Logo

नागढुंगा–मलेखु सडक विस्तार तीव्र गतिमा

धादिङ– नागढुंगा–मुग्लिन सडक खण्ड सडक मर्मत तथा सुधारको काम तीन खण्डकमा भइरहेको छ । नागढुंगा–मुग्लिन सडक आयोजना प्याकेज नं. १ नागढुगांदेखि नौबिसेसम्म त्रिभुवनराज पथको सडक निर्माणका लागि जिअंसु र सगुन कन्ट्रक्सनले संयुक्त रुपमा निर्माण गर्दै आएको छ ।

१२.२६० किलोमिटर सडक विस्तार गर्न एक अर्ब ३१ करोड ८४ लाख एक हजार २१० रुपयाँ लागतमा दुई वर्षमा सक्ने गरी २०७८ चैत २४ गते सम्झौता गरेको थियो । दोस्रो पटक म्याद थप गरेपनि हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । दोस्रो पटक थप गरिएको म्याद आगामी असार ११ गते सकिँदै छ ।

यसैगरी नागढुंगा–मुग्लिन सडक आयोजना प्याकेज–२ अन्तर्गत नौबिसेदेखि मलेखुखोलासम्म शर्मा–लामा कन्ट्रक्सन र जेआइसिजीले संयुक्त रुपमा काम गर्दै आएको छ । ४३.५४२ किलोमिटर सडक सुधारका लागि पाँच अर्ब ३३ करोड १९ लाखमा तीन वर्षमा सक्ने गरी २०७८ चैत २४ गते सम्झौता गरी निर्माण कार्य गरिरहेको छ ।

सो खण्डको पनि ३८ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सो खण्डको पनि यही जेठ २५ गते म्याद सकिँदै छ । यसैगरी नागढुंगा–मुग्लिन सडक आयोजना प्याकेज नं. ३ मलेखु खोलादेखि मुग्लिनसम्म ३९ किलोमिटर सडक सुधार गर्न चार अर्ब ५० करोडमा शर्मा कन्ट्रक्सन र जेडआइसीजीले निर्माणका लागि जिम्मा लिएको हो ।

प्याकेज–१ नागढुदेखि नौबिसे सडक खण्डमा पहिलो चरणको विविएम बिछ्याउने काम नौविसेदेखि खत्रीपौवा (सुरुङ मार्ग नजिक) सम्म सकिएको छ । दोस्रो चरणको विविएम बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ । प्याकेज नं. २ नोविसेदेखि मलेखुसम्म विभिन्न स्थानमा ११ किलो मिटरमा विविएम बिछ्याउने काम सकिएको छ । केही ठाउमा दोस्रो चरणको विविएम बिछ्याउे काम भइरहेको छ ।

महादेवबेसीदेखि गल्छीसम्म पनि निर्माण कार्य जारी रहेको छ । प्याकेज नं. १ नागढुंगादेखि नौविसेसम्म आउने तिहारसम्म कालोपत्रे पुरा हुने आयोजनाले जनाएको छ । प्याकेज नं. २ नौबिसेदेखि मलेखुसम्म कति समय लाग्छ भन्न सक्ने अवस्था छैन । अहिलेसम्म जम्मा ३८ प्रतिशत मात्र काम भएको परार्मशदाता पौडेलले बताए । प्याकेज नं. १ को खानीखोलामा एउटा आकासे पुल निर्माण गर्ने योजना अनुसार काम अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्