Logo

‘डाइभर्सन’ले बढ्यो दुर्घटनाको जोखिम

बिर्तामोड– पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म निर्माण भइरहेको एसियन हाइवेमा दुर्घटनाको जोखिम बढेको छ । मुख्य सडक निर्माण गरिरहँदा त्यसको छेउमा सवारीसाधन आवतजावत गर्न बनाइएका सडकको ‘डाइभर्सन’का कारण दुर्घटनाको जोखिम बढेको हो ।

राजमार्गमा लगभग एक सय वा दुईसय मिटरको दूरीमा डाइभर्सन रहेको र डाइभर्सनमा ठूला खाल्डा बनाइएका कारण बर्खामा ती सबै खाडल बाढीले भरिएर बाटो बन्द हुन सक्ने जोखिम बढेको छ । सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन भएका स्थानमा खाल्डाखुल्डी र कमजोर संरचनाका कारण दुर्घटनाको जोखिम उच्च हुने भएकाले मनसुन सुरु हुनु अगावै पूर्वी खण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा १० अर्ब रुपैयाँको लगानीमा निर्माणाधीन एसियन हाइवे परियोजना निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न निर्देशन दिइएको योजना कार्यालय (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताए । मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायात समेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटो सम्पन्न गर्न निर्देशन दिएको बताए ।

उनले मनसुनका कारण डाइभर्सन बगाउने खतरा रहनुका साथै त्यसले यातायात पनि पूर्ण रूपमा अवरुद्ध गराउन सक्ने भएकाले समयमै काम सम्पन्न गर्न निर्देशन दिइएको जनाए । वर्षायाममा डाइभर्सन भएका स्थानमा खाल्डाखुल्डी र कमजोर संरचनाका कारण दुर्घटनाको जोखिम उच्च हुने भएकाले साना पुल र कल्भर्टका काम चाँडो सकेर मुख्य राजमार्गबाटै यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । वर्खामा राजमार्गमा आजतजावत नरोकिने गरी मुख्य सडकबाटै यातायात सञ्चालन गर्न सकिने वातावरण तयार बताउँदै उनले निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले गरिरहेको कामको प्रगति अनुगमन भइरहेको जनाए ।

हालसम्म सडक निर्माणमा १९ प्रतिशत र पुल कल्भर्ट निर्माणमा १७ प्रतिशत मात्र भौतिक प्रगति भएको बताउँदै उनले निर्माणमा विलम्ब नगर्न पटकपटक पत्राचार गरिरहँदा समेत निर्माण कम्पनीको प्रगति सन्तोषजनक नरहेको बताए । योजना कार्यालय (पूर्वी खण्ड) दमक कार्यालयले निर्माण कम्पनीको कामको प्रगति नियमित रूपमा अनुगमन गरिरहेको र वर्खाको समयमा पूर्वपश्चिम राजमार्गमा अवरोध नहोस् भन्ने उद्देश्यले तयारी अघि बढाइएको उनको भनाइ छ ।

सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण आगामी वर्षामा यातायात नै अवरुद्ध हुनसक्ने जोखिमसमेत बढेको बताउँदै ई. पन्तले वर्षाको अवधिमा राजमार्ग क्षेत्रमा कुनै समस्या आएमा र्‍यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समस्याको निरुपण गरिने जनाए । आयोजनाका प्रमुख पन्तले वर्षातको समयमा सडक क्षेत्रमा उत्पन्न हुन सक्ने समस्याको समाधानका लागि ‘र्‍यापिड रेस्पोन्स टोली’ परिचालनको तयारी भइरहेको बताउँदै वर्षातको समयमा पनि सडक निर्माणको काम कुनै हालतमा नरोकिने स्पष्ट पारे ।

निर्माणाधीन एसियन हाइवे परियोजनाको करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै उनले झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९६.७६० किलोमिटर लामो सडक खण्डको काम भइरहेको जनाए । ३४ अर्ब ९० करोड रुपैयाँ लागतको यो परियोजनामा एसियन विकास बैंकको ८४.१ प्रतिशत र नेपाल सरकारको १५.९ प्रतिशत लगानी रहेको उनले बताए । सन् २०२४ फेब्रुअरी १ बाट सुरु गरिएको एसियन हाइवे परियोजना सन् २०२७ फेब्रुअरी १ भित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको उनले जानकारी दिए ।

‘दुई लेन’ सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यले राजमार्गलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरवृद्धि गर्दै एसियन हाइवेको रुपमा निर्माण कार्य अगाडि बढाइएकोमा पहिलो चरणमा सडक क्षेत्रमा पर्ने सबै रुख कटान सकिएर सडकको नयाँ ट्रयाक बनाउनेदेखि कल्भर्ट निर्माण गर्नेे कार्य धमाधम अगाडी बढिरहेको आयोजनाको भनाइ छ । यसैगरी राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम पनि सकिसकेको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बन्ने सडकमा सातदेखि ११ मिटर चौडाइको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाइने काँकरभिट्टा–लौकही सडक योजनाका इन्जिनियर आश्रय महतले बताए । ‘दुई लेनको पूर्वपश्चिम राजमार्गलाई चार लेनको एसियन हाइवेमा रुपान्तरण हुनेमा सर्वसाधारण आशावादी रहेको बताउँछन् । साघुरो सडकले सकस भइरहेको अहिलेको अवस्थालाई एसियन हाइवे निर्माण भएपश्चात सहज हुने अपेक्षा उनीहरुको छ ।

त्यस्तै सडक बिस्तारसँगै स्थानीयस्तरदेखि स्वदेश तथा एसियाली राष्ट्रहरुसँगको व्यापारमा पनि थप सहजता मिल्ने व्यवसायीहरु बताउँछन् । एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ । एसियन हाइवेको निर्माणले सुविधासम्पन्न फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा छ । यसका लागि एसियन हाइवेको निर्माण चाँडो सम्पन्न गर्नुपर्नेमा उनीहरुको जोड छ ।

प्रतिक्रिया दिनुहोस्