जुग्ले–बाँगेफड्के सडक कालोपत्रे

स्याङ्जा– आँधीखोला गाउँपालिकास्थित जुग्ले बजारदेखि बाँगेफड्के जोड्ने सडक कालोपत्रे गरिएको छ । जुग्ले बजारदेखि गोगनपानी हुँदै फेदीखोला गाउँपालिका–५ को बाँगेफड्के जोड्ने सडक कालोपत्रे गरिएको हो । जुग्ले–बाँगे सडकअन्र्तगतको जुग्ले–गोगन पानी खण्डको साढे ३ किलोमिटर सडक कालोपत्रे गरिएको आँधीखोला गाउँपालिकाले जनाएको छ ।
आँधीखोला र फेदीखोला गरी २ गाउँपालिकाका उच्चघना बस्ती रहेका गाउँलाई समेट्ने गरी सडक कालोपत्रे गरिएको छ । धार्मिक र सामरिक महत्त्वका दृष्टिकोणका महत्त्वपूर्ण रहेको भौगोलिक बनोट, खेतीपाती, विद्यालय, बजारको आवतजावतका लागि सहज बनाउँदै सडकले गाउँ र शहरलाई जोड्ने गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताए ।
स्थानीयलाई गाउँमै टिकाइराख्न र गाउँमा बाह्रै महिना सडकको सहज पहुँच पुर्याउन सडकले महत्त्वपूर्ण टेवा दिने पौडेलले बताए । दस वर्षअघि ट्र्याक खोलिएको सडकलाई आँधीखोलाले संघीय सरकारको समपूरक अनुदानअन्तर्गत बहुवर्षीय योजनाका रुपमा अगाडि बढाएको थियो । २०७९ सम्झौता भई निर्माण सुरु भएको सडक २०८२ साउनभित्र सकिनुपर्नेमा समयावधि भन्दा पहिले नै निर्माण सकिएको छ ।
बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा ३ किलोमिटर कालोपत्रे र झन्डै ६ सय मिटर ढलान गरिएको गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताए । ‘साढे तीन किलोमिटर सडक कालोपत्रे र ढलान सकिएसँगै आँधीखोला गाउँपालिकाभित्र पर्ने सडक निर्माण सम्पन्न छ’ उनले भने, ‘आउँदो वर्षमा फेदीखोला गाउँपालिकातर्फको सडक कालोपत्रे हुनेछ ।’
संघीय सरकारको समपूरक अनुदानअन्तर्गत ३ करोड र आँधीखोलाको ४ करोड ५५ लाख गरी ७ करोड ५५ लाखको लागतमा सडक निर्मााण भएको हो । सडक निर्माणसँगै स्याङ्जा, कास्की र पर्वतको सीमाको पर्यटकीय स्थल पञ्चासे पुग्नका लागि सरल र सहज हुनेमा स्थानीय विश्वस्त छन् । ३ किलोमिटर ५ सय मिटर लम्बाइ कालोपत्रे गरिएको र सडक नालीसहित सात मिटर चौडाइ गरिएको गाउँपालिकाले जनाएको छ ।
सडक ५.७५ मिटर चौडाइ रहनेगरी कालोपत्रे गरिएको छ । ‘प्रिमिक्स कार्पेटिङ’ प्रविधिको कालोपत्रे गरिएको सडक निर्माणको जिम्मा विजय–राङखोला सिद्धबाबा जेभीले लिएको थियो । आँधीखोलाकै वडा–२ को जरेखोला–भण्डार, थुम्का–मडुवा सडक २ किलोमिटर र वडा–५ को गाबटे नाम्चे डाँडा छहरे सडक छ सय मिटर कालोपत्रे गरिएको छ । जरेखोला सडक २ करोड २६ लाख ९६ हजार र गाबटे नाम्चे डाँडा छहरे सडक १ करोड २५ लाख ६७ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।