Logo

उद्योगबाट तीन करोड ८८ लाख राजस्व संकलन

दाङ– लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा घरेलु तथा साना उद्योगबाट तीन करोड ८८ लाख बढी राजस्व संकलन भएको छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालयको तेस्रो त्रैमासिक प्रतिवेदनका अनुसार लुम्बिनी प्रदेशमा नयाँ उद्योग, दर्ता, बन्द, संशोधनलगायतबाट उद्योगतर्फ तीन करोड ८८ लाख रुपैयाँ संकलन भएको हो । वाणिज्य प्रशासनतर्फ चार करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको प्रतिवेदनमा उल्लेख छ ।

रुपन्देहीमा उद्योगतर्फ एक करोड र वाणिज्यतर्फ रुपन्देहीबाट ५९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी बाँकेमा उद्योगतर्फ ५८ लाख ५८ हजार रुपैयाँ र वाणिज्यतर्फ एक करोड सात लाख, नवलपरासी पश्चिममा उद्योगतर्फ २४ लाख ६० हजार र वाणिज्यतर्फ ४६ लाख ९३ हजार, कपिलवस्तुमा उद्योगतर्फ २८ लाख र वाणिज्यतर्फ ३७ लाख ८५ हजार, दाङमा उद्योगतर्फ ५३ लाख र वाणिज्यतर्फ ७६ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

बर्दियामा उद्योगतर्फ ६१ लाख र वाणिज्यतर्फ ३१ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । पाल्पामा उद्योगतर्फ १५ लाख ७२ हजार रुपैयाँ र वाणिज्यतर्फ २३ लाख, गुल्मीमा उद्योगतर्फ १५ लाख २४ हजार र वाणिज्यतर्फ २४ लाख, अर्घाखाँचीमा उद्योगतर्फ पाँच लाख र वाणिज्यतर्फ तीन लाख ७० हजार रुपैयाँ, प्युठानमा उद्योगतर्फ नौ लाख ५६ हजार रुपैयाँ र वाणिज्यतर्फबाट ११ लाख ७० हजार रुपैयाँ संकलन भएको छ ।

यसै गरेर रोल्पामा उद्योगबाट १३ लाख ८५ हजार रुपैयाँ र वाणिज्यतर्फबाट १३ लाख ७१ हजार रुपैयाँ, रुकुम पूर्वमा उद्योगतर्फबाट दुई लाख ४८ हजार रुपैयाँ र वाणिज्यतर्फबाट तीन लाख ३७ हजार रुपैयाँ राजस्व प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी सन्तोष सुवेदीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले उद्योग र नयाँ उद्यमीहरू बढाउनका लागि यस वर्ष विभिन्न योजना ल्याए पनि नयाँ उद्योगी भने तुलनात्मक रुपमा थपिन सकेनन् । चालु आर्थिक वर्षमा नयाँ दर्ता हुन आउने उद्योगलाई उद्योग दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । तीमध्ये अपांग, महिला, दलितका लागि थप ५० प्रतिशत छुटको व्यवस्था गरेर दर्ता हुने व्यवस्था मिलाइएको थियो ।

प्रदेश आर्थिक ऐनको दफा १२ को उपदफा १ मा ‘आव २०७८/०७९ सम्म वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरी सञ्चालनमा रहेका वा सञ्चालनमा नरहे पनि दर्ता भएका प्राइभेट तथा साझेदारी फर्मले २०८१ चैत मसान्तभित्र विवरणसहित नवीकरण वा दर्ता खारेज गर्न चाहेमा नियमानुसार लाग्ने नवीकरण शुल्क र जरिवाना रकमको पाँच प्रतिशतले हुन आउने रकम दाखिला गरेमा बाँकी शुल्क वा जरिवाना मिनाहा गरी नवीकरण वा दर्ता खारेज गरिने’ उल्लेख छ ।

