Logo

डेढ दशकपछि पर्वतको मल्लाज–लेकफाँट सडक कालोपत्रे

पर्वत– ट्र्याक खुलेको डेढ दशकपछि उत्तरी पर्वतको जलजला गाउँपालिकाका दुई वडा जोड्ने मल्लाज–लेकफाँट सडक कालोपत्र गरिएको छ । जलजला गाउँपालिका–३ मल्लाजदेखि वडा–५ लेकफाँट जोड्ने ग्रामीण सडक कालोपत्रे गरिएको हो ।

संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत तीन वर्षअघि सडक डिभिजन कार्यालय पोखराले ठेक्कामार्फत सडक स्तरोन्नतिसहित कालोपत्रे आयोजना अघि बढाएकोमा निर्धारित समयमै सम्पन्न भएको हो । मल्लाज स्वास्थ्य चौकीदेखि कोटघर हुँदै लेकफाँटको गिद्देश्वरसम्मको ७.६ किलोमिटर सडक स्तरोन्नतिसहित डिबिएसटी प्रविधिको कालोपत्र गरिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

३३ करोड रुपैयाँको लागत अनुमान गरिएकोमा उक्त सडक निर्माणका लागि रायमाझी कन्ट्रक्सन काठमाडौंले २५ करोड ९७ लाखमा जिम्मा लिएको थियो । आर्थिक वर्ष २०८१/०८२ सम्म निर्माण सम्पन्न गर्नेगरी वि.सं. २०७९ भदौ ९ गते ठेक्का सम्झौता भएको डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले समयमै योजना सम्पन्न गरेको छ । विभिन्न खण्डमा गरेर १४ सय मिटर सडक ढलानसमेत गरिएको उनले बताए ।

जलजला गाउँपालिका–३ वारबेनीदेखि मल्लाज–लेकफाँट हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक खण्डअन्तर्गत माझफाँटको स्वास्थ्य चौकीदेखि लेकफाँटको गिद्देश्वरसम्म साढे सात किलोमिटर सडक कालोपत्रे गरिएको इन्जिनियर अधिकारीले बताए । सडक कालोपत्रे भएपछि हिउँदमा धुलाम्मे र बर्खायाममा हिलाम्मे सडकको जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता हटेको छ ।

सडक कालोपत्रे भएपछि जलजला गाउँपालिकाका–२, ३, ४, ५, तथा छिमेकी जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका स्थानीय लाभान्वित भएका छन् । स्तरोन्नतिसहित दुई लेनको सडक कालोपत्रे भएकाले स्थानीय खुशी भएका छन् । ‘पहिले उक्त सडकमा यात्रा गर्दा तीनदेखि चार घण्टासम्म समय लाग्थ्यो, अब भने आधा घण्टामै मालढुंगा–बेनी सडकमा पुग्न सकिन्छ’ जलजला गाउँपालिका–४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले भने ।

साँघुरो र भिरालो सडकलाई फराकिलो, ग्रेड सुधार, घुम्ती सुधार, नाली निर्माण, टेवा पर्खाललगायतका संरचना निर्माण गरेर सडक कालोपत्रे गरिएको हो । लेकफाँटको गिद्देश्वरसम्म पुगेको कालोपत्रे सडकलाई फलामेडाँडा हुँदै म्याग्दीको नागी राम्चे पुर्‍याउन थप योजना आवश्यक रहेको वडा–५ का अध्यक्ष तिलक जिसीले बताए । सडक कालोपत्रे भएसँगै लेकफाँट र नागी राम्चेका किसानले उत्पादन गरेको कृषि उपज बजार लैजानसमेत सहज भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्