Logo

सुदूरपश्चिमका स्थानीय तहको बेरुजु सवा दुई अर्ब

धनगढी– सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये कञ्चनपुरको भीमदत्त नगरपालिकाले सबै भन्दा बढि १५ करोड एक लाख ६८ हजार रुपैयाँ बेरुजु गरेको छ । महालेखापरीक्षकको ६२औं महालेखा परीक्षण प्रतिवेदन अनुसार ८८ स्थानीय तह भीमदत्तको तीन अर्ब ५३ करोड १८ लाख ३१ हजार रुपैयाँमा लेखा परीक्षण गर्दा ४.२५ प्रतिशत बेरुजु भेटिएको हो ।

प्रतिशतको आधारमा कैलालीको मोहन्याल गाउँपालिकाले सुदूरपश्चिममा सबै भन्दा बढि बेरुजु गरेको छ । मोहन्यालको ९७ करोड २७ लाख ५९ रुपैयाँको लेखा परीक्षण गर्दा ७.२३ प्रतिशत बेरुजु भेटिएको छ । मोहन्यालले सात करोड छ लाख ७३ हजार रुपैयाँ बेरुजु गरेको लेखापरीक्षण प्रतिदेनमा उल्लेख गरेका छन् ।

यसैगरी, रकमको आधारमा सबै भन्दा कम बेरुजु बझाङको साइपाल गाउँपालिकाले गरेको छ । साइपालको ५३ करोड ४० लाख ९८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २३ लाख ८६ हजार रुपैयाँ बेरुजु गरेको छ । यो कुल लेखापरीक्षण रकमको ०.४५ प्रतिशत हो । प्रतिशतको आधारमा सुदूरपश्चिममा अछामको पञ्चदेव विनायक नगरपालिकाले सबै भन्दा कम बेरुजु गरेको छ पञ्चदेवल विनायकले ०.२७ प्रतिशत बेरुजु गरेको छ ।

सो नगरपालिकाको एक अर्ब ३२ करोड २६ लाख ९१ हजार रुपैयाँको लेखापरीक्षण गरिँदा ३५ लाख १० हजार रुपैयाँ बेरुजु भेटिएको लेखापरीक्षणले देखाएको छ । प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहले दुई अर्ब ११ करोड ४१ लाख सात हजार रुपैयाँ बेरुजु गरेका छन् । ती स्थानीय तहको एक खर्ब पाँच अर्ब ७५ करोड ९२ लाख २५ हजार रुपैयाँ लेखापरीक्षण हुँदा दुई प्रतिशत बेरुजु भएको भेटिएको हो ।

लेखा परीक्षण प्रतिवेदनमा यी स्थानीय तहको म्याद नाघेको पेश्की बेरुजु दुई अर्ब ११ करोड ४१ लाख र पेश्की बेरुजु २३ करोड ५७ लाख रहेको उल्लेख छ । सुदूरपश्चिमका स्थानीय तहको पेश्कीबाहेक बेरुजु १.७८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सुदूरपश्चिमका ९ स्थानीय तहको चार प्रतिशत भन्दा बढि बेरुजु भेटिएको छ भने २० स्थानीय तहको एक प्रतिशत भन्दा कम बेरुजु छ ।

कैलालको मोहन्याल गाउँपालिको ७.२७, डोटीको बडिकेदार गाउँपालिकाको ५.७१, कञ्चनपुर नगरपालिकाको ५.३५, बैतडीको डिलाशैनी गाउँपालिकाको ५.१३, बझाङको सुर्मा गाउँपालिकाको ५.०९, बैतडीको मेलौली नगरपालिकाको ४.७५, कञ्चनपुरको भीमदत्त नगरपालिकाको ४.२५, कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको ४.०६ र बाजुराको बुढीगंगा नगरपालिकाको ४.०६ प्रतिशत बेरुजु भएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, सुदूरपश्चिमका अजयमेरु, केआईसिंह, अपिहिमाल, बान्नीगढी जयगढ, साइपाल, आलिताल, मालिकार्जुन, गौमुल, नौगाड, दुहुँ, जोरायल, जोशीपुर, भागेश्वर र पुर्विचौकी गाउँपालिका तथा पञ्चदेवल विनायक, परशुराम, बेदकोट, मंगलसेन, शुक्लाफाँटा र जयपृथ्वी नगरपालिका एक प्रतिशत भन्दा कम बेरुजु गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा कुल ५२ अर्ब ५१ करोड ८४ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेका ८८ स्थानीय तहले ५३ अर्ब २४ करोड सात लाख ५८ हजार रुपैयाँ खर्च गरेका थिए । यी स्थानीय तहसँग ५ अर्ब ८८ करोड ६४ लाख ४६ हजार रुपैयाँ गतआर्थिक वर्षकै जिम्मेवारी थियो भने यो आर्थिक वर्षमा पाँच अर्ब १६ करोड ४१ लाख ५५ हजार रुपैयाँ खर्च गर्न नसकी मौज्दात बाँकी थियो ।

प्रतिक्रिया दिनुहोस्