दफा २ मा लघु, घरेलु तथा साना उद्योगको रूपमा दर्ता गर्ने उद्योगलाई दर्ता गर्दा प्रचलित व्यवस्थाअनुसार लाग्ने अन्तिम दर्ता शुल्कको ५० प्रतिशत छुट दिई दर्ता गरिने व्यवस्था गरिएको छ । छुटको व्यवस्था २०८१ चैत मसान्तसम्म रहेको थियो । गत एक वर्षको अवधिमा लुम्बिनी प्रदेशमा उद्योगतर्फ तीन हजार ६३९ र वाणिज्य फर्मतर्फ तीन हजार ९३२ व्यवसाय दर्ता भएका थिए । उद्योग दर्तामा उत्साह नदेखिए पनि नवीकरणमा भने छुटको प्रभाव देखिएको छ ।

यस वर्षको नौ महिनामा प्रदेशभरका १२ जिल्लामा उद्योगतर्फ ६ हजार ४५७ र र वाणिज्यतर्फ सात हजार एक सय नौ फर्म नवीकरण भएका छन् । गत वर्ष एक वर्षको अवधिमा उद्योगतर्फ सात हजार ४२९ र वाणिज्य फर्मतर्फ सात हजार ८३१ नवीकरण भएका थिए । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको नौ महिनामा दुई हजार ५७९ उद्योग र तीन हजार ९८ वाणिज्य फर्म दर्ता भएका छन् । चालु आर्थिक वर्षको नौ महिनामा रुपन्देहीमा उद्योगतर्फ ६८० र वाणिज्य फर्म ९४५ दर्ता भएका छन् ।

बाँकेमा ५२६ उद्योग र ५७६ वाणिज्य फर्म दर्ता भएका छन् । नवलपरासी पश्चिममा २५२ उद्योग र ३२३ फर्म दर्ता भएका छन् । कपिलवस्तुमा २६६ उद्योग र ३२४ फर्म, दाङमा ३२८ उद्योग र ४५६ वाणिज्य फर्म, बर्दियामा २४० उद्योग र २१९ वाणिज्य फर्म, पाल्पामा ६४ उद्योग र ६४ नै फर्म नयाँ दर्ता भएका छन् । गुल्मीमा ४२ उद्योग र ४५ वाणिज्य फर्म, अर्घाखाँचीमा ५८ उद्योग र २५ वाणिज्य फर्म, प्युठानमा २५ उद्योग र ४४ वाणिज्य फर्म, रोल्पामा ६२ उद्योग र ५३ वाणिज्य फर्म दर्ता भएका छन् ।

रुकुम पूर्वमा यस वर्षको नौ महिनाको अवधिमा ३६ उद्योग र २४ फर्म दर्ता भएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । एक वर्षको अवधिमा गत वर्ष रुपन्देहीमा उद्योगतर्फ ८३७ र एक हजार २८९ वाणिज्य फर्म दर्ता भएका थिए । बाँकेमा ७२९ उद्योग र ६४८ वाणिज्य फर्म, नवलपरासी पश्चिममा ४८४ उद्योग र ४५३ फर्म, कपिलवस्तुमा चार सय पाँच उद्योग र ३५३ फर्म गत वर्ष दर्ता भएका थिए ।

दाङमा ५१३ उद्योग र ५९६ वाणिज्य फर्म, बर्दियामा २८२ उद्योग र २५४ वाणिज्य फर्म, पाल्पामा ९७ उद्योग र ९१ फर्म, गुल्मीमा ७३ उद्योग र ६२ फर्म दर्ता, अर्घाखाँचीमा ५४ उद्योग र ३६ फर्म, प्युठानमा ३६ उद्योग र ४७ वाणिज्य फर्म, रोल्पामा ६८ उद्योग र ६१ वाणिज्य फर्म दर्ता भएका थिए भने गत वर्ष एक वर्षको अवधिमा रुकुम पूर्वमा ६१ उद्योग र ४१ फर्म दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्