बेरुजु घटाउँदै इलामका ६ स्थानीय तह

इलाम– इलामका ६ स्थानीय तहले गत वर्षको तुलनामा बेरुजु रकम कम गराएका छन् । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनले इलाम जिल्लाका स्थानीय तहहरूको वित्तीय अनुशासनमा उल्लेखनीय सुधार देखिएको हो । प्रतिवेदन अनुसार सन्दकपुर, रोङ, फाकफोकथुम, माइजोगमाई गाउँपालिका तथा इलाम र देउमाई नगरपालिकाले बेरुजु घटाएको देखिन्छ ।
सन्दकपुर गाउँपालिकाको बेरुजु गत वर्षको ५ करोड ७२ लाख थियो । यस वर्ष घटेर ४२ लाख मात्र रहेको छ । योप्रतिशतमा हेर्दा ९२.५ प्रतिशत कमी हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव राउतका अनुसार हाल देखिएको बेरुजु विधिसम्मत निर्णयबाट सहजै समाधान गर्न मिल्ने प्रकारको हो । उनले कानुन, निर्देशिका र प्रक्रिया पालन गरेर काम गर्दा बेरुजु नियन्त्रण सम्भव हुने बताए ।
राउतका अनुसार २०७४ सालदेखिका करीब १६ करोड रुपैयाँ बराबरको बेरुजुमध्ये आधाभन्दा बढी घटाइएको छ । कर्मचारी र जनप्रतिनिधिको सकारात्मक प्रयास भयो भने बेरुजु शून्यमा झार्न सकिने उनको भनाइ छ । माइजोगमाई गाउँपालिकाले ९२.२९ प्रतिशत बेरुजु घटाएर १० करोड ७८ लाखबाट ८३ लाखमा ल्याएको छ । इलाम नगरपालिकाले ५१.४४ प्रतिशत घटाउँदै बेरुजु ६ करोड ९६ हजारबाट २ करोड ९१ लाखमा सीमित राखेको छ ।
रोङ गाउँपालिकाले ५० प्रतिशत कमी गर्दै ५ करोड ४० लाखको बेरुजु घटाएर २ करोड ७२ लाखमा ल्याएको छ । देउमाई नगरपालिकाले ३२.३६ प्रतिशत घटाएर १ करोड ७१ लाखको बेरुजु कायम गरेको छ । फाकफोकथुम गाउँपालिकाले २७.६८ प्रतिशत बेरुजु घटाएको छ । माङसेबुङ, माई र सूर्योदयमा भने बेरुजु बढेको छ । यसैबीच माङसेबुङ गाउँपालिकाको बेरुजु ५२५ प्रतिशत वृद्धि भएर ४० लाखबाट २ करोड ५४ लाख पुगेको छ ।
माई नगरपालिका जिल्लामै सबैभन्दा बढी बेरुजु देखिएको पालिका बनेको छ । जसको बेरुजु १७७ प्रतिशत बढेर ६ करोड ४९ लाख पुगेको छ । सूर्योदय नगरपालिकाको बेरुजु १७ लाखबाट बढेर ६१ लाख पुगेको छ । इलामका सबै स्थानीय तहलाई समेट्दा कुल बेरुजु गत वर्षको ३७ करोड २९ लाखबाट घटेर २२ करोड ४९ लाखमा झरेको छ । जुन ३९.६७ प्रतिशतको सुधार हो । यो परिवर्तन स्थानीय तहमा आर्थिक अनुशासन, पारदर्शिता र प्रशासनिक जवाफदेहितातर्फ स्थानीय सरकारहरू अघि बढिरहेको संकेत मानिएको छ ।