Logo

नेपाल ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’बाट सम्मानित

काठमाडौं– चीनको गुआङझोमा सम्पन्न अन्तर्राष्ट्रिय पर्यटन मेला जीआईटीएफमा नेपाल वर्ष २०२५ को ‘सबैभन्दा लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य’बाट सम्मानित भएको छ । कार्यक्रममा सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा सम्मानित हुने अवसर पाएको हो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्त र वरिष्ठ अधिकृत रविन रेग्मीसहितको टोलीले मे १५ देखि १७ सम्म आयोजित मेलामा नेपालको विविध गन्तव्य, सांस्कृतिक धरोहर, साहसिक पर्यटन, र दिगो विकास अवधारणा प्रस्तुत गरेका थिए ।

‘चीन नेपालको पर्यटन बजारका लागि महत्त्वपूर्ण स्रोत बजार हो । जीआईटीएफ–२०२५ मा नेपालको सहभागिताले संस्कृति, साहसिकता र प्राकृतिक सौन्दर्यको अद्वितीय मिश्रण चिनियाँ दर्शकमाझ पुर्‍याउन सकेकै कारण उत्कृष्ट सम्मान पाएका हौं’, वरिष्ठ निर्देशक पन्तले भने ।

मेलामा नेपाली प्याभिलियनले विश्वविख्यात पदयात्रा मार्ग, युनेस्को सूचीका सम्पदा, धार्मिक र ग्रामीण पर्यटन अनुभवलाई विशेष रूपमा प्रदर्शन गरिएको बोर्डले जनाएको छ । मेलामा सांस्कृतिक नृत्य, बीटूबी व्यापार बैठक र जानकारीमूलक सत्र पनि आयोजना गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्