सस्तो ब्याजले बढ्यो घर कर्जा

काठमाडौं– पछिल्ला केही महिनायता घर निर्माण हुने क्रम बढ्न थालेको छ । यसले बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित घर कर्जा पनि बढेको छ । ब्याजदर कम हुँदा ऋण लिएर घर बनाउने क्रम बढ्दै गएको बैंकरहरू बताउँछन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैतसम्ममा रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.९ प्रतिशतले बढेको छ । गत असारदेखि चैतसम्ममा बैंकहरूले २ खर्ब ७९ अर्ब ८८ करोड रियलस्टेट कर्जा विस्तार गरेका छन् ।
गत असारमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ घर कर्जा विस्तार गरेका थिए । पछिल्लो समय बैंकको ब्याजदर घट्दै गइरहेको छ । साथै बैंकहरूले घर कर्जा लिनका लागि विभिन्न अफर ल्याइरहेका छन् । यसले गर्दा ग्राहकले घर बनाउनका लागि लिने ऋण बढ्नुपर्ने हो । तर, ब्याजदर घट्दै जाँदा पनि ऋण विस्तार भने सुस्त भएको देखिन्छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण ऋण लिन सक्ने क्षमता घट्दै गएको अवस्थाको यसले चित्रण गर्ने जानकारहरु बताउँछन् ।
यो जेठमा वाणिज्य बैंकहरूले एकल अंककै ब्याजदरमा घर कर्जा दिइरहेका छन् । घर कर्जाका लागि सबैभन्दा थोरै ब्याजमा ऋण प्राइम कमर्सियल बैंकले दिइरहेको छ । जेठका लागि यो बैंकको न्यूनतम ब्याजदर ५.९९ प्रतिशत छ, जुन अन्य बैंकहरूको भन्दा कम हो । बैंकको अधिकतम ब्याजदर भने १२ प्रतिशत छ । कर्जा लिनका लागि न्यूनतम ब्याजदरमा सबैभन्दा बढी प्रभु बैंकको छ । यो बैंकले ११.९९ प्रतिशतको स्थिर ब्याजदरमा घर कर्जा दिँदै आएको छ ।
हिमालयन र माछापुच्छ्रे बैंकले घर कर्जामा ९.५ प्रतिशतको स्थिर ब्याजदर तोकेका छन् । सिद्धार्थ बैंकको ८.७५ प्रतिशतको स्थिर ब्याजदर घर कर्जाका लागि हुँदा कुमारी बैंकले ८.५९ प्रतिशत तोकेको छ । एनआइसी एशिया बैंकबाट घर कर्जा लिँदा न्यूनतम ८.२५ प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशत ब्याज तिर्नुपर्छ । ग्लोबल आइएमई बैंकले घर कर्जाका लागि न्यूनतम ६.१६ प्रतिशत र अधिकतम ९.६६ प्रतिशत ब्याज लगाइरहेको छ ।
यस्तै, कृषि विकास बैंकले न्यूनतम ६.३५ प्रतिशत र अधिकतम ८.३५ प्रतिशत, एभरेष्ट बैंकले न्यूनतम ६.४५ प्रतिशतदेखि अधिकतम ८.४५ प्रतिशत र एनएमबि बैंकले न्यूनतम ६.९९ प्रतिशतदेखि अधिकतम ८.९९ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । यस्तै, स्ट्याण्डर्ड चार्टर्डसहित आठ वाणिज्य बैंकले घर कर्जाका लागि न्यूनतम ७ देखि ८ प्रतिशतको बीचमा ब्याजदर कायम गरेका छन् । स्ट्याण्डर्डले घर कर्जाका लागि न्यूनतम ७.०२ प्रतिशत र अधिकतम ब्याजदर ९.०२ प्रतिशत कायम गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले घर कर्जाका लागि न्यूनतम ७.०४ प्रतिशत र अधिकतम ७.७९ प्रतिशत ब्याजदर कायम गर्दा नबिलले न्यूनतम ७.२२ प्रतिशत र अधिकतम ८.९७ प्रतिशत, नेपाल एसबिआई बैंकले न्यूनतम ७.२३ र अधिकतम ९.२३ प्रतिशत, लक्ष्मी सनराइज बैंकले न्यूनतम ७.७८ र अधिकतम ९.७८ प्रतिशत, सानिमा बैंकले न्यूनतम ७.८७ र अधिकतम ९.७८ प्रतिशत ब्याजदरमा घरकर्जा दिइरहेका छन् । नेपाल बैंककाे न्यूनतम ६.३९ र अधिक्तम ८.३१ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको छ ।
सिटिजन्स बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै जाँदा घर कर्जातर्फ बैंकहरूले लगानी बढाउन थालेका छन् । एकल अंकमा ब्याज लिने योजनासहित बैंकहरूले ग्राहकलाई घर कर्जाका लागि विभिन्न अफरसमेत सार्वजनिक गर्न थालेका छन् । अर्थतन्त्रमा आएको सुस्तता चिर्नका लागि सेयर बजार र निर्माण क्षेत्रमा कर्जा विस्तारका लागि विज्ञहरूले जोड दिइरहँदा बैंकहरू पनि त्यसतर्फ आकर्षित भएको पाइन्छ ।