महाकाली चार लेन पुलमा पर्यटकको आकर्षण

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा बन्दै गएको छ । महाकाली पारिको बस्ती दोधारा चाँदनी जोड्ने उक्त पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ को नामले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन् ।
पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका–१ का स्थानीयले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताए । फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो, भिडिओ राखेको देखेर आफूलाई पनि आउन मन लागेको स्थानीयले बताएका छन् । पछिल्लो समय यहाँ फोटो र भिडियो बनाउनेको भीड लाग्न थालेको छ ।
कञ्चनपुरको सीमानाकासँग जोडिएको छिमेकी मुलुक भारतबाट समेत पर्यटक आउने गरेका छन् । पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय अमिर तिरुवाले बताए । ‘यहाँ महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट पनि मानिस आउने गरेका छन्’ उनले भने, ‘पछिल्लो समय दोधारा चाँदनी झोलुङ्गे पुल जाने पर्यटक पनि यहाँ पुग्ने गरेका छन् भने, विभिन्न म्युजिक भिडियोसमेत छायांकनका हुने गरेको छ ।’
त्यसैगरी पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ । साँझका बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्बिर कैद गर्न सकिने भएकाले पनि फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । वि.सं २०७४ सालदेखि निर्माण सुरु भएको पुल सम्पन्न भएर सञ्चालनमा आएपनि अन्य संरचना निर्माणाधीन अवस्थामै छन् । पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ ।
त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना रहेको छ भने पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले पुलसँगै नदी किनारमा पर्यटकलाई आकर्षित गर्न टापुसहितका चार वटा पोखरी निर्माण हुन लागेको बताए । ‘पुलको वारिपारी चारवटा पोखरी निर्माण हुन्छ त्यसमा टापु पनि बनाइन्छ । पर्यटकले बोटिङ गरेर उक्त टापुमा जान सक्छन्’ उनले भने, ‘पोखरीसँगै हरियाली बनाउन पाँच हजार बिरुवा रोप्छौं । यसले पर्यटक आकर्षित हुने छन् । पछिल्लो समय पुल अवलोकनका लागि दैनिक दुईदेखि तीन सय जना पुग्ने गरेका छन् ।’
महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टी एक वर्ग किलो मिटर भन्दा ठूला दुई तथा दक्षिणतर्फ ०.३ वर्ग किलो मिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन् । अहिले पोखरीका लागि बाँध बाँध्ने काम निर्माणाधीन अवस्थामा रहेको छ ।