Logo

झर्ना खोलाको पुल एक वर्षमा पनि भएन पुनर्निर्माण

महेन्द्रनगर– एक वर्षअघि बाढीले भत्काएको कञ्चनपुर झर्ना खोलाको पुल अझै पुनर्निर्माण हुन सकेको छैन । गत वर्ष बाढीले भत्काएको पुल अहिलेसम्म पुनर्निर्माण नभएको हो । बाढीले बेलडाँडी गाउँपालिका–१ हुलाकी राजमार्ग हुँदै सरस्वती माध्यामिक विद्यालय झर्ना सागर टोल जोड्ने पुल भत्किएको थियो । स्थानीय, प्रदेश र संघीय गरेर देशमा तीन सरकार भएपनि बाढीले भत्काएको पुल बनाउन कोही अग्रसर भएका छैन ।

पुल भत्किएपछि ठूला सवारी साधन सञ्चालन हुन नसकेपनि भत्किएकै पुलमा जोखिम मोलेर पैदलै र साइकल र मोटरसाइकलसम्म आउजाउ गर्न बाध्य भएका छन् । वयलगाडा, अटो, जिपकार, टेक्टर, ट्रकसहितका ठूला सवारी साधन सञ्चालन हुन नसक्दा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । पुल भत्किएपछि स्थानीयदेखि विद्यार्थीलाई आउजाउ गर्न सास्ती भएको छ । स्थानीयले पटक पटक वडा, पालिका, प्रदेश र संघीय जनप्रतिनिधिसँग पुल भत्किएको विषयमा जानकारी गराएपनि हालसम्म कुनै सुनुवाइ भएको छैन ।

स्थानीय सुरेन्द्र देउवाले पुल भत्किएपछि मानिसको दैनिक जनजिवनमा आउने कामकाजका लागि यात्रा गर्न कठिन भएको बताए । ‘एक वर्षअघि पुल भत्कियो, तर सरकारले बनाएको छैन । तर पनि सर्वसाधारणदेखि विद्यार्थी जोखिम मोलेर यही भत्किएको पुल प्रयोग गर्न बाध्य भएका छन्’ उनले भने, ‘आउँदो पहिलो वर्षातमै पुल भत्किन्छ, यात्रु जोखिममा पर्ने छन् ।’ स्थानीय रिना लुहारले अति आवश्यकीय पुल निर्माणका सरकारले चासो नदेखाउनु दु:खत विषय भएको बताइन् ।

पुल भत्किएपछि विद्यार्थी सबैभन्दा जोखिममा रहेका छन् । बेलडाँडी गाउँपालिकाले स्थानीय सरकारको स्रोतबाट पुल निर्माणका लागि बजेट नहुँदा प्रदेश र केन्द्रसम्म माग गर्दासमेत वास्ता नराखेको जनाएको छ । गाउँपालिका प्रवक्तासमेत रहेका वडा–१ का वडाध्यक्ष गजबहादुर बिष्टले बाढीले भत्काएको संरचना पुनर्निर्माणका लागि प्रदेश सरकारसँग योजना मागेको बताए ।

‘हामीले त भत्किएकै समयदेखि माथिल्ला सरकारलाई जानकारी गराइसकेका थियौँ । तर, यसवर्ष कुनै बजेट दिएन । आउँदो वर्ष बनाउने आश्वासन पाएका छौं’ उनले भने, ‘पुलको दायाँबायाँ भत्किएको क्षेत्रमा तटबन्ध निर्माण गर्न हामीले सडक बोर्डबाट पहल गरेका छौं ।’

गत वर्षको बाढीले देखिने गरेर पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुडामा भत्किएको पुलसहित केही छिटफुट पुल पुनर्निर्माण भएपनि जिल्लाभरी दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुर्नवास नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाँडी गाउँपालिकामा अझै उस्तै छन् ।

प्रतिक्रिया दिनुहोस्