Logo

एनसेलद्वारा अपांगता समावेशीकरण प्रवर्द्धन सिद्धान्तमा हस्ताक्षर

काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले अपांगता भएका व्यक्तिको डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतास्वरुप जीएसएमएले जारी गरेको सिद्धान्तमा हस्ताक्षर गरेको छ । जीएसएमए विश्वभरका मोबाइल सेवाप्रदायक कम्पनीको छाता संगठन हो ।

जीएसएमएका सिद्धान्तले डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपांगता भएका व्यक्तिको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकलाई प्रेरणा र मार्गनिर्देशन दिने एनसेलले जनाएको छ । जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाको पहुँच र यसका अवसरबाट पाइने लाभ समान रुपमा सुनिश्चित गराउने एनसेलको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ ।

यी सिद्धान्तमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवाप्रदायक कम्पनी बनेको छ । यस्ता कार्यमा अपांगता भएका व्यक्तिका लागि सधैं अन योजनाअन्तर्गत डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्र, पूर्ण रूपमा अपांगतामैत्री कार्यालय संरचना, नेपालका पारा खेलाडीलाई सशक्त बनाउने सहकार्यलगायतका पहल समावेश रहेको एनसेलले बताएको छ ।

जीएसएम मोबाइल सेवा प्रदायकको रूपमा, एनसेलले समावेशीकरण, दिगोपन र उद्देश्यप्रेरित नवप्रवर्तनका कार्यमा केन्द्रित रहँदै आएको छ । एनसेलले एक्सेसिबिलिटी अर्थात पहुँच योग्यतालाई आफ्नो संस्थागत रणनीतिमा समावेश गर्ने, समावेशी सेवा तथा सुविधा डिजाइन गर्ने र अपांगता भएका व्यक्तिको समुदायसँग सक्रिय रूपमा संलग्न भई उनीहरूको विशेष आवश्यकतालाई बुझ्न र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौं, मानिसलाई सशक्त बनाइरहेका छौं । जीएसएमएसँग अपांगता भएका व्यक्तिको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने यी सिद्धान्तमार्फत नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न चाहन्छौं’, एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

प्रतिक्रिया दिनुहोस्