाई परेको थप आर्थिक भार चालु वर्षमा व्यवस्था गरिएकाले पनि वित्तीय चाप परेको जनाएको छ । टेलिकम कम्पनीहरूले कुल आम्दानीको ४८ प्रतिशत विभिन्न कर र शुल्कमा सरकारलाई बुझाउनुपर्ने व्यवस्थाका कारण सञ्चालन खर्चपछि नाफा कम हुने अवस्था सिर्जना गरेको कम्पनीको भनाइ छ ।

नीतिगत सुधार, प्रविधिमा लगानी र प्रतिस्पर्धात्मक रणनीति अवलम्बन नगरेमा टेलिकमको नाफा आगामी वर्षहरुमा झनै कम हुनसक्ने सरोकारवालाहरु बताउँछन् । वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५ पैसामात्र रहेको टेलिकमको यस विवरणको असर भने पुँजी बजारमा परेको छ । सोमबार टेलिकमको प्रतिसेयर मूल्यमा चार रुपैयाँभन्दा बढीले गिरावट आइ ८६५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्