साढे चार वर्षसम्म अधुरै दोलई खोलाको पुल

दाङ– निर्माण व्यवसायीको लापरवाहीका कारण साढे चार वर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन । राप्ती गाउँपालिका–४ को नयाँगाउँ र वडा–८ को बिजौरीलाई जोड्न दोलई खोलामा निर्माण सुरु भएको ३५ मिटर लम्बाईको पुल निर्माणमा ढिलाइ भएको हो ।
१८ महिनामा पुल निर्माणको काम सक्ने गरी २०७७ भदौ २१ गते जयबुद्ध विराट जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार २०७८ फागुनमा पुल निर्माण सम्पन्न हुनुपर्ने भएपनि निर्माण व्यवसायीको लापरवाहीका कारण दुई पटक म्याद थपिँदासमेत पुल निर्माण सम्पन्न हुन नसकेको हो । थपिएको म्याद सकिन केही समय रहँदा पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशत मात्र भएको सडक पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर लोकेन्द्र पुन बताउँछन् ।
उनका अनुसार पाँच करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पुल निर्माणका लागि हालसम्म दुई करोड २४ लाख रुपैयाँ भुक्तानी भएको छ । म्याद थप गरिएको समयमा निर्माण व्यवसायीले काम गरेको भए अहिलेसम्म पुल निर्माण सम्पन्न हुने अवस्था रहेको बताए । इन्जिनियर पुनले भने, ‘निर्माण व्यवसायीले काम गर्छु भन्ने तर नगर्ने प्रवृत्तिले लामो समयसम्म पुल बन्न सकेको छैन । जसले गर्दा जनताले दु:ख पाउनेदेखि प्रदेश सरकार कै बदनाम गर्ने काम निर्माण व्यवसायीले गरेको छ ।’
दोस्रो पटक थपिएको एक वर्षको म्याद २०८२ जेठ १६ गते सकिनै लागे पनि पुल निर्माणको काम सकिने अवस्था नरहेको उनले बताए । व्यवसायीलाई बोलाउनेदेखि पत्र काटेर पटक–पटक ताकेता गर्दासमेत पुल निर्माणमा ढिलाई भइरहेको उनले बताए । पुल निर्माणको काम जतिसक्यो चाँडै सक्ने गरी लाग्न ताकेतासँगै ठेक्का सम्झौता रद्द गर्नेसम्मको चेतावनी दिएको छ । इन्जिनियर पुनले भने, ‘त्यही पनि निर्माणको काममा लापरवाही भइरहेको छ ।’
रद्द गर्दा प्रक्रिया लामो हुने र सकेसम्म अहिलेकै निर्माण व्यवसायीबाटै काम गराउने प्रयास भएकाले पहिलेको ठेक्का तोड्न नसकिएको भन्दै साइट इन्चार्ज समेत रहेका पुनले अब के गर्ने भन्नेमा कार्यालय रहेको बताए । स्थानीयका अनुसार निर्माण व्यवसायीले गत वर्षदेखि नै काम गरेको छैन । गत वर्ष नै खोलमा पिलरसँगै एउटा स्ल्याव राख्ने काम गरेको निर्माण कम्पनीले यो वर्ष फागुनमा अर्काे स्ल्याव राख्नका लागि माटो उठाउने काम मात्र गरेको बिजौरी निवासी आशा चौधरीले बताए ।
निर्माणका क्रममा भएको ढिलासुस्तीले पुल निर्माण हुन थालेपछि खुसी भएका नागरिकमा अहिले निराशा छाएको भन्दै चौधरीले भने, ‘वर्षाको समयमा वर्षाैंदेखि दु:ख पाइरहेको खोलामा पुल निर्माण हुन थालेपछि खुसी भएका थियाैं तर, कामको ढिलासुस्तीले निराश हुने अवस्था छ ।’ पुल निर्माणमा ढिलाइ हुँदा वर्षायाममा स्थानीयलाई खोला वारपार गर्न समस्या हुने गरेको उनको भनाइ छ ।