Logo

स्थानीय तहको बेरुजु घट्यो

दाङ– स्थानीय तहको बेरुजु घट्दो क्रममा देखिएको छ । दाङको दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तहको बेरुजु घटेको हो । महालेखा परीक्षकको ६२ औं प्रतिवेदनअनुसार गत आर्थिक वर्ष तुलनामा बेरुजु घटेको पाइएको छ । प्रतिवेदनअनुसार जिल्लामा २७ करोड ९७ लाख बेरुजु रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा जिल्लाका १० वटा स्थानीय तहमा ६३ करोड ६१ लाख बेरुजु रहेको देखाएको थियो । बेरुजु घटाउनका लागि पालिकाहरू योजना बनाएर अगाडि बढेको कारण यसमा सुधार आएको हो । प्रतिवेदनअनुसार दाङमा सबैभन्दा बढी बेरुजु तुलसीपुर उपमहानगरपालिकाको छ । तुलसीपुर उपमहानगरपालिकाको ४ अर्ब ७ करोड ७४ लाखको लेखा परीक्षण गर्दा ८ करोड ९४ लाख बेरुजु देखिएको छ । जुन २ दशमलव १९ प्रतिशत हो ।

उक्त उपमहानगरमा आव २०७९/८० मा १३ करोड ६९ लाख बेरुजु देखिएको थियो । घोराही उपमहानगरपालिकाको ५ अर्ब ३ करोड ४५ लाखको लेखा परीक्षण गर्दा ६ करोड ७८ लाख बेरुजु देखिएको छ । जुन १ दशमलव ३५ प्रतिशत हो । घोराही उपमहानगरमा आव २०७९/८० मा १३ करोड ४९ लाख बेरुजु देखिएको थियो । लमही नगरपालिकाको १ अर्ब ७२ करोडको लेखा परीक्षण गर्दा २ करोड ५१ लाख रुपैयाँ बेरुजु देखिएको छ । जुन १ दशमलव ४६ प्रतिशत हो ।

लमही नगरपालिकाको आव २०७९/८० मा ८ करोड ३१ लाख बेरुजु देखिएको थियो । राजपुर गाउँपालिकाको १ अर्ब ८ करोड ५६ लाखको लेख परीक्षण गर्दा २ करोड ७ लाख बेरुजु देखिएको छ । जुन १ दशमलव ९१ प्रतिशत हो । राजपुर गाउँपालिकामा आव २०७९/८० मा ५ करोड ४९ लाख बेरुजु देखिएको थियो । गढवा गाउँपालिकाको एक अर्ब ३ करोडको लेखा परीक्षण गर्दा १ करोड ९१ लाख बेरुुज देखिएको छ । जुन १ दशमलव २५ प्रतिशत हो । गढवा गाउँपालिकामा आव २०७९/८० मा ६ करोड ४२ लाख बेरुजु देखिएको छ ।

यसैगरी दंगीशरण गाउँपालिकाको ९१ करोड ७४ लाखको लेखापरीक्षण गर्दा १ करोड ४७ लाख रुपैयाँ बेरुजु देखिएको छ । जुन १ दशमलव ६१ प्रतिशत हो । दंगीशरण गाउँपालिकामा आव २०७९/८० मा २ करोड १४ लाख बेरुजु रहेको थियो । शान्तिनगर गाउँपालिकाको १ अर्ब २ करोड १८ लाखको लेखापरीक्षण गर्दा १ करोड ४३ लाख बेरुजु देखिएको छ । जुन १ दशमलव ४१ प्रतिशत हो ।

शान्तिनगर गाउँपालिकामा आव २०७९/८० मा ३ करोड ८४ लाखको बेरुजु देखिएको थियो । बंगलाचुली गाउँपालिकाको १ अर्ब ९ करोड ९१ लाखको लेखापरीक्षण गर्दा १ करोड ४० लाख रूपैयाँ बेरुजु रहेको छ । जुन १ दशमलव २८ प्रतिशत हो । गाउँपालिकामा आव २०७९/८० मा ४ करोड २० लाख बेरुजु देखिएको छ ।

बबई गाउँपालिकाको ९९ करोड ९६ लाखको लेखा परीक्षण गर्दा १ करोड २२ लाख बेरुजु देखिएको छ । यो १ दशमलव २२ प्रतिशत हो । बबई गाउँपालिकामा आव २०७९/८० मा २ करोड ७७ लाख बेरुजु रहेको थियो । राप्ती गाउँपालिकाको १ अर्ब ५६ करोड ७० लाखको लेखापरीक्षण गर्दा २१ लाख ४५ हजार बेरुजु देखिएको छ । राप्ती गाउँपालिकामा आव २०७९/८० मा ४ करोड ८९ लाख बेरुजु देखिएको थियो ।

पालिकाहरूले खर्च गर्दा प्रचलित कानुन र नीति नियमअनुसार खर्च नगर्ने, रीत नपुर्‍याई कारोबार गर्ने, राख्नुपर्ने लेखा नराख्ने तथा अनियमित, बेमनासिब तरिकाले आर्थिक कारोबार गर्ने कार्यले प्रश्रय पाउँदा स्थानीय तहमा बेरुजु देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्