एनसेलको फ्ल्यास सेल्स अफर

काठमाडौं– एनसेलले साप्ताहिक फ्ल्यास सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सन्जालमा २४ घन्टा नि:शुल्क अनलिमिटेड पहुँच उपलब्ध गराउने भएको छ । यो अफर शनिबारबाट सुरु भई जेठ ३१ सम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ ।
शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफरअन्तर्गत ग्राहकले विभिन्न चार वटा प्याक किन्दा कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड युट्युब पाउँछन् । सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध नहुने कम्पनीले बताएको छ । फ्ल्यास सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याक समावेश छन् ।
अफरअन्तर्गत ग्राहकले कर सहित रु १५० मा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउनेछन् । यसबाहेक एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउँने सुविधा पाउने कम्पनीको भनाइ छ । त्यसैगरी २९९ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन् ।
ग्राहकले रुचाएका दुई होम एन्ड अवे रिन्यूअल प्याक पनि यो अफरमा समावेश छन् । रु ५९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन् । ७९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधि रहेको ६५ जीबी पाउँछन् र साथै २४ घन्टाका लागि युट्युबमा अनलिमिटेड पहुँच पाउने एनसेलले जनाएको छ ।