Logo

दुई हजार किसानलाई दुग्ध उत्पादनमा अनुदान

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाका २ हजार ६२ किसानले दुग्ध उत्पादनमा अनुदान प्राप्त गरेका छन् । नगरभित्र रहेका १९ वटा कृषि सहकारीमार्फत उनीहरूलाई अनुदान उपलब्ध गराइएको हो । ३१ लाख २४ हजार ५ सय ८१ लिटर दूध उत्पादन गरी बिक्री गरेको तथ्यांकका आधारमा किसानहरूले अनुदान पाएका हुन् ।

आइतबार आयोजित कार्यक्रममा किसानहरूलाई तिलोत्तमा नगरपालिकाले प्रतिलिटर २ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । जसअनुसार कुल ६२ लाख ४९ हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ । तिलोत्तमा नगरमा यस आर्थिक वर्षमा गोकुल दुग्ध उत्पादक कृषि सहकारी संस्थाले ४ लाख ३१ हजार लिटर दूध उत्पादन गरी ८ लाख ६३ हजार रुपैयाँ अनुदान रकम पाएको छ ।

त्यस्तै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले २ लाख ९९ हजार लिटर दूध उत्पादन गरी ५ लाख ९९ हजार रुपैयाँ पाएका हुन् । अनुदान वितरण कार्यक्रममा तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाणले किसान र स्थानीय सरकार मिलेर कृषिमा आत्मनिर्भर हुनुपर्ने बताए । किसानलाई बेवास्ता गरेर गरिएको विकास अर्थहीन हुने भन्दै उनले पालिकाभित्रको वडामा कृषि जोन बनाएर किसानसँग हातेमालो गरी अघि बढिरहेको जानकारी दिए ।

नगर उपप्रमुख जगेश्वोरदेवी चौधरीले विगतमा सीमा जोडिएका पालिकाबाट समेत किसानले दूध ल्याई तिलोत्तमाका सहकारीमार्फत बिक्री गरेकामा यस पटकबाट कार्यविधिमै कडाइ गरी नगरभित्रका किसानको दूध मात्र संकलन र बिक्री गरिराखिएको जनाइन् । उनले विगतमा भन्दा उत्पादन केही घटेको भए पनि यहाँका किसानले नै अनुदान पाउने र आगामी दिनमा उत्पादनमा ध्यान दिने वातावरण बनाउन यो अनुदान रकम सहयोगी बन्ने विश्वास लिएको उल्लेख गरिन् ।

उपप्रमुख चौधरीले पालिकाबाट किसानका लागि जारी गरिने सूचना अझ प्रभावकारी ढंगले उनीहरू समक्ष पुर्‍याई पालिकाका किसानको साथमा रहेको र अनुदान एवं अन्य सुविधामा भनसुनका आधारमा नभई वास्तविक किसानको गोठमै पुगेर अनुगमन गरी सुविधा दिने गरिएको जनाइन् । दुग्ध सहकारी संघका सदस्य हरि काफ्लेले किसान संख्या घट्दै गएकाले उत्पादनमा कमी भएको सुनाए ।

उनले किसानको लागि छुट्याइएको अनुदानले किसानलाई प्रेरणा प्रदान गर्ने भएकाले यसलाई निरन्तरता दिन र थप अनुदान रकम बढाउन पालिकाले आगामी नीतिमा समेट्नुपर्ने बताए । जेठ अन्तिमसम्ममा हरेक किसानले अनुदान बापतको रकम पाइसक्नुपर्ने गरी सहकारीलाई बताएको र त्यसकै आधारमा रकम भुक्तानी गर्ने पशु शाखा प्रमुख राजु कँवरले जानकारी दिए । उनले आव २०७६/७७ बाट वितरण हुँदै आएको दूधमा अनुदान रकम प्रतिलिटर १ रुपैयाँ रहेकामा गत चैतमा कार्यविधि संशोधन गरी प्रतिलिटर २ रुपैयाँ बनाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्