Logo

गौशालाले गिद्धको आहारा मेटाउँदै

वीरेन्द्रनगर– पश्चिम सुर्खेतको चौकुनेमा रहेको गौ संरक्षण केन्द्र (गौशाला) गिद्धको आहारा मेटाउने स्थल बनेको छ । चौकुने गाउँपालिका–३ मा एक वर्षदेखि संरक्षण केन्द्र सञ्चालनमा आएपछि ठूलो संख्यामा गिद्धहरू आउन थालेका छन् । किसानले बुढा भएका र बिरामी चौपाया छाडा छाड्ने क्रम बढ्दै गएपछि व्यवस्थापन गर्न गाउँपालिकाले गौ संरक्षण केन्द्र सञ्चालनमा ल्याएको छ ।

यही ठाउँमा पछिल्लो समय गिद्धको हुल भेटिन्छ । छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने र फोहोर बढ्न थालेपछि गाउँपालिकाको सक्रियतामा गत वर्षबाट गौ संरक्षण केन्द्र सञ्चालन गरिएको हो । केन्द्रमा मरेका गाईगोरु खाल्डो खनेर फाल्न थालेपछि वरपर गिद्ध आउने क्रम बढ्दै गएको हो । प्रकृतिको कुचीकारका रूपमा चिनिने लोपोन्मुख चरा गिद्ध अहिले गौ संरक्षण वरपर ठूलो संख्यामा जमघट हुने गरेका छन् ।

सिनो खाने पर्खाइमा यस क्षेत्रमा करिब १५० को हाराहारी गिद्ध देखा पर्ने गरेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । उनले भने, ‘गाईगोरु मरेको दिन गौशाला आसपास १५० भन्दा बढी गिद्ध केही सिनो खाँदै, केही चौरमा त केही खोला पारीको जंगलका अग्ला रुखमा बसिरहेका देखिन्छन् ।’ कर्णाली नदीको किनारमा संरक्षण केन्द्र छ । गौशालाको पश्चिमतर्फ कर्णाली नदी बग्छ भने नदी पारी विभिन्न प्रजातिका रुखसहितको ठूलो जंगल छ ।

विगत ६ महिनादेखि गौशालामा बाक्लो रूपमा गिद्ध देखिने गरेको गौ संरक्षण केन्द्रका अध्यक्ष खगेन्द्र बुढाले बताए । गाउँपालिकाबाट सञ्चालित गौ संरक्षण केन्द्रमा हाल ८० गाईगोरु छन् । वातावरण प्रदुषण, दुर्गन्ध र रोगमुक्त बनाउन महत्पूर्ण भूमिका खेल्ने गिद्ध ठूलो संख्यामा देखिने गरेको बुढाले जानकारी दिए । उनका अनुसार गौशालामा एकै दिनमा दुई/तीन वटासम्म बुढा गाईगोरु मर्दा एक सय भन्दा बढी गिद्ध आउने गर्छन् । तर, सिनो खाएर विश्रामका लागि अग्ला स्थान खोज्दै जंगलमा पुग्ने गरेका छन् ।

गौशाला आसपास निख्खर कालो, सेतो, घाँटीमा बाक्लो रौं भएको, घाँटी खुइले, कान लामो भएको, राजलगायत सात प्रजातिका गिद्ध देखा परेको उनले बताए । ‘अप्रत्यासित रूपमा गौशालाको कारण गिद्ध संरक्षण र गिद्ध अध्ययन अवलोकनको केन्द्रसमेत बन्दै गयो’, उनले भने, ‘तर, यसलाई व्यवस्थापन र सुरक्षाको पाटो मिलाउने समस्या खड्किन थालेको छ ।’ गौ संरक्षणको योजनाले सञ्चालन गरिएको केन्द्रमा गिद्ध देखिन थालेपछि स्थानीय भने खुसी भएका छन् ।

बुढापाखाका अनुसार केही वर्षपहिले पनि उक्त स्थानमा सोही प्रजातिका गिद्ध देखापर्ने गरेका थिए । नेपालमा नौ प्रजातिका गिद्ध पाइने चराविद् कृष्ण भुषाल बताउँछन् । यीमध्ये ६ प्रजातिको गिद्धले नेपालमै गुँड बनाएर बच्चा कोराल्ने गर्छन् भने बाँकी तीन प्रजातिका गिद्ध बसाइँ सराइ गरेर आउने उनले बताए । गौ संरक्षण केन्द्रमा बसाइँसराइ गरी आएकामध्ये राज गिद्ध मंगोलिया र एसिया, खैरे गिद्ध युरोप र मध्य एसियामा प्रजनन् गर्छन् । बटुवा गिद्ध भनिने यिनीहरू गर्मीयाम सुरु भएसँगै फर्किन्छन् ।

नेपालमा २०४५/०४६ सम्म प्रशस्त रूपमा गिद्ध पाइने हुँदा यसतर्फ संरक्षणतर्फ कसैको ध्यान नभएको चराविद् भुषालले बताए । २०५० वरिपरी आउँदा गिद्ध तीव्र रूपमा घटेपछि संरक्षणको काम सुरु भएको हो । नेपालमा सन् २००२ बाट गिद्धको अनुगमन सुरु गरिएको हो । सन् २००६ सालमा गिद्धलाई हानी पुर्‍याउने औषधिमा रोक लगाइयो । गिद्ध घटेको कारण थाहा भएपछि संरक्षणको काम सुरु भयो । सन् २००८ मा चितवनमा गिद्ध प्रजनन् केन्द्र खोलेर गिद्धका बच्चा हुर्काउन थालिएको थियो ।

सन् २००९ बाट गिद्ध संरक्षण कार्ययोजना बनाएर संरक्षणको काम भइरहेको छ । संकटापन्न गिद्ध संरक्षणका लागि नेपालमा अनेक प्रयास भइरहेको सरकारी अधिकारीहरु बताउँछन् । नेपालको गिद्ध संरक्षणका प्रयास विश्वकै नुमनाको रूपमा लिइएको उनले बताए । अग्ला, ठूलो सिमलका रूखमा बस्न रुचाउने गिद्ध पश्चिम नेपालको तराई र मध्यपहाडी वनमा बाक्लो बासस्थान रहेको पाइन्छ । कर्णाली प्रदेश गिद्धको लागि उचित मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्