नाफाको पछाडि लागेर लोडसेडिङ गर्नुहुन्न: कार्यकारी निर्देशक शाक्य

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूहरूको उद्देश्य नाफा कमाउने नभएको बताएका छन् ।
शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले आफूहरू सरकारी अंक भएको बताउँदै नाफा प्राधिकरणको उद्देश्य नभएको बताए । उनले नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन भन्ने आफूहरूको मान्यता रहेको बताए ।
उनले पाएको खण्डमा नाफा लिने र नाफाकै लागि भन्दै विद्युत काट्ने काम नगर्ने बताए । कार्यकारी निर्देशक शाक्यले लोडसेडिङ गर्नहुँदैन भन्ने उद्देश्यका साथ उद्योगमा पनि लोडसेडिङ घटाएको दाबी गरे । उनले भारतबाट ल्याएर वा महँगोमा बिजुली किनेर भएपनि उद्योगधन्दामा भएको लोडसेडिङलाई घटाउने बताए ।
कार्यकारी निर्देशक शाक्यले भारतबाट बिजुली खरिद गर्न निर्देशन दिएको जानकारी गराउँदै घाटा लाग्छ भन्दैमा विद्युत् कटौती नहुने जिकिर गरे । उनले गत वर्षको यहीँ समयमा बेलाबेलामा विद्युत् कटौती भइरहे पनि त्यति बेला कोही कसैले आपत्ति नजनाएको जिकिर गरे ।