Logo

वैशाखसम्म ६ लाख ८० हजारलाई विदेश जान अनुमति

यो वर्ष बिदेसिने संख्या ८ लाख नाघ्ने

काठमाडौं– चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्यांकले यो वर्ष बिदेसिने संख्या ८ लाख बढी पुग्ने देखिएको छ । वैदेशिक रोजगार विभागको अनुसार यो वर्ष साउनदेखि वैशाखसम्म ६ लाख ८० हजारले विदेश जान श्रम स्वीकृति लिइसकेको हुँदा ८ लाख नाघ्ने देखिएको हो । वैशाखसम्म प्रति महिना औसतमा ६८ हजार ७१ र प्रतिदिन २ हजार २७० जनाले स्वीकृति लिएको देखिएको छ ।

श्रम स्वीकृति लिनेको संख्या आगामी दिनमा पनि यही अनुसार हुने हो भने वर्षभरीमा ८ लाखभन्दा धेरै नेपाली विदेश पुग्ने देखिन्छ । विभागका उप महानिर्देशक चन्द्रबहादुर शिकाकोटीले जेठ ५ सम्म ६ लाख ८५ हजार युवाले श्रम स्वीकृति लिएको बताए । वैशाखसम्म यो संख्या ६ लाख ८० हजारको हाराहारी हो । गत आवको साउनदेखि वैशाखसम्म वैदेशिक रोजगारीमा जान ६ लाख २५ हजार युवाले श्रम स्वीकृति लिएका थिए ।

गत वर्ष मासिक औसत ६२ हजार ५५७ र दैनिक औसत २ हजार ८५ युवाले श्रम स्वीकृति लिएको देखिन्छ । कोभिड संक्रमणका बेला २ वर्ष नेपालको आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत ३ वर्ष यता वैदेशिक रोजगारीमा जानेको संख्याले रेकर्ड नै कायमा गर्दै आएको छ । यो वर्षको मंसिरमा सबैभन्दा बढी युवाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएको पाइएको छ ।

गत वर्षको वैशाखको तुलनामा यो वर्षको सोही अवधिमा ५५ हजार बढी युवाले श्रम स्वीकृति लिएको देखिन्छ । गत आवको सोही अवधिको तुलनामा श्रम स्वीकृति संख्या बढेका कारण चालु आवमा पनि विदेश जानेको संख्या उच्च हुने संकेत देखिएको छ । यद्यपि चालु आर्थिक वर्षको साउन, भदौ र असोजसम्म निरासाजनक रहेको थियो ।

चालु आर्थिक वर्षको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९५०, मंसिरमा ८१ हजार १०, पुषमा ६७ हजार २५७, माघमा ७१ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार र वैशाखमा ७८ हजार ५१ युवाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेसँगै यो वर्षको सुरुमा वैदेशिक रोजगारीमा जानेको संख्यामा धक्का लागेको थियो । आव २०७८/०७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको सुरुको महिनाबाट घट्न थालेको भए पनि मंसिरको तथ्यांकले वैदेशिक रोजगारीको अवस्थामा सुधार आउने देखिएको छ । कोरोना कालको लकडाउन यता आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत ३ वर्ष यता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गर्दै आएको छ ।

गत आर्थिक वर्षमा ७ लाख ४१ हजार युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । आव २०७८/७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो । वैदेशिक रोजगारीको इतिहासमा चालु आवको मंसिरमा सबैभन्दा बढी ८३ हजार श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रम स्वीकृति लिएका छन् ।

यो संख्या वैदेशिक रोजगारको तथ्यांक राख्न सुरु गरे यता २९ वर्षकै उच्च रहेको छ । वैदेशिक रोजगार विभाग ताहचल कार्यलयले यो वर्षको साउन, भदौ, असोज र कात्तिकको तुलनामा मंसिरबाट विदेश जान श्रम स्वीकृति लिनेको संख्या बढ्ने संकेत देखिएको जनाएको थियो ।

इपिएसअन्र्तगत १ लाख ३० हजार कोटा
नेपालको अकर्षक श्रम गन्तव्य कोरियाले गैर व्यावसायिक कोटामा २ लाख ७ हजार कामदार लिने भए पनि रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत १ लाख ३० हजार कोटा छुट्याएको छ । यो नेपालसहित १७ इपिएस देशका लागि हो ।

कोरियास्थित प्रधानमन्त्रीको सचिवालयअन्तर्गत सरकारी नीति समन्वय कार्यालयले गत वर्षको डिसेम्बर २० मा सरकारी नीति समन्वय मन्त्री बाङ किसुनको अध्यक्षतामा भएको विदेशी श्रमिक नीति समितिको बैठकमा यो संख्या तय गरिएको हो । गत वर्ष इपिएस सदस्य देशका लागि १ लाख ६५ हजार कोटा निर्धारण गरिएकोमा सबैभन्दा बढी प्राथमिकता नेपालले पाएको थियो ।

इपिएसअन्र्तगत इ–९ भिसामा साधारण श्रमिक, इ–८ मौसमी कामदार र इ– १० पानी जहाज क्षेत्रका लागि छुटयाइएको कोटा हो । इपिसअन्र्तगतका गैर व्यावसायिक कामदारको कोटा गत वर्षभन्दा ३५ हजार कम छुट्याएको कोरियन नेट अनलाइनले जनाएको छ । कोरियाको ग्रामिण जनसंख्या घटेर कामदार अभाव भएको जनाउँदै आएको कोरियाले कृषि क्षेत्रका लागि ७ हजार बढी कोटा छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्