गैंडाकोटमा कजारियाको नयाँ सोरुम

काठमाडौं– भारतीय टायल कम्पनी कजारियाले नवलपुरको गैंडाकोटमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । न्यू राजस्थानी मार्बल एन्ड टाइल्स सप्लायर्स द्वारा सञ्चालित सोरुमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय प्रबन्धक अभ्यास भूषण तिवारीले कम्पनीको उद्देश्य आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीलाई टिकाउ एवं उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउनु रहेको बताए । कम्पनीले नवलपुर सोरुमबाट प्रिमियम टायल्स उपलब्ध गराउनेछ ।
रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्सको संयुक्त उद्यम कजारिया रमेश टाइल्सले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ ।
४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य कम्पनीको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन कजारिया रमेश टाइल्सका क्षेत्रीय सेल्स प्रतिनिधि विकास गौतम उपस्थित थिए ।